कारागार कार्यालय शौचालयविहीन
साउन १८ । महोत्तरी र धनुषा जिल्लाका संयुक्त जेल रहेको जलेश्वर कारागार कार्यालयमा शौचालय नै नरहेको पाइएका छ ।
जलेश्वर कारागारभित्र रहेका ३८० कैदीबन्दीका लागि शौचालय रहे पनि सो कारागारको दैनिक क्रियाकलाप सञ्चालन गर्ने प्रशासन अर्थात् कार्यालयमा शौचालय नरहेको जेलर शोभेन्द्र ठाकुरले बताए । दुई महिलासहित १५ जना कर्मचारी रहेको सो कार्यालयमा शौचालय नहुँदा त्यहाँका कर्मचारी छेउमै रहेको जिल्ला अदालत र कारागार कार्यालयबाहिर रहेको सार्वजनिक शौचालय प्रयोग गर्न बाध्य भएका छन् ।
त्यस्तै, कारागार सुरक्षाका लागि मधेस आन्दोलनकै बेलादेखि त्यहाँ खटिएका ५० जना नेपाली सेना र सात जना नेपाल प्रहरी जवानलाई पनि शौचालयको अभावमा बाहिरै गएर दिसापिसाब गर्नुपरेको देखिएको छ । कारागार कार्यालयमा शौचालय नरहेको बारे कार्यालय प्रमुख ठाकुरले पटकपटक विभागमा भनिएको तर बजेट अभावका कारण भन्दै रकम प्राप्त नहुँदा आफ्नै शौचालय निर्माण गर्न नसकिएको र आफूहरु लाजै पचाएर पनि अरु कार्यालयको तथा सार्वजनिक शौचालय प्रयोग गर्न बाध्य भएको बताए ।
यसका अलावा कारागारभित्र पनि कैदीबन्दीको संख्याअनुसार पर्याप्त शौचालय, चापाकल, धारा नरहेको कारागार कार्यालय महोत्तरीका प्रशासन शाखा प्रमुख मकसुधन महासेठले बताए ।