हरिवंशको एसएलसी अनुभव, तेस्रो पटकमा थर्ड डिभिजनमा पास
एसएलसी केही हो तर सबै होइन । एसएलसीमा उत्कृष्ट नतिजा प्राप्त गरेका व्यक्तिपनि जीबनमा असफल भएका छन् । एसएलसीमा असफल भएकापनि जीबनमा सफल भएका छन् । त्यस्तै एक हुन्ः कलाकार हरिवंश आचार्य । उनको पालामा एसएलसी फलामे ढोका थियो । पासै गर्नु ठूलो कुरा । यो साल ग्रेडिङ पद्धति छ । सहज छ । अर्को बर्ष एसएलसी हुंदैन । अब एसएलसीको भूत छैन, जुन भूत आचार्यले भोगेका थिए । आचार्यबाट असफलताभित्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने सिकौं ।
–सम्पादक
[caption id="attachment_6421" align="aligncenter" width="1000"] फोटो: हरि बंश आचार्यको फेसबुकबाट[/caption]
त्यस बेलाका नेविसङ्का अध्यक्ष बलबहादुर के.सी. नक्सालमा बस्थे । हामी उनलाई ‘दाइ’ भन्दै उनको डेरामा जानेआउने गथ्र्यौं । बेलाबेला पञ्चायपतविरोधी काम गर्दा ढाडमा पुलिसले हानेको सुम्लो देखाउँथे ।
हामीलाई एसएलसी पास गराउन उनले धेरै कोसिर गरे । मेरो एसएलसीको सेन्टर दरबार हाइस्कुलमा परेको थियो । उनी अङ्ग्रेजी , गणित , विज्ञानको जाँचमा पुलिसको आँखा छल्दै हामीलाई चिट दिन हलमै आउँथे । मलाई चिट दिन आउँदा उनलाई पुलिसले समातेर लट्ठी हान्दै लगेको थियो । उनको प्रयास खेर गयो । एसएलसीको रिजल्ट भयो । विज्ञान र गणितले माया मारेछ । चौथो डिभिजन आयो ।
पढ्न अलि लद्दुलद्दुहरुले तराईमा गएर मजाले चोरेर, अझ आफ्नो जाँचै अरुलाई लेख्न लगाएर पास भएर आएको थाहा थियो । त्यसैले हामीले पनि अर्को वर्ष सेन्टर परिवर्तन गरेर लहानमा राख्यौं । मेरो साथी राजु मानन्धर अहिले इन्जिनियर छ । ऊ एकदम राम्रो पढ्ने विद्यार्थी हो तर कसरी फेल भयो, थाहा छैन । उसको सङ्गतले म पनि पास हुनुपर्ने हो । ‘मेरो सङ्गतले ऊ फेल भयो ।’ भनौं भने पढ्ने विद्यार्थी त फेल हुनु नपर्ने हो ।
जाँच दिन लहान त गयौं तर त्यहाँ न आफ्नो घर थियो न मामा घर, कसले मद्दत गर्ने ? त्यसबेला पुलिसलाई मामा भनिन्थ्यो, तिनै मामाहरु मात्र थिए । खासै चोर्न पाइएन जाँचमा । बरु हामी काठमाडौंबाट सँगै गएका राजु मानन्धर, पेकिङ केसी, श्याम श्रेष्ठ, कमल पाण्डे र मेरो झन्डै श्राद्घ गर्नुपरेको ।
शनिवारको दिन । माघेझरी परेर थामिएको थियो । जाडोले गर्दा मधेस भए पनि लुगा धेरै लगाउनुपथ्र्यो । दिनभरी बस्दा दिक्क लागेर यसो बस्तीपुर गाउँतिर जाने सल्लाह भयो । एक घण्टा हिँडेपछि हामी बस्तीपुर पुग्यौं ।
सिमसिम पानी पर्न थाल्यो । हामी लहानतिरै फर्कन लागेको खेतखेतै आउँदै थियौं । एउटी तरुनी दाउराको भारी टाउकोमा राखेर हामीतिरै आउँदै थिइन् । सँगै गएको एक जना साथीले उनको वक्षस्थल समातिदिएछ । उनले आफ्नै भाषामा औंला ठड्याउँदै गाली गरिन् । राजु र म भाग्यौं । साथीहरुले ‘एउटा बाहुन, अर्को नेवार डराएर भागे भनेर गिज्याए । हामी रोकियौं ।
खेतमा रहरका बोटहरु बाक्लै थिए । पर रहरको बोटबाट लुक्तैलुक्तै हातमा लट्ठी लिएर सयौं मान्छेहरु हामीतिरै आइरहेका देखें मैले । ‘ए हामीलाई त गाउँलेले घेर्न लागे, हेर त टाउका र लट्ठी दखिस्’ भनें । बाहुन र नेवार मात्र होइन, हामी सबै भाग्यौं ।
हामी भागेपछि गाउँलेहरुले ‘चोरचोर’ भन्दै कराउँदै लखेट्न थाले । ‘चोर’ भनेर कराएपछि अर्को गाउँबाट पनि लट्ठी बोक्दै हामीतिर आएको देख्यौं । हामी भाग्दैभाग्दै अगि एकघण्टा हिँडेर गएको गाउँबाट बीस–पच्चीस मिनेटमै लहाननजिक आइपुग्यौं ।
खोला तर्नुपर्ने थियो, हामीले खोला हामफाल्यौं । जाडो भएर लगाएको बाक्लो लुगाले पानीमुनि तान्यो । पद्मोदय स्कुलको कक्षा छोडीछोडी भृकुटीमण्डपको पोखरीमा पौडी खेलेको अलिकति काम लाग्यो त्यहाँ । लुगा भिजेर भित्रभित्रै ताने पनि जबरजस्ती पौडी खेल्यौं । गाउँलेले हानेको माटोको डल्लाले ढाडमा ड्वाङड्वाङ लाग्दै थियो । हामी खोला तरेर लहान बजार पुग्यौं ।
पानीले निथु्रक्क भिजेका हामी स्थानीय दीपक भन्ने मान्छेको घरभित्र पस्यौं । त्यहाँ बस्दै जाँदा उनीसँग राम्रो मित्रता भयो । गाउँलेहरु लट्ठी बोकेरै लहान बजारतिर हामीलाई खोज्दै आएछन् तर दीपकले लुकाइदिएकाले भेट्न सकेनन् । दीपकले गाली गर्दै भने–‘‘ त्यस्तो गर्नु हुन्छ ? तिमीहरुलाई गाउँलेले भेटेका भए लट्ठीले हानेरै मार्थे । गाउँ नै उल्टिएर मारेपछि पुलिस केस पनि लाग्दैन ।’’
हामी चिसो लुगा र डरले काम्दै साँझसम्म त्यहीँ लुकेर बस्यौं र राति मात्र डेरामा गयौं । भोलिपल्ट प्रश्नपत्र हेर्नुभन्दा पनि ‘ हिजोका गाउँलेहरु विद्यालयमै हामीलाई खोज्दै आए कि’ भनेर ढोकामा हेर्दै थियौं । त्यस्तरी ज्यान हत्केलामा राखेर दिएको जाँचमा पनि चौथो डिभिजन नै आयो । हिसाबमा मेरो दुई नम्बर पुगेन । राजु मानन्धर एकजना मात्र पास भयो ।
अर्को साल फेरी जाँच दिने राजु भुजू भेट्टाएँ । राजु पनि मेरो मिल्ने साथी हो–म जस्तै एसएलसी फेल भएर बसेको । तौलिहवामा जाँच दिन जानलाई साथी खोज्दै रहेछ । धेरै वर्षअगि राजुका बुबा पूर्ण भुजू तौलिहवा जिल्ला शिक्षा कार्यालयको हाकिम भएर बसेका रहेछन् । उनको सिफारिसमा हामी तौलिहवा गयौं र राजु भुजूसँगै स्थानीय विष्णु कार्की र शम्भु कार्कीको घरमा बस्न थाल्यौं । त्यो घरका बुबाआमाले हामीलाई धेरै माया गरे ।
राजारानी जिला भ्रमणको सिलसिलामा तौलिहवामै आउनेवाला रहेछन् । जिल्लामा भएजति पुलिस प्रशासनका हाकिमहरु तौलिहवामै थुप्रेका रहेछन् । जाँचमा चोर्न त के, फर्कन पनि पाइएन । त्यस्तो कडा गरेको थियो ।
म पोखरामा रोधीघर सांस्कृतिक कार्यक्रम देखाउने सिलसिलामा अरुणा लामा दिदी, गोपाल योञ्जन दाई, कुमार बस्नेत दाईहरुसँगै थिएँ । रेडियोले एसएलसीको रिजल्ट भएको समाचार फुक्यो । त्यतिखेर गोरखापत्रमा मात्र रिजल्ट प्रकाशित हुन्थ्यो । पोखरामा गोरखापत्र पनि साँझतिर आइपुग्दो रहेछ । त्यस बखत फोन सबैको घरमा थिएन । मैले छिमेकीको घरमा फोन गरेर ‘बिन्दु दीदीलाई बोलाइदिनुस्न, म एकछिनपछि फोन गर्छु भनें । दस–पन्ध्र मिनेटपछि फोन गरेको त दिदीले भनिन् –‘‘गधा ! पास भएछस् । थर्ड डिभिजन आएछ तेरो ।’’
मलाई त पास हुनु भनेको थर्ड डिभिजन होइन, बोर्ड फस्ट आएजस्तो भयो । खुसीले वाकवाक लागेर ट्वाइलेटै जानुप¥यो । कुमार दाइ, गोपाल योन्जन दाइ, अरुणा लामा दिदी सबैले बधाई दिए ।
कहिलेकाहीँ रिजल्ट भएको भोलिपल्ट ‘भुलसुधार’ भनेर आउँछ । त्यसमा कोही पास भएका फेल हुन्छन्, कोही फेल भएका पास पनि हुन्छन् । नक्सालकै एक जना एकदमै पढैया मान्छे फेल भएछन् र त्यही दिन झुन्डिएर आत्माहत्या पनि गरेछन् । तर भोलिपल्ट भुलसुधारमा ‘प्रथम श्रेणीमा पास’ भनेर निकाल्यो । मेरो भने भोलिपल्ट भुलसुधारमा फेल भनेर निस्कने पो हो कि भनेर खुब डर लागेको थियो तर निस्केन । म पास भएको भयै भएँ ।
(हरिवंश आचार्यको चिना हराएको मान्छेबाट साभार गरिएको अंश)
china harayeko manche
hari bansha acharya
SLC