खेल

रियल म्याड्रिडका स्ट्राइकरको विवाह न्यूयोर्कमा

रियल म्याड्रिडका स्ट्राइकरको विवाह न्यूयोर्कमा
Gareth-Bale साउन – १० । रियल म्याड्रिडका स्टार तथा वेल्सका कप्तान गेरेथ वेलले बाल्यकालकी साथी इम्मा रायस–जोन्ससँग अमेरिकामा बिहे गर्ने पक्का भएको छ । यी दुबै लामो समयदेखि सँगै बस्दै आइरहेका थिए । दुबैबाट २ छोरी जन्मिसकेका छन् । जेठी छोरी अल्बाको ३ वर्षअघि र कान्छी छोरीको यसै वर्ष जन्म भएको थियो । वेलले आफ्नो पहिलो छोरीको जन्म हुनुअघि नै इम्मासँग बिहे गर्न चाहेका थिए । तर, त्यति नै बेला वेलका हुनेवाला ससुरा रायस–जोन्स ठगीको मामिलामा अमेरिकामा पक्राउ परेपछि उनीहरूको बिहे लम्बिएको थियो । ठगीको मुद्दा प्रमाणित भएमा उनलाई १० वर्षको जेल सजाय हुन सक्ने बताइएको छ । केही समयअघि न्यायाधीश ह्यु स्कटको इजलासले जोन्सलाई अमेरिकाबाहिर जान रोक लगाएपछि वेल जोडी जोन्सको आर्शिवाद लिन न्युयोर्कमै विवाह गर्न बाध्य भएको हो । वेलले बिहेमा आफ्ना नजिकका साथी तथा केही सेलिबे्रटीलाई निम्तो दिएको बेलायतका पत्रपत्रिकाले जनाएका छन । उनी यसअघि बेलायतको आफ्नो भव्य महलमा बिहे गर्न चाहन्थे । वेल गत शनिबार २७ वर्षमा प्रवेश गरेका थिए । यसै दिन कार्डिफको वाइट चर्च स्कुलमा सँगै पढेकी आफ्नी प्रेमिका इम्मालले न्युयोर्कमा बिहेको स्वीकृति दिएको वेलले जनाएका छन् । गत सिजनमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण योगदान गरेका वेलको प्रभावशाली खेलका कारण यसै महिना सम्पन्न युरो कपमा वेल्स सेमिफाइनल पुगेको थियो । उनलाई अनुबन्ध गर्न म्याड्रिडले ८ करोड ६० लाख स्टर्लिङ पाउन्ड खर्चिएको थियो । उनले हाल वार्षिक १ करोड ३० लाख पाउण्ड पारिश्रमिक बुझ्छन् ।

Emma Rhys-Jones Gareth Bale girlfriend

विशेष