कलेज छान्दै हुनुहुन्छ ? ठगिनबाट यसरी जोगिनुहोस्
१. कलेजका बारेमा पहिलेका विद्यार्थीसंग बुझ्नुहोस्ः
भर्ना हुने समयमा कलेजले आफुलाई सुविधा सम्पन्न बनाउने अनेक शैली अपनाएको हुन्छ । यो बर्षेनी हुने गर्दछ । जस्तो ल्याव रातारात तयार गर्ने, त्यस्तो ल्यावमा भाडामा ल्याइएका कम्पुटर र उपकरण राख्ने । पुस्तकालय सानदार देखाउन टनाटन किताब देखाउंने । खेल लगायतका अतिरिक्त क्रियाकलापको सुविधा रहेको देखाउन फोटो प्रर्दशनी गर्ने । कक्षाकोठामा प्रोजेक्टर, डिजिटल बोर्ड आदि राख्ने । तर, यि सबै केही दिनका लागिमात्र हुनसक्छन् । सोही कलेजमा पढ्दै गरेका १२ का विद्यार्थी अघिल्लो बर्ष यस्तै प्रवृत्तिका कारण ठगिएका थिए । उनीहरुलाई सोध्दा यथार्थ पत्ता लाग्दछ ।
२. नाम चलेका व्यक्तिको नाम देख्दैमा नलोभिनुहोस्ः
धेरैजसो कलेजले नाम चलेका प्रध्यापक, खेलाडी, सेलिब्रेटी, मिडिया पर्सनालिटी र पहुंचवालालाई आफ्नो कलेजमा आबद्धभनि प्रचार गर्ने गर्दछन् । अधिकांश कलेजको दाबी झूटो हुंने गरेको छ । उदाहरणका लागि क्रिक्रेट टिमका कप्तान पारस खड्काको नाम अधिकांश कलेजले राख्ने गरेका छन् । प्रध्यापक विद्यानाथ कोइराला आफुहरुको नाम जथाभावि जोडेर कलेजहरुले एकातिर विद्यार्थीलाई लुटिरहेको अर्कोतर्फ आफुहरुको बदनाम गरिरहेको बताउंछन् । कोइरालाका अनुसार कुनै आइनोसाइनो नभएका कलेजमा समेत उनको नाम प्रयोग गर्ने गरेका छन् । आफुले कैयौंपटक नाम हटाउन लगाएको उनले जानकारी दिए । नाम चलेको व्यक्तिलाई देखाएर विद्यार्थी भर्ना खोजिए सो व्यक्तिसंग सम्पर्क गर्नुपर्ने वा अघिल्लो व्याचका विद्यार्थीसंग बुझ्नुपर्ने कोइरालाको सुझाव छ । यसरी गलत विवरण दिनु अपराध भएको र अपराध कार्यका लागि कलेजले दण्ड पाउने उनको भनाइ छ ।
३. जेभियर्स शिक्षक हाम्रोमाः
अधिकांश विद्यार्थीको पहिलो रोजाइ होः सेन्टजेभियर्स कलेज । हजारौंले त्यहां निवेदन दिएका हुन्छन् । तर, ति मध्ये केही सयले मात्र जेभियर्समा पढ्न पाउंछन् । बांकी रहेका विद्यार्थी अन्य कलेजमा जान्छन् । उनीहरुको दिमाग कलेजले भुटिदिन्छन् । जेभिर्यसमा पढाउने फलानो फलानो सरम्याडम हाम्रोमा हुनुहुन्छ भन्ने थेगो सबैजसो कलेजको हुनेगर्छ । यसमा नझुक्किनुहोस् । जेभियर्सका शिक्षकले पढाउंदैमा कलेज राम्रो हुने होइन । सो कलेजको पद्धतिले शिक्षणमा प्रभाव पार्दछ ।
४. भ्याट्ट शुल्क नबुझाउनुहोस्ः
हरेक कलेजले तपाईका लागि यति छुट गरिदियौं तर कसैलाई नभन्नुहोला भन्ने गर्दछन् । यसको अर्थ ठीक उल्टो हुन्छ । तपाईले शुल्कका बारेमा कसैलाई नसोध्नुहोला भनेको हो । खाशमा कलेजले तपाईलाई छुट दिए भनेर तपाईलाई मुर्गा बनाइरहेको हुन्छ । कलेजको शुल्क विवरण सही हुंदैन । ब्रोसरमा लेखिएको जति शुल्क तिरेर अधिकांश कलेजमा विद्यार्थी भर्ना हुंदैनन् । सो शुल्कमा भारी छुट हुन्छ । तसर्थ भर्ना शुल्क तिर्नुभन्दा पहिले अरुसंग सोधीखोजी गर्नुहोस् । मिल्ने साथी हुनुहुन्छ भने संगै नजानुहोस् । फरकफरक समयमा जानुहोस् । त्यसपछि क्रस चेक गर्नुहोस् । सबै पत्ता लागिहाल्छ ।
५. सोधीखोजि गर्नुहोस्
अर्को बर्षका बारेमा पनि सोधीखोजि गर्नुहोस् कलेजले आफ्नोतर्फबाट कुरो चपाएर गरेको हुन्छ । तपाईलाई दिइएको भनिएको छुट यो बर्षका लागि मात्र होकी अर्को बर्षका लागि पनि, प्रष्ट गर्नुहोस् । परीक्षा शुल्क, प्रयोगात्मक शुल्क, शैक्षिक भ्रमण शुल्क, प्रयोगशाला शुल्क, पुस्तकालय शुल्क आदि इत्यादिको नाममा कलेजले तपाईको ढाड सेक्न सक्छ । यसबारेमा पहिल्यै बुझ्नुहोस् । भर्ना शुल्क र मासिक शुल्कको कुरा बुझेरमात्र हुंदैन । कलेजहरुमा शुल्कसूचीको माखेसांङ्लो हुन्छ । जुन साङ्लोले विद्यार्थीलाई भर्ना भइसकेपछि निल्नु न ओकल्नुको स्थितिमा पुर्याउछ ।
६. सामान्य कुरामा हेक्का राख्नुहोस्ः
ठूल्ठूला कुरा गर्ने कलेजको ट्वाइलेटमा पानी हुंदैन । ट्वाइलेट चेकजांच गर्नुहोस् । क्यान्टिनको सरसफाइ नियाल्नुहोस् । कलेजमा पढिरहेका विद्यार्थीको सोमतमा हेक्का राख्नुहोस् । यि कुराले धेरै अर्थ राख्छन् । भवन हेरेर मख्ख नपर्नुहोस् । भवनले पढाउने होइन ।
७. पटकपटक जानुहोस्ः
एकै पटकमा भर्ना नहुनुहोस् । शुरुमा एक्लै जानुहोस् । त्यसपछि साथीसंग जानसक्नुहुन्छ । त्यसपछि अभिभावकसंग । पटकपटक बुझिसकेपछि वास्तविकताको नजिक पुगिन्छ ।
गेटबाट सिक्नुहोस् कसरी ठग्छन् कलेजले
गेट कलेजले ३५ वटा विश्वविद्यालयकी प्रध्यापक आफ्नो अध्यक्ष रहेको भन्दै प्रोफाइल राखेको थियो । मीनासिंह खड्काको योग्यता र अनुभव झूटो रहेको समाचार प्रकाशित भएसंगै कलेजले उनको विवरण वेभसाइटबाट हटायो ।
गेट कलेजले पूर्व मुख्यसचिव लीलामणि पौड्याल र पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आफ्नो कलेजमा अध्यापन गराइरहेको दाबी गर्दछ । तर, उसको दाबीलाई पौड्याल र उप्रेतीले अस्विकार गरेका छन् । पौड्यालका अनुसार कलेजको आग्रहमा एक दिन नैतिकता र राष्ट्रियताका सम्बन्धमा प्रवचन दिन सो कलेज पुगेका थिए । एकाध घण्टाको सो कार्यक्रमको फोटोलाई कलेजले विज्ञापन बनाइरहेको छ । पौड्याल सार्वजनिक विदाको दिन पारेर नीजि कलेजहरुमा नैतिकता र राष्ट्रियताको पाठ पढाउन जाने गर्दछन् । उनले झण्डै १०० वटा कलेजमा यसरी प्रवचन दिइसकेका छन् । निशुल्करुपमा भिन्दै सन्दर्भमा दिइएको प्रवचनलाई प्रचारको माध्यम बनाइएकोप्रति रोष प्रकट गर्दै पौड्यालले गेटको दाबी झूटो भएको प्रष्टाएका छन् ।
पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले गेट कलेज कहां छ भन्ने आफुलाई थाहासमेत नभएको प्रष्टिकरण दिएका छन् । मीनासिंह खड्काको योग्यता र अनुभवमाथि प्रश्न उठेसंगै गेट कलेजको पनि बद्नाम भएको छ । बद्नामीमा छेकबार लगाउन कलेजका पदाधिकारीले खड्काले पहिले नै कलेजबाट राजिनामा दिएको तथा खड्काको हार्बड अध्यापन सत्य रहेको दाबी गरेका छन् । आर्थिक व्यवश्थापन प्रमुख भरत लकाईले प्रधान्यायाधीशमा सिफारिश गरिएकी बरिष्ठ अधिवक्ता सपना मल्ल प्रधानले खड्कालाई हाबर्डमा अध्यापन गर्दैगर्दा भेटेको बताएका थिए । प्रधान पोष्ट ग्राजुयसन पढ्न हाबर्ड गएको बेलामा खड्काले हाबर्डमा अध्यापन गराउंथिन भन्ने लकाईको भनाइलाई प्रधानले खण्डन गरेकी छन् ।
उनले आफुले पढेका हाबर्ड मातहतका दुई कलेजमा खड्काले पढाउने गरेको भन्ने कुरा आफ्नो जानकारीमा नरहेको प्रधानले स्पष्ट गरेकी छन् । उनले खड्काले कहां अध्यापन गराउछिन् भन्ने बारेमा आफुलाई केही थाहा नरहेको तथा कम्तिमापनि आफुले हाबर्डमा उनको संलग्नताका बारेमा केही जानकारी नराखेको बताइन् । नेपाली महिला समुह बोष्टनले आयोजना गरेको भेटघाट कार्यक्रममा खड्कासंग भेट भएको तर उनका बारेमा आफु पूर्णत अनविज्ञ रहेको प्रधानले नेपालआजलाई जानकारी दिएकी छन् ।
भरत लकाईले गेट कलेजका बारेमा बोलेको सन्दर्भ यहां सुन्न सक्नुहुन्छ ।
https://youtu.be/kxdSGjE0XW4 र यो पनि,► गेट कलेजकोे यस्तोसम्म झुट, बिद्यार्थीहरुसंग ब्रम्हलुट
► मीनाले निम्त्याएको महाभारत ! कान्तिपुर र नागरिक कुन ठीक ?
gate college SLC