‘प्रधानमन्त्री’ माथि यौन दुरव्यवहार
पछिल्लो समय प्रधानमन्त्रीको भुमिकामा देखिएपछि गौरी मल्लको व्यक्तित्व बोल्ड नारीका रुपमा स्थापित भयो । पार्टीभित्रका चाल र बाहिरी रणनीति पार गर्दै उनले टेलिसिरियलमा सफलता हाशिल गरेकी थिइन । गौरी मल्लजस्तै नारी यो देशको प्रधानमन्त्री भइदिए ! टेलिसिरियल हेरेपछि जोकोहीको मनमा खेल्ने विषय बन्थ्यो ।
टेलिभिजन पर्दाकी तिनै बोल्ड प्रधानमन्त्री गौरी आफैं भने यौन दुरव्यवहारको शिकार भएकी छिन् । गौरीले जापानस्थित नेपाली दुतावासमा अनोज शाक्य विरुद्ध उजुरी दिएर फर्किएपछि विषयले तरंग पैदा गरेको छ । लामोसमय देखि जापान बस्दै आएका ललितपुर भैंसेपाटीका अनोजबिरुद्ध गौरीले जेठ १८ मा उजुरी गरेकी हुन् । एक महिना बितिसक्दापनि उनको उजुरी उपर सुनुवाइ भएको छैन ।
गौरीले अनोजको नाम सार्वजनिक गरेकी थिइन् । शाक्य थरको एक पुरुषले आफुमाथि दुरव्यवहार गरेको उनले प्रतिक्रिया दिएकी थिइन् । शाक्यले ‘म नै हुँ त्यो बहादुर मान्छे’ भनेर आफु र गौरी संगै बसेर खिचेको फोटो सार्वजनिक गरेपछि विषय झनै व्यापक बन्यो । उनले पत्रकारहरुलाई समाचारलाई व्यापकरुपमा फैंलाउन आग्रह गर्दै एकपछि अर्को पोष्ट गरे । शाक्यको एउटा स्टाटसमा यस्तो लेखिएको छ, ‘सबैले यो फोटो छाप्नुहोला तर म गौरीको शिवरात्रीमा मेरो नाममा व्रत बसेको हुनाले मेरो कान्छी श्रीमती बन्छु भनेर स्वीकारेको थियो । मैले पनि शंखर शाक्य भनेर झण्डै नाम नै फेर्न लागेको थिए गौरी शंखर । शंखर शाक्य बनेको भए अहिले त बद्रि शाक्य पो हुने रहेछु ।’
जपानमा बिन्दास जिन्दगी जिइरहेका शाक्यको राम्रै आम्दानी रहेको बताइन्छ । उनले नै गौरीलाई जापान बोलाएका थिए । शाक्यले आफुले यौन दुरव्यवहार नगरेको तर अंगालो भने मारेको प्रतिक्रिया दिएका छन् । शाक्यले भने ‘मैले उहाँलाई गाली गरेकोमा माफी मागे, अब म माथि नचाहिँदो आरोप लगाएर मेरो परिवारलाई आघात पुर्याएकोमा उहाँले माफी माग्नुपर्छ ।’
शाक्यका अनुसार एयरग्रिन नामक जापानी उत्पादनको नेपाली विज्ञापनमा अभिनय गर्न गौरीलाई जापान डांकिएको थियो । उनले भने, ‘उहाँले सिंहदरवार टेलिसिरियलबाट हासिल गर्नुभएको लोकप्रियताका कारण मैले आफ्नो कम्पनीको विज्ञापनमा खेलाउने प्रस्ताव गरेको हुँ ।’
टिकट तथा अन्य खर्चका लागि तीन लाख रुपैँया उनले अग्रिम रुपमा गौरीलाई पठाएका थिए । तर जापान आएपछि गौरीले पूर्व सर्तहरु पालना नगरेकाले विवाद बढेको उनको तर्क छ । ‘उहाँले विज्ञापनमा अभिनय गर्नुभयो तर अरु जिम्मेवारीहरु पूरा गर्नु भएन ।’ शाक्यले भने । अरु जिम्मेवारी के थिए भन्ने उनले खुलाएका छैनन् ।
प्रधानमन्त्रीको छबि बनाएकी चर्चित नायिकामाथि दुरव्यवहार भएको घटनाले धेरैलाई विक्षिप्त बनाएको छ । त्यसमाथि गौरीलाई शाक्यले चोरीको आरोप लगाएका छन् । यसबारेमा बुझ्न खोज्दा गौरीले अहिले आफु धेरै व्यस्त रहेकाले फुर्सदमा भेट्ने प्रतिक्रिया दिइन् ।
Gauri Malla