समाज

प्रेमका लागि युवराजबाट राजीनामा दिन थालेको त्यो क्षण, विपीका शब्दमा रत्न र महेन्द्रको प्रेम

प्रेमका लागि युवराजबाट राजीनामा दिन थालेको त्यो क्षण, विपीका शब्दमा रत्न र महेन्द्रको प्रेम
mahendra-and-ratna असार - ३, म गृहमन्त्री छँदाको कुरा । त्यो त्यसबेलाका युवराजधिराजको बिहाको कुरा थियो । एकदिन श्री ५ युवराजधिराज महेन्द्र टुपलुक्क बेलुका आईपुगे । त्यसदिन विहान मेरो छोरीको मृत्यु भएको थियो, एउटी सानी छोरी थिई, त्यसको मृत्यु भएको थियो । म रंगमहलमा बसेको थिएँ । त्यहाँबाट पैदल हिंडेर–सानी केटी थिई त्यो हुनाले–तारिणीले बोकेको थियो । एकजनाले त्यसलाई गाड्नु पर्ने थियो, त्यसलाई हामी लग्दै थियौं । हामीहरु ४÷५ जना गएका थियौं । सुशिला पनि शोकमा थिई । बत्ती पनि राम्रो बलिरहेको थिएन । त्यस्तै बेलामा उनी आईपुगे बिना कुनै पूर्वसूचना । युवराजधिराज सवारी भएको छ भनेर तलबाट मान्छे दौड्दै आयो । ‘‘कहाँ?’’ भन्दा, तल भन्यो म तल पुगें । मलाई त्यस दिनको सम्झना छ । युवराजधिराजलाई मैले भनें, ‘‘सरकार, बिनासूचना सवारी ? के त्यस्तो हतार भयो ? किन?’’ ‘‘मैले राजीनामा दिन थालें क्राउन प्रिंसबाट । अब म कमनर हुन्छु’’ भनेर उनले भने । खामबाट झिकेर एउटा ठूलो चिठी मलाई देखाए । त्यसमा म अब राजीनामा गर्दछु ।’’ भनेर महाराजधिराजलाई सम्बोधन गरेको थियो । शायद युवराजधिराजको पनि कुनै निसान हुन्छ क्यारे, त्यस्तै कुनै निशान भएको त्यो चिठी थियो । अनि मैले सोधें, ‘‘के कारण पर्यो’’? उनले के भने भने, ‘‘म एउटा केटीसँग बिहा गर्न खोज्छु । मेरी सालीसँग । बुबा चाहिने त्यससँग हँदैन भन्ने हुकूम हुन्छ ।’’ मैले भने, ‘‘त्यो त बुबासँग कुरा मिलाए भइहाल्छ । त्यस्तो हठ किन गर्नुहाला ?’’ ‘‘त्यतिमात्र होइन, उहाँले एउटा केटी खोजीएको छ अब त्यहीसँग बिबाह गर्नुपर्छ भनेर । एक त मैले आफ्नो मन परेको केटीसँग बिहा गर्न नपाउनु र अर्को उहाँले खोजी दिएकोसँग गर्नु । त्यसो हुनाले आफ्नो मन परेकी केटीसँग बिहा गर्नको लागि म कमनर हुन तयार छु ।’’ मैले भनें, ‘‘यो त एउटा प्रजातान्त्रिक हक पनि हो र त्यसको अलवा सरकारले त्यो राजीनामा दिने होइन । म पनि महाराजधिराजसँग बिन्ती गरुँला ।’’ ‘‘चाडै यसलाई टुङ्गो लगाइदिनुपर्यो’’ भनेर उनले भने र त्यति भनेर ऊ गए । दुई–तीन दिनपछि एउटा पार्टी थियो सिंह शमशेर कहाँ । सिंह शमशेर विदेशमन्त्रीको रुपमा मन्त्रीमण्डलमा समावेश भएका थिए । मन्त्रीमण्डलको पुनर्गठनपछि उनी समावेश भएका थिए । तिनले पार्टी दिएका थिए आफ्नो सामेलीको उपलक्ष्यमा । सिंहमहलमा त्यो पार्टी थियो । त्यहीं महाराजधिराजसँग भेट हुन्छ भनेर म गएँ । मैले महाराजधिराजलाई बिन्ती गरें, ‘‘एउटा बडो महत्वपूर्ण कुरा थियो । अस्ति युवराजधिराज सवारी भएको थियो ।’’ bp-koirala ‘‘के हो? भन त’’ भनेर उनले भन्दा म एक्लै कुरा गर्छु भनेर मैले भनें । बाहिर बाल्कोनी निस्केको थियो । कौसीमा निक्लेर कुरा गर्यौं । दुईटा छोराहरु पनि आए, हिमालय र बसुन्धरा पनि । मैले यस्तो यस्तो कुरा भयो भनें, के भोत, भन्दिएको भए भइहाल्थ्यो नि, म राजीनामा स्वीकार गर्छु भनेर ।’’ मैले भनें, ‘‘त्यो त राम्रो कुरा भएन । बिहा गर्न नदिने त राम्रो भएन । मेरो सिद्घान्तले यो राम्रो लाल्दैन ।’’ राजाले के भने भने, ‘‘राणासँग बिहा गर्छु भन्छ । यहाँ म राणाहरुसँग हाम्रो सम्बन्ध टुट्नुपर्छ भन्छु । ऊ त्यस्तो भन्छ ।’’ मैले भनें, ‘‘ के, कुनै जातिमा एउटी केटी जन्मिने बित्तिकै त्यो त्याज्य हुन्छ ? त्यो त भएन नि । राणा सिस्टम पो त खराब, राणा व्यक्तिहरु त त्यस्ता छैनन् ।’’ एउटा प्रजातन्त्रवादीको सामान्य किसिमको जुन तर्कहरु हुनसक्थे, त्यो तर्क मैले दिएँ । त्यहाँ अलिकति बहसा–बहसी पनि भयो । मैले भनें, ‘‘युवराजधिराजले राजीनामा अस्वीकार गरेर स्वीकार गर्ने बित्तिकै फेरि को हुन्छ नि युवराजधिराज ?’’ ‘‘यी क्या, यी हुन्छन्’’ भनेर हिमालयलाई देखाए महाराजधिराजले । मैले भनें, हुँदैन । त्यसपछि त (हाल महाराजधिराज ) वीरेन्द्र हुन्छन् ।’’ श्री ५ वीरेन्द्रको जन्म भइसकेको थियो । मैले भनें, ‘‘ऊ हुन्छन्, यी हुँदैनन् ।’’ त्यो राजाले सोचेका रहेनछन् । मलाई लाग्छ, कसैको ध्यान त्यसमा पुगेको थिएन । यी साना ठिटा थिए, कसले उनलाई याद राख्थ्यो । मैले भनें, ‘‘फेरि अर्को कुरा । सरकार कर गरिबक्सन्छ रे एउटा कुनै केटीलाई भनेर । त्यो झन् दोहोरो चोट पर्ने कुरा भयो । एक त, आफूले चाहेको केटीसँग बिहा गर्न नपाउने ।’’ यी सब कुरा रोमान्टिक भावनाहरु पनि थिए । बिहा गर्न नपाएर, जस्तो एडवर्ड आठौंले राजगद्दी नै छोडिदिएका थिए बिलायतमा सिम्सनको निम्ति । मलाई त्यसको असर पनि थियो र मलाई लाग्यो यो गलत हुन्छ भनेर । फेरि, राणा भन्ने बित्तिकै त्यो सम्पूर्ण जातिलाई नै त्यसो गर्नुहँदैन भन्ने मेरो पनि धारणा थियो । अनि त्यसपछि सम्झौता के भयो भने ‘‘५ महिनाको निम्ति उनले पनि बिहा गर्छु भनेर आग्रह नगरुन् । ६ महिनाको निम्ति स्थगित गर्नुपर्यो । सरकारबाट पनि धेरै कर नहोस् । ’’ ‘‘ल हुन्छ, त्यही भन्दिनुस्’’ भनेर भने । मैले त्यही कुरा युवराजधिराजलाई भनें । उनले पनि भने, ‘‘हुन्छ, ६ महिनाको निम्ति बुबावाट हुकूम हुन्छ भने हुन्छ ।’’ अब यो कुरा मलाई राजाले भनेनन् तर अरुलाई राजाले भनेछन् कि बी.पी.ले यसो गरे तर यो क्राउन–प्रिन्सले तपाईहरुलाई रुवाउँछ –तिमीहरुलाई धुरुधुरु रुवाउँछ । मैले चिनेको छुँ, त्यसले धुरुधुरु रुवाउँछ । मलाई भने राजाले भनेनन् । मान्छेहरु के भन्छन् भने त्यो पनि मसँग एउटा मन नपरेको कुरा थियो राजा त्रिभुवनको । मलाई पनि एउटा सिद्घान्तको कुरा भयो, मन परेको–नपरेको भन्ने कुरा थिएन । त्यस्तै अर्को एउटा घटना छ । त्यो म प्रधानमन्त्री हुनुभन्दा पहिलेको । कान्छा अधिराजकुमार बसुन्धराले एक दिन मलाई बोलाए । यो एउटा विषान्तर भयो । म प्रधानमन्त्री भईसकेका छैन । म गृहमन्त्रीबाट हटिसकेको छु । म कुनै पदमा थिइनँ । बसुन्धरासँग मेरो अलि राम्रो थियो । एउटा होटल थियो चाइनिज इन्डियनले चलाएको लाजिम्पाटमा । त्यहाँ मलाई खान बोलाए । मलाई चाईनिज खाना मिठो लाग्ने । ‘‘ल हुन्छ’’ भनेर म गएँ । उनले भने, ‘‘म राजीनामा दिन्छु ।’’ एउटी अमेरिकन केटीसँग बिहाको कुरा थियो । श्री ५ महेन्द्रको ठीक त्यही घटना आफ्नो भाईसँग लागू हुन्छ, जुन घटना आफूसँग लागू भएको थियो । उनले भने,‘‘ महाराजधिराजबाट हुकूम हुन्छ कि त्योसँग बिहा गर्न पाइँदैन । बिहा गर्ने हो भने तिमी कमनर हुनुपर्छ ।’’ मैले भनें, यो त फेरि ठीक भएन । राजाले भनेको त्यहीँ ठीक हो ।’’ मलाई विदेशी केटीसँग बिहा गर्ने कुरा मनपरेको थिएन । मैले भने, ‘‘बिहा गर्न मन छ भने सरकारले राजपरिवारका विशेषाधिकारहरु त्याग्न तत्पर हुनुपर्छ । त्यो त राजाले भनेको ठीक हो । तर किन बिहा गर्न आग्रह गर्ने ? सरकारकी पत्नी भईहाल्छ । त्यसो हुनाले, सरकारसँगै बसे भइहाल्छ । त्यो गरिबक्सेकै छ । फेरि, यो अलि राम्रो पनि देखिँदैन कि विदेशीसँग बसेर राजपरिवार पनि हुने ।’’ ‘‘लौ, त्यसो भए म बिहा गर्दिन’’ भनेर मसँग बसुन्धराले भनेका थिए । मैले एउटा प्रसंगको कुरा मात्रै भनेको । त, त्रिभुवनले त्यस कुरामा, महेन्द्रको बिहा सम्बन्धमा मैले भनेकोबाट चित्त दुखाएका थिए रे भनेर मान्छेहरु भन्थे । अरुलाई पनि तिनले त्यो भने । (यो विपी कोइरालाको आत्मवृत्तान्तबाट लिइएको हो । अहिले पूर्वबडामहारानी रत्न अस्वस्थ हुनुहुन्छ । नेपालआज शीघ्र स्वास्थलाभको कामना गर्दछ ।)

BP koirala atma kataha Love Story Mahendra ra Ratna Love Story Mahendra Shah and Ratna Shah Sad love Story

विशेष