सगार लम्साल कसरी बने बले
हास्य टेलिशृंखला भद्रगोलका चर्चित पात्र बले । छवि ओझाको ‘लोफर’ फिल्मबाट कलाकारितामा प्रवेश गरेका उनलाई सोही फिल्मले ‘बले’ बनाएको हो । लोफर हेरेकाले उनलाई ‘बले’ भनेर ‘मार्क’ गरेको भए पनि भद्रगोलले नै दर्शकमाझ चर्चित बनाएको हो । बले अर्थात् स्याङ्जाका सागर लम्साल अहिले आफ्नो कलाकारिता देखाउन देश–विदेश ओहोर–दोहोर गरिरहन्छन् । तर, केही वर्षअघि उनी विदेश जाने योजना विफल भएर विरक्तिएका थिए ।
‘प्लस टु पासपछि क्यानडा जाने ट्राई गरेको थिएँ, तर भिसा रिजेक्ट भयो,’ उनले सम्झिए, ‘त्यसपछि चार्टर्ड एकाउन्टेन्ट पढ्नका लागि दिल्ली गएँ । केही महिनापछि मलाई जन्डिसले ग्रस्त पार्यो । काठमाडौं फर्किएँ ।’ त्यसपछि भने उनले बिबिए पढ्न थाले । सोही क्रममा वीरेन्द्र हमालसँग अभिनय सिक्न थालेको उनी बताउँछन् । ‘वीरेन्द्र सरसँग अभिनय क्लास सुरु गरेँ । मास्टर्स पढ्नका लागि क्यानडाको भिसा लागेको थियो । तर, मलाई कलाकारितामै रस पस्यो, त्यही भएर गइनँ ।’ अभिनयमै केही गर्छु भन्ने योजनाका लागि भौँतारिन थालेको ६ वर्ष बितिसकेको थियो । सोही क्रममा उनको साथीको दाइको पनि साथीमार्फत लोफर फिल्मका निर्देशक आदित्यविक्रम लम्सालसँग चिनाजान भएछ ।
‘चिनजान गर्दै जाँदा आदित्य दाइ आफन्त नै पर्नुहुँदो रहेछ । सुरुमा उहाँको सहायक भई काम गर्ने कुरा भएको थियो । पछि हुँदाहुँदा पहिलाको स्क्रिप्ट पूरै चेन्ज भयो । मैले पनि राम्रै रोल भेट्टाएँ,’ उनी भन्छन्न ‘लोफरको त्यही बले पात्रले मलाई हास्य अभिनेताका रूपमा पाइला टेकाएको हो ।’ लोफरबाट बले यति मन पराइए कि उनलाई कुमार कट्टेल (जिक्री), अर्जुन घिमिरे (पाँडे) र क्रक्रोच (हरि निरौला)ले भद्रगोलमा बलेकै रूपमा प्रवेश गराए । ‘उहाँहरूले लोफर हेरेर मेरो अभिनयबाट प्रभावित हुनुभएको रहेछ,’ उनी भन्छन, ‘मलाई भद्रगोलका लागि अफर गर्नुभयो । दुई साता त्यत्तिकै बित्यो । १८औँ भागदेखि मात्र मेरो प्रवेश भएको हो ।’ भद्रगोलको बलेलाई टेलिभिजनका दर्शकले निकै मन पराएपछि अहिलेसम्म उनी निरन्तर छन् । लोफरपछि छविराजकै ‘लज्जा’ फिल्ममा अभिनय गरेका उनलाई थुप्रै फिल्मबाट अफर आएकाछन् । नयाँ पत्रिका
Bale Sagar Lamsal