समाज

पहिलो पटक प्रतिस्पर्धाबाट ‘टेलिकम प्रमुख’ छनोट

पहिलो पटक प्रतिस्पर्धाबाट ‘टेलिकम प्रमुख’ छनोट
nepal_telecomसाउन – १७ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि कम्पनीले प्रतिस्पर्धात्मक प्रणालीबाट प्रस्ताव आह्वान गरिएको आइतबार अन्तिम दिन हो । टेलिकम भित्रबाट ९ सहित १३ जनाले आवेदन दिएका छन् । पहिलो पटक प्रतिस्पर्धाबाट टेलिकम प्रमुख छनोटका लागि बनेको सिफारिस समितिका संयोजक एवं सूचना तथा सञ्चारसचिव दिनेशकुमार थपलियाले भने, ‘आवेदकको प्रस्ताव हेरेर हामी ६ जनाको छोटो सूची प्रकाशित गर्ने छौं ।’ छोटो सूचीमा परेकासँगसमितिले अन्तर्वार्ता लिने छ । त्यसपछि ती मध्ये तीन जनाको नाम समितिले मन्त्रिपरिषद्मा पठाउने छ । सिफारिस समितिले गत असार असार २५ मा २१ दिने म्यादसहित टेलिकम प्रमुखका लागि आवेदन आह्वान गरेको थियो । वर्तमान प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको कार्यकाल आगामी भदौ २० मा सकिने भएकाले सरकारले नयाँ प्रबन्ध निर्देशकको खोजी सुरु गरेको हो । नयाँ व्यवस्थाअनुसार टेलिकम वा टेलिकमजस्तै सेवा प्रदायकमा पूर्ण एवं आंशिक स्वामित्वको जुनसुकै सरकारी संस्थानको अधिकृत स्तरमा कम्तीमा १५ वर्ष काम गरेको नागरिकले आवेदन दिन पाउने छन् । ४० वर्ष पूरा भई ५८ वर्ष ननाघेको र वाणिज्य, विकास, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, सूचना प्रविधि, कानुन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर गरेको नेपाली नागरिकले आवेदन दिन सक्ने मापदण्ड सरकारले बनाएको हो । प्रतिस्पर्धामा सहभागी टेलिकमको अधिकृत स्तरका कर्मचारीले अतिरिक्त ३ नम्बर पाउने छन् । टेलिकमको प्रबन्ध निर्देशकले मासिक २ लाख रुपैयाँ पारिश्रमिक पाउने छन् । यसका अतिरिक्त सवारी, इन्धन, आवासलगायत भत्ता पनि पाउने छन् । पहिलो पटकका लागि सरकारले तीनवर्षे कार्यकाल तोक्ने छ । तर, प्रबन्ध निर्देशकको कार्य सन्तोषजनक भएमा सरकारले थप दुई वर्षका लागि म्याद थप्न सक्ने छ । यसका लागि कम्पनीको सञ्चालक समितिले कार्यमूल्यांकन सिफारिस गर्नुपर्ने छ ।

nepal telecome

विशेष