रुख ढल्दा बालिकाको मृत्यु

७ साउन । धनगढी उपमहानगरपालिका–६ शान्ति टोलको एक घरमाथि शुक्रबार अपराह्न रुख ढल्दा घरमा सुतिरहेकी एक बालिकाको च्यापिएर मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालय धनगढीका प्रमुख बजिरसिं धामीले स्थानीय नरेश चौधरीको कच्ची घरमाथि खसेको रुखले च्यापिएर उपमहानगरपालिका–१८ फुलवारीका दीलु चौधरीकी १२ वर्षीया छोरी जुनकिरी चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
आफन्त नरेश चौधरीको घरमा पाहुना बस्न दुई दिनअघि ती बालिका आएकोमा आज उक्त घटना भएको बताइएको छ । घरमा सुतिरहेको अवस्थामा घर छेउमा रहेको बर्रोको रुख घरमाथि खसेको थियो । वर्षा भइरहेको समयमा ढलेको रुखले चौधरीको घरमा ठूलो क्षति पुगेको छ । रासस