देश

बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध

बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध
साउन - १७ । म्याग्दीको पश्चिमी क्षेत्रका २० भन्दा बढी गाविसलाई सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध छ । बेनी नगरपालिका–१३ स्थित फापरखेत र बाबियाचौर–५ लाम्पाटामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण सिधा सवारी सञ्चालन नहुँदा यातायात सेवाका साथै ढुवानीमा समस्या भएको छ । सडक डिभिजन कार्यालयले मर्मतका लागि बेवास्ता गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले बताए । समितिले यसअघि एकपटक मर्मत गरेर सडक खुलाएको केही दिनमै पुनः अवरुद्ध भएको थियो । यसअघिका वर्षमा जिविसले मर्मतसम्भार गर्दै आएको बेनी–दरवाङ सडक गत आवमा सडक विभागलाई हस्तान्तरण भएको थियो । बागलुङस्थित सडक डिभिजनले बेनी–जोमसोम सडकलाई मात्रै प्राथमिकता दिएको र बेनी–दरवाङ सडकको पहिरो पन्छाउन ध्यान नदिएकाले सर्वसाधारणले गुनासो गर्न थालेका स्थानीय विकास अधिकारी चिरिञ्जवी पौडेलले बताए । सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर नारायण पौडेलले उपकरण नहुँदा समस्या रहेकाे जानकारी दिए । डिभिजनसँग भएका तीनवटा डोजरमध्ये एकवटा बेनी–मालढुङ्गा, अर्को बेनी जोमसोम र एउटा बागलुङ–बुर्तिवाङ सडक मर्मतमा परिचालन भएको छ । दिनहुँजसो पहिरो खसेर अवरुद्ध हुने मालढुङ्गा–बेनी सडक मर्मतका लागि राखिएको डोजर लगेर केही दिनभित्रै बेनी–दरवाङ सडक मर्मत गर्ने इञ्जिनियर पौडेलले बताए । उनका अनुसार म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खुलाउन मर्मत कार्य जारी छ । चमेरे, बैसरी, काभ्रे र घाँसा क्षेत्रमा दुईवटा डोजर परिचालन गरेर मर्मत कार्यलाई तीव्र पारिएको इञ्जिनियर पौडेलले बताए । निरन्तरको वर्षा, हिलो र पहिरो खसिरहने भएकाले मर्मतमा समस्या भएको छ । रासस

Baglung Beni Darbang

विशेष