किन निलम्बनमा पर्याे क्यान नेपाली क्रिकेटको भविष्य कता
काठमाडौं जेठ २६ नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेटको गतिविधि सञ्चालनको जिम्मेवारी सीमित व्यक्तिहरुलाई सुम्पिंदै पत्र पठाएको छ । आइसिसीले सोमबार निर्वाचित समूहका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गर्दै पठाएको पत्रमा खेलाडी छनौटको लागि कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई तथा स्थानीय स्तरबाट सहयोगको लागि प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाइ जिम्मेवारी दिइएको छ ।
क्रिकेट संघ भित्रको विवाद पुरानै भएपनि गत मंसिरमा भएको चुनावपछि क्यानको विवाद उत्कर्षमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषदले निर्वाचन रोक्न पत्र पठाएपनि क्यानको निर्वाचन रोकिएन । चतुर बहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन भयो तर, राखेपले मानेन । राखेपले पुस १८ गते रमेश सिलवालको अध्यक्षतामा क्यान तदर्थ समिति गठन गर्यो । त्यसपछि चासो दियो, आइसिसीले । क्यान विवाद अदालतसम्म पुगेपछि आइसिसीले चन्द र राखेपको नाममा पत्र लेख्दै विवाद छिट्टै समाधान नभए निलम्बन गर्नसक्ने चेतावनी दियो । तर, विवाद झनै झा“गियो । सोही समयमा आइसिसी आफैंले नेपाल र नामिबियाबीचको खेल नेपालमै गरायो ।
प्रतियोगिताकै दौरान नेपाल आएका आईसिसिका एसिया डेभलपमेन्ट म्यानेजर टिम एन्डरसनले, विवाद समाधानको लागि अर्को एकपटक चेतावनी दिएका थिए । नेपालमै आएर उनले दिएको चेतावनीको पनि सुनुवाइ भएन । अन्ततः आइसिसीले गत बैशाख १३ गते क्यान निलम्बन गर्यो । सरकारी हस्तक्षेप र अदालतमा पुगेको मुद्दा नै निलम्बनको मुख्य कारण रहेको आइसिसीले चन्दलाई पठाएको पत्रमा उल्लेख छ ।
आइसिसीले गत सोमबार पनि चन्दलाई नै सम्बोधन गर्दै अर्को पत्र लेखेको छ । तर, जिम्मेवारी अन्यलाई नै तोकिएको छ । यता, दुई क्रिकेट संघबीचको बिचाराधीन मुद्दामा सर्वोच्चमा १६ गते छलफल हुने गरी मिति तोकिएको छ ।