केसीका प्रतिनिधिसँगको बैठक असफल पुनः बैठक बस्दै
साउन – ७ । सरकार र डा गोविन्द केसी प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेबाट बसेको दोस्रो चरणको वार्ता विज्ञसँग छलफल गर्नुपर्ने भन्दै स्थगित भएको छ ।
सरकारी वार्ता टोली संयोजक एवम् स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीले केही विषयमा गाँठो फुकाउनका लागि विज्ञसँग छलफल गर्नुपर्ने भएकाले पुनः अर्को चरणमा वार्ता गर्ने सहमति भएको जानकारी दिए ।
उनले भने, “केही विषय निकै जटिल छन् । ठोस निष्कर्षमा पुग्न विज्ञको राय आवश्यक परेकाले वार्ता केही समयका लागि स्थगित गरिएको छ । अब हुने वार्तालाई अन्तिम बनाउन हाम्रो प्रयास रहनेछ ।” विज्ञको सुझावपछि अर्को चरणको वार्ता बस्ने उनको भनाइइ छ ।
डा. केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा. रञ्जनकुमार सापकोटाले वार्तामा हिजोको तुलनामा केही अगाडि बढे पनि मुख्य विषयमा छलफल नै हुन नसकेको बताए ।
“हामी सहमतिको नजिक पुग्न खोजीरहेका छौँ, उहाँहरुले विज्ञसँग छलफलका लागि समय मागेपछि सकेसम्म आजै ७ बजेतिर पुनः वार्तामा बस्ने सहमतिसहित वार्ता स्थगित भएको छ।” उनले भने ।
दुवै पक्ष आजै निष्कर्षमा पुग्न सहमत भएका छन् । वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएको छ । बिहीबार र शुक्रबार गरी ८ घन्टासम्म वार्ता भएको छ । डा. केसी चिकित्सा क्षेत्र सुधारलगायत विभिन्न माग राख्दै गत १३ दिनदेखि अनशनमा छन् ।
Dr. Gobinda Kc