
साउन – ११ । मोरङको रमितेखोलामा आइतबार राति पिकअप भ्यान भिरबाट खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका रमितेखोला–९ बस्ने २३ वर्षीय अर्जुन राईको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा गएराति मृत्यु भएको छ । यसअघि रमितेखोला–७ बस्ने १८ वर्षीय सिद्धी राईको घटनास्थलमा मृत्यु भएको र इलाम साक्फारा–१ बस्ने १५ वर्षीय सन्दिप राईको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।
दुर्घटनामा परेर घाइते भएका अन्य सात जनाको न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्ष गंगाबहादुर राईले जानकारी दिए ।
मोरङको टाँडीबाट रमितेबजारतर्फ जाँदै गरेको को १ ज १७५५ नम्बरको पिकअप भ्यान आइतबार राति रमितेखोला–२ स्थित भिरबाट ध्वाँसे खोलामा खस्दा दुर्घटना भएको थियो । पिकअप भ्यानका चालकलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ । रासस
Accident
Morang