सौगात मल्लसँगको सम्बन्धबारे सरिताले मुख खोलिन
बालकृष्ण समको नाटक ‘स्वास्नी मान्छे’ मा एकल अभिनय गर्दा रंगकर्मी सरिता गिरी भर्खरै १६ टेक्दै थिइन् । कलकलाउँदो उमेर । त्यतिबेला उनको गोरो अनुहार तीन कारणले गुलाबी बन्थ्यो (घाम पर्दा, पीर पर्दा अनि नर्भस हुँदा । तर, २०५७ मा उनको अनुहार रातै हुनुको चाहिँ बेग्लै कारण थियो । जीवनमै पहिलोपटक उनले एकल अभिनयबापत नेसनल अवार्ड जितेकी थिइन् ।
वीरेन्द्र हमालले निर्देशन गरेको ‘स्वास्नी मान्छे’ मा सोलो पर्फमेन्स गर्दा सरिता सिकारु नै थिइन् । तर, त्यो सालको राष्ट्रिय नाटक महोत्सवमा ७० भन्दा बढी सहभागीलाई तिनै फुच्चीले पछि पारेकी थिइन् । ‘अवार्ड जित्छु भन्ने सोचेकै थिइनँ, सबै सिनियर थिए,’ मंगलबारे भेटघाटमा उनले सम्झिन्, ‘त्यो क्षण म कहिल्यै बिर्सिन्नँ ।’ अहिले उनी ३३ वर्ष पुगिन् । यसबीच उनले दर्जनौं नाटक खेलिन्, नाटककै लागि जापान, कोरिया, भारतदेखि बंगलादेशसम्म पुगिन् । उनी स्वयंको जीवनमा पनि थुप्रै परिवर्तनहरू आए । तर, उनी सोलो पर्फमेन्सले दिलाएको खुसी भने कहिल्यै भुल्दिनन् ।
गुरुकुलमा छँदा नर्वेली रंगकर्मी मोर्टन क्रोगको निर्देशनमा ‘मिस मार्ग्रिदा’ को रूपमा सोलो पर्फमेन्स गरेकी उनी यतिबेला फेरि अर्को एकल अभिनयमा जुटेकी छन् । मंगलबार सहर साउने झरीमा रुझिरहँदा उनी भने मण्डला थिएटरमा ‘बोक्सीको घर’ नाटकको अन्तिम तयारी गरिरहेकी थिइन् ।
‘अब त रंगमञ्च नै जीवन बन्यो,’ सरिता भावुक बनिन् । तीन वर्ष वीरेन्द्र हमालको समूहमा काम गरेपछि गुरुकुल पसेकी थिइन् उनी । तिनताक रंगकर्मी सुनील पोखरेलले पुरानो बानेश्वरको डाँडामा आरोहण नाट्य समूहमार्फत् गुरुकुल ठड्याएका थिए । पहिलो गाँसमै मिठो स्वाद पाएकी सरिताको लागि गुरुकुल अलिक फराकिलो मैदान थियो ।
हमालकै निर्देशनमा विजय मल्लको ‘पत्थरको कथा,’ समको नाटक ‘सोरठी’ मा समेत अभिनय गरिसकेकी सरिता २०५९ देखि यही फराकिलो मैदानमा देखा परिन्, जहाँ उनको सहकार्य सौगात मल्ल, सुरेश चन्द, राजन खतिवडा, अरुणा कार्की, भोलाराज सापकोटा, प्रवीण खतिवडा, कमलमणि नेपाल, राजकुमार पुडासैनी लगायतसँग भयो । बिस्तारै गाइँगुइँ सुनिन थाल्यो, सरिता र सौगातबीचको अफेयर्सबारे । त्यही बेला सरिताले राष्ट्रिय नाटक महोत्सवका लागि सौगातलाई लिएर ‘अश्वस्थामा हतोहतस्’ नाटक निर्देशन गरेकी थिइन् र यही नाटकबाट सौगातले बेस्ट एक्टरको अवार्ड पनि पाएका थिए । तर, त्यो व्यावसायिक सहकार्य थियो, ‘प्रेम’ थिएन । बिस्तारै सौगात पनि रंगमञ्च हुँदै फिल्मतिर जम्न थाले । गुरुकुल पनि बन्द हुने अवस्थामा पुग्यो । मनपर्ने साथी मानेकी सरिताले सौगातको साथ भने गुरुकुल रहँदासम्म मात्रै पाइन् । छात्रवृत्तिमा गुरुकुलमै रंगमञ्च अध्ययन गरेका दुवैजना त्यहीँ नजिक भएका थिए । ‘हरेक सम्बन्धको टुंगो लाग्दो रहेछ,’ सरिताले बनिन्, ‘र, मान्छे एक्लै हुन्छ, एक्लै बाँच्छ र एक्लै मर्छ ।’ कतिन्जेल एक्लै नि ? प्रश्न भुइँमा खस्न नपाउँदै खित्का छाडेर हाँसिन् सरिता । ‘उफ्, गाह्रै छ नि एक्लो जीवन,’ एकैछिन रोकेपछि उनी खुलिन् । उनी अब भने एक्लोपनबाट मुक्त हुँदै रहिछन् । उनकै अनुसार केही वर्षयता उनले मन मिल्ने साथी पाएकी छन् । विवाहको कुरा घरमा पक्का पनि भइसकेको छ । हुनेवाला जीवनसाथीको नाम खुलाउन नचाहेकी उनले केही छनक भने दिइन् । पोखरेली रंगमञ्चमा काम गर्दै आएका उनी पुराना रंगकर्मी नै हुन् । सरितालाई उनले निकै अघिदेखि नै नियाल्दै आएका थिए । उति बेला सरिताले खासै ध्यान दिएकी रहिनछिन् । ‘उहाँले निकै नजिकबाट मेरो एक्टिभिटी नियाल्नुभएको रहेछ,’ उनले भनिन् । हाल अमेरिका बस्दै आएका ‘हुनेवाला’ सँग छिट्टै विवाह बाँधिने तयारी गरिरहेकी उनले भनिन्, ‘अब एक्लोपन छिट्टै हट्दै छ । सायद, उहाँ यहाँ हुनुभएको भए, मैले नयाँ नाटकका लागि गुड कमेन्ट पाउँथें कि ?’ जीवनसाथी पाए पनि मान्छेको एक्लोपन भने कहिल्यै नहट्ने सरिताको धारणा छ । जीवननै रंगमञ्चमा समर्पित गरेकी उनलाई तेस्रो एकल प्रस्तुतिमा जुटिरहेको बेला पनि लाग्यो– ‘नाटकमा एक्लो कि जीवनमा ?’ कहिलेकाहीँ उनी नाटककै स्क्रिप्ट पढ्दापढ्दै रुन्छिन् रे । ‘एक्लो फिल हुनेबित्तिकै मज्जाले रुन्छु, भएन भने स्कुटी टिपेर टाप कस्छु,’ उनले भनिन्, ‘अनि पशुपतिको डाँडामा गएर केही समय टहल्छु र वरिपरि हेरेपछि चित्त बुझ्छ ।’ मनमा अनेकौं प्रश्न उब्जे भने र तनाव उत्पन्न भयो भने उनी विपश्यना ध्यानमा जान्छिन् । दुई सयभन्दा बढी नाटक अभिनय गरेकी सरिताले झन्डै ५ वर्षपछि अर्को सोलो पर्फमेन्समा जुटेकी हुन् । ‘स्वतन्त्र भएर अभियन क्षमता देखाउन पाइन्छ, गल्ती तुरुन्तै करेक्सन गर्न सकिन्छ, कल्पनाशीलता बुन्न सकिन्छ,’ उनले भनिन्, ‘तर, दर्शकलाई निश्चित समयसम्म आफूमै केन्द्रित कसरी गराउने भन्नेचाहिँ चुनौती हुन्छ ।’ कान्तिपुर दैनिक Sarita Giri Saugat Malla