रोजर फेडेरर रियो ओलम्पिक खेल्न नसक्ने
साउन – १२ । घुँडाको चोटका कारण टेनिस स्टार रोजर फेडेररले रियो ओलम्पिक नखेल्ने भएका छन् । यसका साथै उनी २०१६ को बाँकी पुरा सिजन कोर्ट बाहिर नै रहने भएका छन् ।
१७ ग्राण्डस्लाम जितिसकेका ३४ वर्षीय फेडेररले आफ्नो करियरलाई लामो समयसम्म लम्ब्याउन आफू स्वस्थ्य हुन आवश्यक रहेको बताएका छन् ।
फेडेररको यो फेब्रुअरीमा घुँडोको अपरेशन भएको थियो । मे महिनाको फ्रेन्च ओपनबाट पनि नाम फिर्ता लिएका थिए ।
उनले रियो ओलम्पिकमा स्विट्जरल्याण्डको प्रतिनिधित्व गर्न नपाएकोमा आफू निराश रहेको बताएका छन् । तर, उनले २०१७ को सुरुवातमा आफू नयाँ जोश र उर्जाका साथ फर्कने विश्वास व्यक्त गरेका छन् ।
फेडेररले २००८ मा बेइजिङ ओलम्पिकमा युगलतर्फ स्वर्ण जितेका थिए । तर, एकल रुपमा भने उपाधि जितेका छैनन् । २०१२ मा लण्डन ओलम्पिकको फाइनलमा ब्रिटेनका एन्डी मुर्रेसँग पराजित भएका थिए ।
Rojer Fredor