विचार

गुरु पुर्णिमा, टर्कीको कु र नेपाल

गुरु पुर्णिमा, टर्कीको कु र नेपाल
swarnim-wagle-nepalaaja (१) टर्की चानेचुने मुलुक होइन: G-20 को सदस्य, ७०० अर्ब डलरको उदीयमान अर्थतन्त्र, साँढे सात करोड जनता, विशाल ओटोमन साम्राज्यको विरासत | सन् १९२३ मा चन्द्र शमशेरले बेलायतसंगको सन्धि मार्फत नेपाली स्वतन्त्रताको पहिलो अन्तर्राष्ट्रिय कदम चालेकै वर्ष टर्कीले पनि मुस्तफा केमाल अटाटुर्कको नेत्तृत्वमा धर्म-निरपेक्ष्य राज्य, आधुनिक मध्यमार्गी मुस्लिम समाजका रुपमा नयाँ अध्याय शुरु गर्यो | कु नै गरेर भएपनि दशकौंसम्म सेक्युलर राष्ट्रको पहरेदार बन्यो सेना | (२) सन् २००३ मा प्रधानमन्त्री बने रेजेव तायिप एर्दोआन जो इस्तानबुल शहरका पुर्व मेयर हुन् | इस्लामिक रुझान, लोकरिझ्याइं र अमेरिकामा निर्वासित शक्तिशाली धर्मगुरु फेतुल्लाह गुलेनसंगको साझेदारीमा उनी बलियो बन्दै गए | सन् २०१३ पछि भने गुलेनसंगको सम्बन्ध बिग्रियो र गुलेनवादीहरुले नै एर्दोआनलाई अप्ठ्यारो पार्नेगरी भ्रष्टाचारका मुद्दा उछाल्न थाले | अहिले राष्ट्रपति छन् तर उनी सेना र गुलेनको भूतसंग डराउंथे | एउटा सैनिक तप्काले कच्चा तयारीका साथ गरेको कु केही दिनअघि विफल भयो | सयौंको मृत्यु, हजारौँको धरपकड | राष्ट्रपति जोगिए | (३) सन् २०१० ताका टर्कीस राजनीतिमा एउटा जबर्जस्त काण्ड हुन्छ जसको केन्द्रबिन्दुमै रहे मेरा गुरु डानी रड्रीक | विश्वकै चर्चित अर्थशास्त्रीहरु मध्येका यि भलाद्मी प्राज्ञले मलाई स्नात्तकोत्तर तहको अन्तर्राष्ट्रिय अर्थशास्त्र पढाए, थिसिस गाइड गरिदिए र वर्षौंसम्म सिफारिस लेखे | आज गुरु पुर्णिमाको दिन रड्रीकप्रति मेरो विशेष आदर र सम्झना हुनेनै भयो | (४) रड्रीकका ससुरा हुन् जनरल सेतीन दोगन जसलाई Sledgehammer नाम दिईएको एउटा पुरानो सैनिक कुको नाइके भएको आरोपमा अरु ३०० जनासंगै मुद्दा चलाइन्छ र सन् २०१२ मा २० वर्षको जेल सजाँय तोकिन्छ | रड्रीक र उनकी श्रीमती पिनार (जर्सापकी छोरी) स्तब्ध हुन्छन् | यो षडयन्त्र नै हो भन्नेमा उनीहरु विश्वस्त भएकोले पेश गरिएका प्रमाणहरु आफै (ज्वाईं-छोरी) केलाउन थाल्छन् | संचार माध्यम लगायत उदार लोकतान्त्रिक वुद्धिजीवी भनाउंदाहरु एर्दोआनसंग त्रसित थिए, कमैले मात्र उनीहरुको साथ दिन्छन् | (५) बर्षौंको प्रयासपछि पत्ता लाग्छ कि प्रमाणहरु किर्ते गरिएका रहेछन् | जस्तो, सन् २००७ मा मात्र बजारमा आएको Microsoft सफ्टवेर सन् २००३ मै योजनाको दस्तावेज बनाउन प्रयोग भएको दावी गरिएको रहेछ | सेनाको मनोबल गिराउन पर्छ भन्ने गुलेनवादीहरुको यो षडयन्त्रमा एर्दोआनको प्रारम्भिक साथ रहन्छ तर पछि पन्छिन खोज्छन् | मुद्दाको पुनरावलोकन हुन्छ, जर्साप छुटछन् र डानी रड्रीकको प्रयास सार्थक बन्छ | पछि यस नाटकीय सत्यकथामा आधारित एउटा हलिउड चलचित्र नै बन्ला सायद | (६) विफल कु पछिको टर्की अब कुन बाटोमा त ? एर्दोआनका विपक्षीहरुले पनि कुको विरोध गर्दै आफुलाई जन-निर्वाचित संस्थाहरुको पक्ष्यमा उभ्याए | निरङ्कुश बन्दै गइरहेको भनिएका एर्दोआन अलि नरम बन्लान् वा यही मौकामा आफ्ना विरोधीहरुलाई purge गर्दै झन् शक्तिशाली होलान् ? भनिन्छ, आन्तरिक शक्ति अभ्यासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट उनी प्रेरित छन् | तर यो बाटोमा लम्के भने युरोप र अमेरिका दुबैसंगको सम्बन्ध बिग्रने पक्का छ | सिरियाको द्वन्द, शरणार्थी समस्या, मध्य-पूर्वको जटिल भू-राजनीतिक जालो सल्टाउन टर्कीको भूमिका अत्यावश्यक छ | पहिले युरोपेली संघमा सामेल हुन आतुर भएको टर्की छिमेकी ग्रीसमा संकट र बेलायत नै अलग्गिने भएपछि चाहिं कम इच्छुक होला | (७) नेपालमा पनि अझै सेनालाई उक्साउने, 'राजा आउ' भन्नेहरु छन् | दुई दिनअघि मात्र नेपाली सेनाका पूर्व सेनापति गौरव राणासंग जम्काभेट हुँदा वहाँले भन्नुभएको कुराको भावांश: "मलाई पनि उचाल्नेहरु थिए, तर आफ्नै इतिहासबाट नसिके पनि टर्कीको ताजा दुर्घटनाबाट बुझ्ने कि दुनियाँ बदलिसक्यो ?" हुन पनि हो, यो कु परास्त गर्न दश वर्षअघि देखि मात्र घनिभूत प्रयोगमा आएका मोबाइल फोन र सामाजिक संजालका माध्यमहरुले व्यापक भूमिका खेले | नेपालमै मोबाइल दर्ता संख्या जनसंख्याको अनुपातमा १००% भर्खरै नाघेको बताइन्छ | (वाग्ले योजना आयोगका पूर्व सदस्य हुन् । समय सान्र्दभिक र जानकारीमुलक भएकाले यो लेख उनको फेसबुकवालबाट लिइएको हो )

Guru Purnima swarnim wagle

विशेष