नैनाकलाले खोलिदिइन् बादलको पोल, अर्कैलाई ताकेकोदेखि आफुले हानेकोसम्म
बुबाआमाले नैनाकलाको स्विकृति नलिइ उनको विहे अर्कैसंग गराइदिने पक्का गरिसकेका थिए । उमेरलेपनि नैनाकला २४ पुगिसकेकी थिइन् । त्यतिबेला २४ बर्षका अविवाहित केटीलाई बुढीकन्या भन्थे । उनी स्कुलपनि पढाउंथिन्, पार्टीको महिला संघमा पनि सक्रिय थिइन् । बुबाले सरकारी जागिरे केटासंग नैनाकलाको विहेका लागि मगर परम्पराअनुसार ठेकी लिइदिनुभएछ । नैनाकलालाई आपत् प¥यो । पार्टीका साथीले पार्टीकै साथीसंग बिहे गर्दा राम्रो हुंने सुझाइरहेका थिए । उनलाईपनि त्यस्तै वैवाहिक जीवन सुरक्षित होला भन्ने लाग्यो । रामबहादुर थापासंग विहे गर्दा राम्रो हुने भन्ने चर्चा चल्यो । तर बुटवलकी नैनाकलाको चितवनका रामबहादुर थापासंग भेट भएको थिएन । बिहेका लागि परिवारले ठेकी बुझेपनि नैनाकलाले बिद्रोह गरिन् । प्रचण्डलगायतका नेताहरु घरमै पुगेर नैनाकलाका बुबाआमालाई सम्झाइबुझाइ गरेका रहेछन् । नैनाकला र रामबहादुर थापासंग ०४० साल मंसिर १२ गते भारतको जनकपुरमा जनबादी बिहे भयो । आमा त यति राम्रो केटो पाई भनेर मख्ख पर्नुभएछ ।
थापा ह्याण्डसम थिए र छन् पनि । तर, बुढीसंगपनि जब्बर । बोल्दै न बोल्ने । रमाइलोपनि नगर्ने । बाहिरफेर घुम्नपनि नजाने । प्रचण्ड भेटिए खुब गफिने, अघिपछि बोल्दै नबोल्ने । नैनाकलालाई दिक्कै लाग्ने । कतिसम्म भने बादललाई के बोल्दा चित्त बुझ्ने हो भन्ने कुरा उनकै भाइहरुलाई समेत पत्तो हुंदैन । अहिलेपनि भाइहरु दाइका अगाडि बोल्न डराउंछन् । टिभीमा बक्सिङमात्रै हेर्ने बादलको बानी अझै हटेको छैन । नैनाकलालाई डाङडुङ मन नपर्ने । उनी भन्छिन्, ‘कत्ति हेरेको भन्छु, मान्नुहुन्न ।’ पहिले चुरोट, खैनी खाएर हैरान पार्दथे । अहिले छाडेछन् ।
बादललाई बुढी रिसाएपनि मतलब हुंदोरहेनछ । कहिलेकाहीं ठाकठुक परे बादल घुर्काएरै बस्दा रहेछन् । बुढीले फकाएपछि मात्र बोल्न थाल्दारहेछन् । नैनाकलाले एकपटक बादललाई पिटेकीपनि रहिछन् । रिस उठेपछि मुड्काइदिएको उनी बताउंछिन् । पहिलेपहिले नैनाकलाका लुगा धोइदिन्थे । स्वास्नीका लुगा धोएको भनेर उनलाई खिस्साउंदा रहेछन् बाहिरकाले । लुगाफाटा चिटिक्क मिलाएर लगाउने स्वभाव भएपनि कपडा आफैं किन्दा रहेनछन् । सेन्डोदेखि पेन्टीसम्म नैनाकलाले नै किनुदिनुपर्दोरहेछ ।
रक्सी अहिलेपनि खान्छन् । प्रचण्ड र किरणसंग बसेर बढी खान्थे पहिले । सम्बन्ध सधैं उस्तै हुंदैन । अहिले यि तीन नेताको बसउठ बाक्लो छैन । साथीभाइकोमा जांदा टन्नै पिउने गरेको नैनाकलाले लुकाइनन् । परम्परा र परिवारसंग बद्रोह गरीगरी नैनाकलाले बादलसंग बिहे गरेकी थिइन् । तर बादल उनीसंग सधैं इमान्दार हुन सकेनन् । माओवादीले युद्ध थालेसंगै बादलको पार्टी नेतृसंग लसपस भएछ । उनको बैबाहिक जीबन धरापमा पर्यो । धन्न पार्टीको सुझबुझले थप दुर्घटना हुन पाएन । एउटै पार्टीमा भएकालेपनि ति नेतृसंग नैनाकलाको भेट भइरहन्छ । भेटघाट र बोलचाल हुन्छ । सधैं तुस राखेर नहुने उनको भनाइ छ ।
(नयांपत्रिकामा खगेन्द्र पन्तले नैनाकला थापासंग गरेको कुराकानीमा आधारित)
Badal maobadi