चारैतिर पहिरोले घेरेपछि बासिन्दाले गाउँ छोडे

साउन - ८ । पहिरोका कारण म्याग्दीको एउटा पूरै बस्ती विस्थापित भएको छ ।
बस्तीको चारैतिर पहिरोले घेरेपछि भकिम्ली–९ तोराखेतका बासिन्दाले गाउँ छोडेका हुन् । घरखेत पहिरोसँगै बग्न थालेपछि तोराखेतका २५ घरधुरी विस्थापित भएका छन् । अक्करे भिरको पहिरो नियन्त्रणको प्रयास सफल नभएपछि पुस्तौँदेखि बस्दै आएको घर, कजाउँदै आएको खेतबारी छोडेर विस्थापित भएका हुन् ।
बेनी नगरपालिका–४ बगरफाँटमा घडेरी किनेर घर बनाई बसेका डिलबहादुर सापकोटा पहिरोले तोराखेतवासीको उठीबास लगाएको बताउनुहुन्छ । करिब पाँच हेक्टर क्षेत्रफल जमिन धाँजा फाटेर चिरा चिरा परेको छ । खेतबारी उपभोग गर्न सक्ने अवस्थामा छैन । गाउँ रित्तिएको छ ।
खेतबारी बाँझै छ । ११ वटा घर गोठ भत्किएका छन् । चौध वटा घर बस्ने नमिल्ने गरी चर्किएका छन् । पहिरोका कारण तोराखेतका बासिन्दाले भकिम्ली, बेनी नगरपालिका–३ को भकुण्डेचौर र तमानेमा सरेका छन् ।
तोराखेतमा अधिकांश दलित समुदायको बसोबास थियो । पहाडमाथि रहेको भिरालो जमिनमा बग्ने भूमिगत पानीका कारण तोराखेतमा पहिरो गएको हो । जिल्ला भूसंरक्षण कार्यालय र नेपाल रेडक्रस सोसाइटीलगायतका निकायले पहिरो नियन्त्रणका लागि लाखौँ खर्च गरेर ग्याबियन पर्खाल लगाए पनि सफल हुन सकेन । रासस
badhi
maghdi
