
साउन – ३, ललितपुर । असार १७ गते पुष्पाञ्जलीमा पढाइ भइरहेको थियो । दिउँसो भूकम्प गएजस्तै गरी टहरो हल्लियो । भुकम्पपछि सुरक्षाका लागि टहरो बनाइएको थियो । त्यही टहरोले भूकम्पले नदिएको पीडा दियो । टहराभन्दा माथि अग्लो जग्गा थियो । पलटिङ गर्नेले पर्खाल बनाएको थियो । पर्खाल भत्किएर टहरामा ठोक्कियो । टहरा भत्किएर २ विद्यार्थीको ज्यान गयो । दुई दर्जन विद्यार्थी घाइते भए ।
असाधारण पीडाका कारण विद्यालय अस्तव्यस्त भयो । साउन २ गतेसम्मका लागि विद्यालय बन्द भयो ।

घटनाको केही दिनसम्म विद्यालय समाचार माध्यममा खुराक बन्यो । पलटिङ गर्ने कर्मा लामाले घटना साम्य भएपछि प्रहरीमा आत्मसमर्पण गरे । राजनीति तातेपछि काठमाडौं नजिकैको विद्यालयको तातो पीडा पूरै छाँयामा पर्यो ।

विद्यालय बिदा भएपनि शिक्षकशिक्षिका र कर्मचारीको विदा थिएन । घाइते विद्यार्थीलाई अस्पतालमा कुरुवा बस्ने तालिका बनाइएको थियो । कोही मृतकको घरमा सान्त्वना दिन जान्थे । घरघरमा गएर विद्यार्थी र अभिभावकसँग हातोमालो गर्थे ।

क्रमशः विद्यार्थी सामान्य अवस्थामा फर्किए । घटनापछि विद्यालय खुलेको पहिलो दिन लगभग सबै विद्यार्थी आए । नयाँ ठाऊँमा विद्यालय सञ्चालन भएकाले विद्यार्थीलाई सहज भएको थियो । उनीहरुलाई अध्ययन अध्यापन गरिएन । अतिरिक्त क्रियाकलाप गराइयो । विद्यार्थीमा स्फुर्ती देखिन्थ्यो ।

कक्षा ३ र ८ का विद्यार्थी प्रत्यक्ष घटनामा परेका थिए । उनीहरुलाई घटनापछिका दिनमा मनोविदहरुबाट परामर्श दिइएको थियो । अभिभावक भेला गरेर छलफल गरियो । पूरै गाउँले पीडा भुल्न सामुहिक प्रयास थाल्यो । पीडा पूरै पुरिएको छैन ।

घटनापछि टौखेलले धेरै अनुभव हाशिल गरेको छ । यस्तो दुर्घटना कसरी हुन सक्छ र दुर्घटना भइहाले के गर्ने भन्ने बारेमा टोलवासीले जानकारी लिएका छन् । हरेका विद्यालयमा विपतमा पर्दा के गर्ने भन्ने बारेमा तालिम आवश्यक रहेको उनीहरुले महशुश गरेका छन् । पर्खाल प्रकरणलाई नकारात्मक पाठका रुपमा ग्रहण गर्दै टौखेल नयाँ जीवन जिउँने प्रयासमा छ ।

पुष्पाञ्जलीका दुई थुंगा सदाका लागि चुँडिए । उनीहरुको नाममा अक्षय कोष खडा गर्ने र मृतक विद्यार्थीलाई अमर राख्ने प्रयासमा विद्यालय छ ।

(विद्यालयकी प्रधानाध्यापक पुहमी कान्ति बज्रचार्यसगँको अन्तर्वातामा आधारित ।
प्रस्तुतिः कञ्चन न्यौपाने
र, याे पनि
► यि हुन् कर्मा जसको कुकर्मले २ विद्यार्थी मारिए, २४ घाइते भए
► कसैले टेरेन पर्खालको मापदण्ड, अकालमा २ ले ज्यान गुमाए, घाइते २४ मध्ये ४ गम्भीर
puspanjali school