समाज

महावीर पुनकाे राष्ट्रिय आविस्कार केन्द्रका लागि ३७ लाख जुट्यो

महावीर पुनकाे राष्ट्रिय आविस्कार केन्द्रका लागि ३७ लाख जुट्यो
Mahabir Pun साउन - ८ । महावीर पुनले सुरू गरेको राष्ट्रिय आविस्कार केन्द्र बनाउने अभियानमा दैनिकजसो सहयोग जुट्ने क्रम जारी छ । सरकारी दैलोमा धाउँदा पटकपटक आश्वासन बाहेक केही नपाएका पुनले जनताको सहयोगबाट केन्द्रको स्थापना गर्ने घोषणा गरेपछि सुरु भएको आर्थिक सहयोग अभियानमा हालसम्म रु ३७ लाख सङ्कलन भएको बताएका छन् । म्याग्दीका समाजसेवी एवम् ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र उनको धर्मपत्नी रेश्मा शाक्यले सोही अभियानका लागि रु १० हजार १०५ सहयोग गर्ने क्रममा पुनले सो कुरा बताएका हुन् । शुक्रबार ठमेलस्थित पुनको नेपाल कनेक्सन क्याफेमा एक कार्यक्रम गरी शाक्य दम्पतीले उक्त रकम हस्तान्तरण गरेका थिए । परोपकारी संस्था ओम कुमारी शान्ति कोषका अध्यक्ष एवम् म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव समेत रहनु भएका शाक्यले राष्ट्रिय अभियानमा व्यक्तिगत सहयोगमार्फत सहभागिता जनाएको र आगामी दिनमा संस्थागगत सहभागिता जनाउने प्रतिबद्धता जनाएका थिए। शाक्यले आर्थिक समस्याका कारण उपचारबाट वञ्चित भएका हरेक म्याग्देलीलाई व्यक्तिगतरुपमा प्रतिव्यक्ति रु पाँच हजार सहयोग गरेका छन् । रकम हस्तान्तरण कार्यक्रममा सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार बिजेता पुनले पटकपटकका सरकारले आश्वासन दिएकै कारण आविस्कार केन्द्रको अभियानमा ढिलाइ भएको बताउँदै जनताको सहयोगबाटै केन्द्रको स्थापना गरेर देखाउने बताएका छन् । उनले हरेक दिन आइरहेको सहयोगबाट अभियान जनताकै सहयोगबाट सम्भव छ भन्ने आत्मविश्वास समेत बढेको बताए। पुनले जनताको सहयोगबाट नै रु ५० करोड सङ्कलन गरेर केन्द्रको स्थापना गर्ने र समृद्ध नेपाल बनाउने आफ्नो योजना रहेको सुनाए । केन्द्र विज्ञान, प्रविधिसँग मात्रै केन्द्रित नभई कृषि, पर्यटन, जलविद्युत्सहित नेपालमा उत्पादन हुने सबै उत्पादनमा केन्द्रित हुने उनको भनाइ छ। पुनले अभियानमा साथ दिन स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अनुरोध गरेका छन् । रासस

mahabir pun

विशेष