नेपाली पहिलाे ओलम्पिकका निर्णायक दिपक थापाकाे ११ वर्षे संघर्ष
साउन–१८ । ब्राजिलस्थित रियो दि जानेरियोमा ओलम्पिक २०१६ सुरु हुन लागेको छ । आयोजक स्थानको नाममा यस ओलम्पिकलाई ‘रियो २०१६’ को नाम दिइएको छ । यस वर्षको ओलम्पिक ५ देखि २१ अगस्टसम्म विभिन्न खेलको आयोजना हुने छन् ।
विभिन्न राष्ट्रबाट कैयौँ खेलाडीहरु आ–आफ्नो खेलमा पदक हासिल गर्न र आफ्नो रेकर्ड बनाउन यस समारोहको पर्खाइमा रहन्छन् । यस समारोहमा करिब २८ प्रकारका खेलका कैयौँ प्रतियोगीहरु भाग लिने गर्छन् ।
हामीले खेलाडीहरुको बारेमा थोरै जानकारी भए पनि पाएकै हुन्छौँ । तर खेलाडी साथ–साथै यहाँ आइपुग्न निर्णायकले पनि निकै मेहनत गर्नु पर्छ । पक्कै पनि यस अन्तर्राष्ट्रिय खेल समारोहमा खेलाडीको रुपमा वा निर्णायकको रुपमा आउन निकै मिहिनेत र धैर्यता चाहिन्छ ।
नेपालबाट पनि ७ जना भिन्दा भिन्दै खेलका खेलाडीहरु रियो ओलम्पिक २०१६ मा ५ प्रशिक्षकका साथ भाग लिन पुगेका छन् ।
तर, यसपालि खेलाडीले मात्र यस समारोहमा भाग नलिइ नेपाली निर्णायक समेत खेलमा रहन भएका छन् । ओलम्पिकमा दीपक थापाले ब्याडमिन्डनका लागि निर्णायकको भूमिका निभाउने अवसर पाएका छन् ।
-----------------------
दीपक थापा आफ्नो उमेर कालमा अन्तरस्कुल ब्याडमिन्टनमा च्याम्पियन भएका थिए । पछि उनले खुला प्रतियोगिता पनि जिते । ब्याडमिन्टन विश्व महासंघ (बीडब्लूएफ) को म्यागजिनमा नेपालको उदयमान खेलाडीका रूपमा उनको प्रोफाइल नै छापिएको थियो ।
रामजीबहादुर श्रेष्ठ, सुदीप योञ्जन, प्रकाश राणा, नवीनविक्रम शाहको जगजगी भएका बेला उनको ‘स्टार’ बन्ने सम्भावना बढ्दै थियो । तर, प्रतियोगिता कम हुने कारण उनले त्यति अवसर पाएनन् । त्यसमा पनि सिनियरहरूले आफ्नो उमेर घटाएर जुनियरको प्रतिस्पर्धामा खेल्ने गर्थे । उनलाई घरबाट पनि खेल छाड्न दबाब बढ्दै थियो । यसमा उनको चित्त दुखेको थियो ।
जुनियरको दक्षिण एसियाली च्याम्पियनसिप खेल्न बैंग्लोर पुगे तर त्यहाँ भने दोस्रो चरणमै पराजित भए । उनले उच्च शिक्षा अध्ययनको गन्तव्य बैंग्लोर बनाए । ब्याडमिन्टनकै माध्यमबाट बैंग्लोर विश्वविद्यालयमा भर्ना भएका उनी आफ्नो पढाइमा केन्द्रित रहे । निरन्तर खेलाडी भने बनेनन् ।
उनले बैंग्लोरमा स्नातक गरेर स्वदेश फर्किए पछि पाटन क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे । तर, उनले आफ्नो खेल ब्याडमिन्टनलाई चटक्कै छाड्न सकेनन् । -याकेट छोडेर उनी अम्पायरमा परिणत भए । १३ वर्षअघि स्थानीय प्रतियोगिताबाट निर्णायक बनेका उनको यात्रा अर्को साता ओलम्पिकसम्म पुग्दैछ ।
-----------------------
ब्याडमिन्टन एसिया (महादेशीय संघ) को परीक्षा उत्तीर्ण गर्दै रिजनल (क्षेत्रीय), जुनियर तहको एसियाली अम्पायर हुँदै चैतमा उनी सिनियर स्तरको एसियाली अम्पायर भए । ब्याडमिन्टन एसियाको सिफारिसअनुसार उनलाई बीडब्लूएफले ‘लाइन जज’को सूचीमा राख्यो । त्यसैले ओलम्पिकको लाइन जजमा मनोनयन गर्दै बीडब्लूएफले उनलाई ब्राजिल यात्राको निम्तो दिएको हो ।
ओलम्पिकमा निर्णायक बन्ने अवसर पाउने सम्भवतः उनी पहिलो नेपाली हुन् । उनी हाल ३९ वर्षका छन् । देशको प्रतिनिधित्व रहने ओलम्पिकमा निर्णायकका रूपमा मनोनयन भएका दीपकले यसलाई राम्रो अवसरका रूपमा लिएका छन् । जुन नेपाली ब्याडमिन्टनको स्तरवृद्धि गर्न सहयोगी हुनसक्छ ।
एक खेलमा एक अम्पायर, एक सर्भिस जज र १० लाइन जज हुन्छन् । बीडब्लूएफले २४ अम्पायर, ३० लाइन जजसहित ६० निर्णायक रियो ओलम्पिकका लागि छनोट गरेको छ । त्यस मध्येका एक हुन् दिपक थापा । उनी बीडब्लूएफमा जाने क्षमता भएका अम्पायर हुन् ।
-----------------
सन् २००५ मा सिनियर स्तरका अम्पायर बनेका श्रेष्ठले ओलम्पिक खेल्न र खेलाउन पाउनु हिन्दूका लागि चारधाम गए जस्तै भएकाे बताउँछन् । उनले यो देशका लागि पनि राम्रो मौका र भविष्यमा अरूलाई पनि अवसर सिर्जना गर्न सक्ने मान्छन् । यसले नेपाली खेल क्षेत्रमा उत्साह जगाउने उनकाे भनाइ छ ।
नेपाली ब्याडमिन्टनमा एकेडेमी, छात्रवृत्ति, सटल टाइम कनेक्सन (पहिलो खेल ब्याडमिन्टन) र कर्पोरेट खेलको अभियन्ता नै हुन्, दीपक । नेपाल ब्याडमिन्टन संघको केन्द्रीय सदस्य र काठमाडौं जिल्ला अध्यक्षसमेत रहेका उनी रोटरी क्लबमा पनि सक्रिय छन् । सधैँ व्यस्त देखिने उनी तालिका मिलाएर काम गर्दा गाह्रो नहुने बताउँछन् ।
बंगलादेश इन्टरनेसनल च्यालेन्ज (२०१२) देखि विदेश यात्रा थालेका उनले छोटो अवधीमै आफ्नो क्षमतामा फड्को मारेका हुन् । वल्र्ड टिम च्याम्पियनसिपका रूपमा रहेको सुदिरमान कप २०१५ मा लाइन जज भइसकेका उनी एसियन च्याम्पियनसिप २०१६ र वल्र्ड सुपरसिरिजको इन्डिया ओपन २०१५ मा अम्पायर थिए । ग्राँ प्रि एन्ड ग्राँ प्रि गोल्ड मान्यता प्राप्त भियतनाम ओपन २०१५ र सयेद मोदी इन्टरनेसनल २०१६ मा फाइनलमा पनि उनी नै निर्णायक थिए ।
विश्व वरीयताको शीर्ष दसमा रहेका ६–६ (पुरुष र महिला) खेलाडीको प्रतिस्पर्धामा दीपकले अम्पायरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।
उनले महिलातर्फ पछिल्ला दुईपल्टका विश्व च्याम्पियन स्पेनी क्यारोलिना मारिन, लन्डन ओलम्पिकमा स्वर्णपदक जितेकी चीनकी ली सुरई, वाङ सिजियान, भारतकी साइना नेवहाल, थाइल्यान्डकी रत्चनोक इन्टानोन र जापानकी नाजोमी ओकुहाराको खेलमा पनि अम्पायरको भूमिका निर्वाह गरिसकेका छन् ।
उनका अनुसार खेलाडीले आफ्नो र राष्ट्रका लागि खेल्नुपर्छ । तर अम्पायरको भूमिकामा खेलाडी, दर्शक, प्रायोजकलगायत धेरैलाई मध्यनजरमा राखेर निचोड दिनुपर्छ । अम्पायरका रूपमा अझै माथिल्लोस्तरमा पुग्ने उनको योजना छ । अब बीडब्लूएफको एक्रिडिटेसन (विश्वस्तरको जुनियर) र सर्टिफिकेसन (विश्वस्तरको सिनियर) कोर्स गर्ने लक्ष्य छ । यस लक्ष्यमा अवसर मिले चार वर्ष भित्र सक्काउने उनको योजना छ ।
उनको यही कडा मेहनत र लगावले आज उनी यहाँसम्म पुग्न सफल भएका हुन् । उनको यस सफलता व्यक्तिगत मात्र नभई राष्ट्रको र ब्याडमिन्टनको स्तरवृद्धिमा ठुलो भूमिका खेल्न छ । साथै खेलकुद प्रमीहरुलाई एक हौसला र उत्साह जगाउने माध्यम बन्न सक्छ ।
प्रस्तुतिः विश्व रिमाल (एजेन्सीको सहयोगमा)
Badminton
Deepak Thapa
Olympic
Rio 2016