मनोरञ्जन

‘गाजलु’ कथा भन्दा पात्र हाबी

‘गाजलु’ कथा भन्दा पात्र हाबी

Gajalu नेपाली फिल्मको समस्या कथाभन्दा त्यसलाई पोख्ने शैलीमा छ । गाजलुमा कुमारीको कथा उठान गरिए पनि यति फितलो र बिकाउ शैलीमा भनिएको छ कि संवेदनाको क्लेशसम्म महसुस हुन्न । फिल्ममा कथाभन्दा पनि त्यसलाई देखाउने शैली महत्वपूर्ण हुन्छ । पर्दामा कथानक अनुसार चरित्र फिट छैन भने घागडान कथा पनि बालुवामा पानी बगाएसरह हुन्छ । बरू, सामान्य कथालाई कसिलो शैलीमा बुनिएको छ भने त्यो अब्बल ठहरिन्छ ।

हेमराज बीसी निर्देशित गाजलु यही संक्रमणबाट ग्रसित छ । त्यसैले हेमराजले कुमारीको कथालाई मूलधारमा ल्याएको जस पाउँदैनन् । पटकथाभन्दा अनमोल केसी, सृष्टि श्रेष्ठजस्ता स्टारलाई बढी प्राथमिकता दिनु निर्देशकले नियतवश गरेको कमजोरी हो । पूर्वकुमारी सुजाता शाक्य (सृष्टि) सामान्य जीवनयापन गर्न चाहन्छिन् तर परिवार र समाज बाधक बनिरहेको छ । एकातिर कुमारीले विवाह गर्दा घरवार बिग्रन्छ, अशुभ हुन्छ भन्ने भ्रम छ अर्कातिर जीवित देवी भएकाले उनका बाबुले जागिर खान दिँदैनन् ।

सुरुआति दृश्य, सुजाता र आरभको भेट, उनीहरूका साथी र परिवारको व्यवहारसम्ममा नयाँपन भेटिन्न । कलाकारको डफ्फा र तीनका हसिमजाकले फिल्मको वजन घटाएको छ । सलोन बस्नेत र ऋतिक शाही त पूरापूर अनावश्यक पात्र हुन् । उनीहरूले बोल्ने द्विअर्थी संवाद सिर्फ मसला हुन् । बरू, मेनुका प्रधान र गौरव पहारीको जोडी जमेको छ, उनीहरूको सहायक कथाले मूल कथाको गतिलाई अल्झाएको छैन । कन्फ्युजनको अवस्थाबाट गुज्रिरहेकी सुजाताको डकुमेन्ट्री मेकर आरभ (अनमोल)सँग भेट हुन्छ ।

शान्त स्वभावका सुजाता र अनमोलको सम्बन्ध प्रेममा परिणत हुन्छ । दुवैको परिवारले अस्वीकार गरेको प्रेम सफल होला त ? फिल्मको क्लाइमेक्स यसकै वरिपरि घुमेको छ । कुमारीको जीवनशैली, भोगाइ र मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाउन अल्छि गरिएको छ । आम युवतीझैँ बाँच्न चाहन्छिन् भन्ने एकोहोरो रटान मात्र छ । त्यसलाई जीवन्त बनाएर कथाप्रति दर्शकको मोह बढाउन निर्देशक चुकेका छन् । गतिलाई अल्झाएको छैन ।

लभ स्टोरी फिल्ममा हिरो र हिरोइनको केमेस्ट्री मिलेको हुन्छ । तर, गाजलुमा अनमोल र सृष्टिका जोडी कत्ति पनि फिट लाग्दैन, सृष्टिका अगाडि अनमोल फुच्चे देखिन्छन् । ‘एज ग्याप लभ स्टोरी’ हुँदो हो त यो सुहाउँदो हुन्थ्यो तर यहाँ जोडी नजम्दा पनि निर्देशकले जबर्जस्ती राखेको भान हुन्छ । उसो त पटकथा मात्र होइन, मेकिङमा पनि अनमोलका अघिल्ला फिल्मको स्ट्यान्डर्ड कायम राखिएको छैन । शैलेन्द्र डी कार्कीजस्ता सिर्जनशील सिनेमाटोग्राफरले फिल्म खिचेको हो भन्ने पत्यार लाग्दैनन् कैयौँ दृश्य । ‘तिमी आयौ.’ गीत फिल्मको प्लस पोइन्ट हो ।

राजेश हमालपछि नेपाली सिनेमाका ‘क्राउड पुलर’ हुन् अनमोल । यो स्टारडमको सही सदुपयोग भएन भने कालान्तरमा फिल्म उद्योगलाई नै नोक्सान पर्छ । तर, गाजलु मार्काका फिल्मले दर्शकको दायरा बढाउँदैन । बरू, सृष्टि पहिलो फिल्मबाटै गतिलो छाप छोड्न सफल छन् । पूर्व्मिस नेपाल सृष्टिमा कामुकताको छनकसम्म भेटिन्न, यसले उनको चरित्रलाई जीवन्त बनाएको छ । मेनुका र गौरवले आफूलाई दिइएको भूमिकालाई न्याय गरेका छन् । सलोन र ऋतिक हुनु र नहुनुको खास अर्थ छैन । राम्रो हुने सम्भावना हुँदा–हुँदै निर्देशकको लापरवाहीले बिग्रिएको फिल्म हो गाजलु । उनमा अनमोलप्रति अनावश्यक र कथाप्रति कम आत्मविश्वास देखिन्छ । भलै अघिल्ला तीन फिल्मको तुलनामा यसपटक उनले फरक कन्टेन्टमाथि खेल्ने प्रयास गरे, यसलाई सकारात्मक मान्नुपर्छ ।

gajalu

विशेष