ब्राजिलको राजनीतिक संकट ओलम्पिकमा

[caption id="attachment_14500" align="alignnone" width="1600"]
Getty Images[/caption]
साउन – १२ । ब्राजिलको राजनीतिक संकटको छाँया आसन्न ओलम्पिक खेलमा पनि देखिने भएको छ ।
संसदमा महाभियोगको प्रस्ताव खेपिरहेकी राष्ट्रपति डिल्मा रुसेफले ओलम्पिक खेलमा सहभागि नहुने घोषणा गरेसँगै राजनीतिक संकटको आंशिक प्रभाव ओलम्पिक खेलमा देखिने भएको हो ।
ब्राजिलमा ओलम्पिक खेल आयोजना गराउने जिम्मा पाउन महत्वपूर्ण भुमिका खेलेका तत्कालिन राष्ट्रपति लुईज इनासियो लुला डा सिल्भा पनि ओलम्पिकमा सहभागि नहुने भएका छन् ।
निलम्बित राष्ट्रपति रुसेफको ठाँउमा अन्तरिम राष्ट्रपति मिचेल टेमरले मराकाना रंगशालामा हुने भव्य उद्घाटन समारोहमा ब्राजिल सरकारको प्रतिनिधित्व गर्नेछन् ।
आगामी अगष्ट ५ तारिखबाट सुरु हुने ग्रिष्मकालिन ओलम्पिकमा २ सय ८ राष्ट्रका झण्डै १० हजार ५ सय खेलाडीले सहभागिता जनाउँदैछन् । ओलम्पिक लगत्तै राष्ट्रपति रुसेफ विरुद्ध महाअभियोग प्रस्तावले गति लिनेछ ।
रुसेफले संसदमा महाअभियोगको प्रस्ताव झेलीरहँदा पुर्व राष्ट्रपति लुला डा सिल्भा भने भ्रष्टाचार, पदको दुरुपयोग तथा अकुत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका छन् ।
Olympic
Rio 2016
