विश्व हेपाटाइटिस दिवस
आज विश्व हेपाटाइटिस दिवस यसबारेको विभिन्न चेतनामुलक कार्यक्रम गरी विश्वभर नै मनाईदैछ । हेपाटाइटिस रोग बारेको चेतना, यसको परिक्षण र उपचारमा सबैको पहुँच पुर्रयाउनु पर्नेमा दिवसले जोड दिएको छ । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । भाइरसको संक्रमणका कारण मानिसको कलेजोमा असर पुगी सुन्निनु वा काम गर्न नसक्ने अवस्थामा पुग्नु नै हेपाटाइटिस हो । हालसम्म यसका ए, बी, सी, डी र ई गरी ५ किसीमका भाइरसहरु रहेको पाईएको छ ।
विभिन्न किसीमका संक्रमण, असुरक्षित यौन सम्पर्क, संक्रमित आमाबाट जन्मिएको शिशुमा र सिरिन्जबाट लागु पदार्थ लिनेहरुलाई हेपाईटिस रोग लाग्ने गर्दछ । विश्वका ४० करोड मानिसमा विभिन्न किसिमका हेपाटाइटिसको संक्रमण रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जसमध्ये करीब ३ लाख ८० हजार नेपाली छन् । संसारभर १४ लाख मानिसको प्रत्येक वर्ष विभिन्न किसीमका हेपाटाइटिसका कारण मृत्यु हुने गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै डब्लुएचओले आगामी सन् २०३० सम्म विश्वबाट हेपाटाइटिस उन्मुलन गर्ने लक्ष्य राखेको छ ।