महिनावारी यस्ता लक्षण र कारणले सुक्छ –जानीराखौ
महिलाको अण्डाशयबाट डिम्ब उत्पादन हुन्छ । डिम्ब उत्पादनमा अण्डाशयबाट निस्किने एस्ट्रोजिन र प्रवजेस्टेरोन हर्मोनको प्रभाव हुन्छ । यी हर्मोनको प्रभावले पाठेघरको भित्री तहमा परिवर्तन हुने गर्छ । दुई हर्मोनले ल्याउने परिवर्तन नै महिलामा महिनावारी अर्थात् रजस्वला हुनु हो । तर, महिनावारी निश्चित उमेर पुगेपछि सुक्ने गर्छ । रजोनिवृत्ति अर्थात् महिनावारी सुक्नु पनि महिलाको शरीरमा आउने प्राकृतिक परिवर्तन हो । तर, त्यतिखेर देखिने लक्षणका कारण भने कतिपय महिला तनावमा पनि आउँछन् । आखिर के–के हुन्छ महिनावारी सुकेपछि ? वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. पदमराज पन्त भन्छन्
महिनावारी सुक्ने कारण
महिलाको उमेर बढ्दै जाँदा अण्डाशयमा डिम्बको संख्या घट्दै जान्छ र अन्ततः रित्तिन्छ । ४० वर्षभन्दा बढी उमेरका महिलामा डिम्बको संख्या निकै न्यून हुन्छ । बिस्तारै डिम्ब सकिन्छ र अण्डाशयबाट अण्डा निस्कन बन्द नै हुन्छ । परिणामस्वरूप महिनावारी सुक्न पुग्छ । सुरुमा महिलाको महिनावारी अनियमित हुन्छ र बिस्तारै सुकेर जान्छ । एस्ट्रोजिन र प्रवजेस्टेरोन हर्मोन उत्पादन रोकिएपछि महिनावारी पनि पूर्ण रूपमा बन्द हुन्छ ।
महिनावारी सुक्ने उमेर
नेपाली महिलाको महिनावारी सुक्ने औसत उमेर ४७ वर्ष हो । महिनावारी सुक्ने उमेर लाइफस्टाइलमा सुधार आउँदा बढ्दै पनि जान्छ । त्यसैले त विकसित मुलुकहरूमा राम्रो लाइफस्टाइल भएका महिलाहरूको महिनावारी ढिला सुक्नसक्छ । बहुसंख्यक महिलामा अनियमित महिनावारीलगायत विभिन्न लक्षण महिनावारी सुक्नुभन्दा तीनदेखि पाँच वर्ष पहिलेदेखि नै सुरु हुन्छ । केही महिलामा १० वर्ष पहिलेदेखि पनि लक्षण देखिन सक्छ । यो समय महिलाहरू बच्चा पाउने उमेरबाट प्राकृतिक तरिकाले गर्भाधारण गर्न नसक्ने उमेरमा प्रवेश गर्ने वेला हो । त्यसैले यो उमेरलाई महिलाको जीवनको संक्रमणकाल पनि भन्न सकिन्छ ।
निम्तिन्छन् अनेक समस्या
महिनावारी सुक्ने समयमा शरीरमा शक्ति नभएजस्तो हुने, थकाइ लाग्नेजस्ता सामान्य समस्या निम्तिन्छन् । यतिवेला जिउ तात्ने, पोल्ने, औडाहा हुने, चिसो पसिना आउने, राति निद्रा नपर्ने, अरूसँग बोल्दा झिँजो लाग्ने, चिडचिडापन हुने, डिप्रेसनजस्ता जटिल समस्या पनि देखापर्न सक्छ । हार्मोनको कमी हुने भएकाले रजोनिवृत्तिले शरीरका सबै अंगलाई असर गरेको हुन्छ । त्यसकारण हाड तथा जोर्नी खिइने र भाँचिने समस्या निम्तिन सक्छ । यी समस्या समाधानका लागि कतिपय महिला विभिन्न विशेषज्ञ चिकित्सकसँग परामर्श लिन पुग्छन् ।
कतिपय त धामी–झाँक्रीकहाँ समेत धाएको पाइन्छ । पैँतीस वर्षको उमेरसम्म महिला तथा पुरुषको हाडका पदार्थहरू बन्ने र खिइने प्रक्रिया एकनास नै हुन्छ । पैँतीस वर्ष नाघेपछि शरीरमा एस्ट्रोजिन हर्मोनको कमीले गर्दा महिलामा हाड खिइने प्रक्रिया तुलनात्मक रूपमा पुरुषभन्दा छिटो हुन्छ । यसकारण महिनावारी सुकेका महिलामा हाडजोर्नी खिइने समस्या बढी हुन्छ । खासगरी ढाड दुख्ने, जोर्नी दुख्ने, मेरुदण्डको हाड खिइएर नसा च्यापिने समस्याका कारण हातखुट्टा झमझमाउनेलगायतका समस्या पनि देखिन सक्छन् । एस्ट्रोजिन हर्मोनको कमीले महिलामा मुटुको समस्या देखिने, बिर्सने समस्या हुने तथा छाला सुक्खा हुनेजस्ता समस्या पनि निम्त्याउँछ ।
प्रजनन र मूत्र प्रणालीमा समस्या
महिनावारी सुकेसँगै हुने हर्मोनहरूको कमीले प्रजनन् र मूत्र प्रणालीमा अनेक समस्या देखिन्छन् । योनी सुक्खा हुने, योनीको बाहिर चिलाउने तथा पोल्ने समस्या हुनसक्छ । महिलामा यौनइच्छा पनि कम भएर जान्छ । यौनी सुक्खा हुने भएकाले यौनसम्पर्क गरे पनि दुखाइ हुन्छ । शरीरका तन्तु तन्काउन पनि एस्ट्रोजिन हर्मोनको भूमिका हुन्छ । यो हर्मोनको कमी भएपछि पाठेघर तथा पिसाबथैली आफ्नो स्थानमा अड्काएर राख्ने तन्तु पनि खुकुला तथा कमजोर हुन्छन् । पिसाबथैली र पाठेघर आफ्नो ठाउँबाट तल खस्ने सम्भावना बढी हुन्छ ।
पिसाबथैली आफ्नो ठाँउबाट खस्केपछि हाँस्दा, खोक्दा, हाछ्युँ गर्दा तथा सामान उचाल्दा पिसाब झर्ने, पिसाब रोक्न नसकिने, राति धेरैपटक पिसाब फेर्न उठ्नुपर्ने, पिसाबथैलीमा पटक–पटक संक्रमण भइराख्ने हुनसक्छ । पिसाब झर्ने र चुहिने समस्याले कैयौँ महिला सामाजिक जमघटमा जानसमेत चाहँदैनन् । कतिपय महिलामा पिसाब नै रोकिने समस्या पनि हुनसक्छ ।
नआत्तिने तर समाधान खोज्ने
महिनावारी सुक्नु र यो अवधिमा विभिन्न लक्षण देखिनु कुनै रोग होइन । कतिपयले ठान्ने गरेजस्तो देवताको श्राप पनि होइन । यी समस्याका धेरै समाधान छन् । जिउ तात्ने, चिसो पसिना आउने तथा निद्रा नपर्ने समस्याले यो उमेरका महिलालाई सबैभन्दा बढी दुस्ख दिएको पाइन्छ । बहुसंख्यक महिलामा जीवनशैली परिवर्तन गरेर पनि धेरै समस्याको समाधान गर्न सकिन्छ । केहीलाई सामान्य उपचारको आवश्यकता पर्छ भने केहीलाई हर्मोन दिएर नै उपचार गर्नुपर्ने हुन्छ ।
लक्षण अनुसार समाधान सुत्र
जिउ तात्दा काम गर्ने ठाउँमा तथा सुत्ने कोठामा पंखाको प्रयोग गर्ने । चिसो पानीले नुहाउने । पातलो र तह–तह भएको लुगा लगाउने । जिउ तात्ने तथा चिसो पसिना आउने समस्या धेरै महिलामा समय बित्दै जाँदा कम भएर जान्छ । डिप्रेसनजस्तो समस्या देखिएमा केही न केही काममा व्यस्त रहिरहने । योग तथा व्यायाम गर्ने । तौल बढी छ भने तौल घटाउने, धुम्रपान तथा मध्यपान गर्न छोड्ने । खानामा मसलाको प्रयोग सकेसम्म कम गर्ने । भटमास, तोफु, गेडागुडी, सागपात तथा फलफूल र दूधको मात्रा बढाउने ।
यी उपायबाट समस्यामा राहत नमिले चिकित्सकको परामर्श आवश्यक पर्छ । हर्मोनको प्रयोगबाट सजिलै समस्याको समाधान खोज्न सकिन्छ । तर, हर्मोनको प्रयोग सबै महिलाका लागि सुरक्षित हुँदैन । हाँस्दा, खोक्दा पिसाब झर्ने, योनी सुक्खा हुने तथा पोल्ने महिलाले योनीमा हर्मोनको क्रिम प्रयोग गर्दा फाइदा हुन्छ । पिसाब चुहिने समस्या भए पिसाबथैलीको व्यायाम गर्ने । पिसाबथैली तथा पाठेघर निकै खसेको छ भने शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । पिसाब तथा हाडजोर्नीसम्बन्धी समस्या अधिकांशमा निको नभएर बढ्दै जाने खतरा रहन्छ । हाडजोर्नी खिइएका महिलाको हकमा नियमित योग, व्यायाम तथा फिजियोथेरापी सहयोगी हुन सक्दछन् । तर, हाडजोर्नी विशेषज्ञको सल्लाह लिनु अति उपयुक्त हुन्छ ।
हर्मोन दिन नमिल्ने महिला
शरीरका रक्तनलीमा रगत जम्ने समस्या भएका । नजिकका आफन्त, आमा तथा दिदी–बहिनीहरूमा स्तन तथा पाठेघरको क्यान्सर भएका । कलेजोको रोग भएका । मुटुको रोग भएका, उच्च रक्तचाप भएका, धुम्रपान गर्ने । महिनावारी हुन नचाहने महिलालाई हर्मोन प्रयोग गर्दा पुनः महिनावारी हुन्छ ।
हर्मोनको प्रयोगपछि
समय–समयमा स्वास्थ्य परीक्षण गराउनु अनिवार्य । आफ्नो स्तन स्वयं परीक्षण गर्ने, आवश्यक परे चिकित्सकको सहयोग लिने । स्तनमा गाँठा भेटिएमा तुरुन्त औषधि बन्द गरेर चिकित्सककहाँ जँचाउन जाने । सुविधा भए मेमोग्राम अथवा अल्ट्रासाउन्ड गराउने । समय–समयमा रक्तचाप नाप्ने, रक्तचाप बढी भए औषधि बन्द गरेर चिकित्सकको सल्लाह लिने । पाठेघरको भित्री तहको मोटाइ हेर्न अल्ट्रासाउन्ड गर्ने ।
एजेन्सी
Mensuration