रियो ओलम्पिकको मार्चपासमा फुपुल्हामुले नेपाली झन्डा बोक्ने
साउन १६ । रियो ओलम्पिकको मार्चपासमा जुडोकी फुपुल्हामु खत्रीले नेपालको झन्डा बोक्ने भएकी छन् । उनले ६ महिनाअघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन् । जुडोमा नेपाललाई सागको स्वर्ण दिलाउने उनी पहिलो महिला हुन् ।
‘खेलजीवनमा अनुभव प्राप्त र सागमा स्वर्ण पदक जितेका कारण फुपुल्हामुलाई झन्डा बोक्न दिने निर्णय नेपाल ओलम्पिक कमिटी (एनओसी)ले गरेको हो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘एनओसीको कार्यसमिति बैठकले यो निर्णय लिएको हो ।’
अगस्ट ५ बाट ब्राजिलको रियो दी जेनेरियामा रियो ओलम्पिक सुरु हुँदैछ ।
तीन सञ्चारकर्मी बाहेक रियो ओलम्पिकमा नेपाली खेलाडी, प्रशिक्षक, अफिसियल र पदाधिकारी गरी २७ जनाको सहभागिता रहनेछ । त्यसमा ७ खेलाडी र ५ प्रशिक्षक छन् । नेपाली ओलम्पिक टोलीले पहिलोपटक प्रायोजक पाएको छ । ग्लोबल आइएमई बैंकले ओलम्पिक टोलीलाई १० लाख रुपैयाँको प्रायोजन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
विगतमा ओलम्पिकमा भाग लिँदा तीतामीठा अनुभव रहे पनि यसपटक त्यस्तो केही समस्या नभएको सातदोबाटोस्थित एनओसी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने । कर्पोरेट हाउसबाट पनि सहयोग जुटेको छ । भविष्यमा पनि यस्ता सहयोगले निरन्तरता पाउने विश्वास श्रेष्ठले लिएका छन् ।
कार्यक्रममा एनओसीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानले नेपाली टोलीलाई शुभकामना दिए । प्रायोजन ल्याउन सफल भएकोमा उनले एनओसीलाई धन्यवादसमेत व्यक्त गरे ।
judo
nepali sports
phupulahmu khatri