ताजा खबर

‘आफ्नो स्वाधिनताका लागि नेपालीहरु कसैसँग झुक्दैनन्’ - झलनाथ खनाल

‘आफ्नो स्वाधिनताका लागि नेपालीहरु कसैसँग झुक्दैनन्’ - झलनाथ खनाल
Jhalanath Khanal साउन १८ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपाली स्वाभिमानको सम्मान गर्न भारतलाई आग्रह गरेका छन् । नेपालीलाई भारतको एक इन्च पनि माटो नचाँहिने भन्दै उनले आफूहरुले पनि एक इन्च नछोड्ने बताए । खनालले भने, ‘भारतले एकलौटी रुपमा बनाएका बिभिन्न बाँधले तराईका जनताले दुःख सहनु परेको छ । अहिले तिलाठी बोलेको छ, भोलि झापादेखि कन्चनपुर सबै तिलाठी हुनसक्छ ।’ दशगजा मिचेर बाँध बनाउन खोज्ने भारतीयको तिलाठीबासीले प्रतिरोध गरेका थिए । सो क्रममा भारतीयको आक्रमणबाट नेपालीहरु घाइते भएका थिए । तिलाठी घटनामा घाइते रामनारायण यादव र दुर्गानन्द झालाई राष्ट्रिय स्वाभिमानको लागि युवा अभियान नामक संस्थाले मंगलबार सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै एमाले नेता खनालले भने, ‘आफ्नो स्वाधिनताका लागि नेपालीहरु कसैसँग झुक्दैनन् भन्ने तिलाठीको घटना हो । तिलाठीमा भारतले एकलौटी बाँध बनाएको हो । हामी स्वीकार गर्न तयार छैनौं ।’ नवलपरासीको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत भारतले सीमा मिचेका नेपाली भूमिको नाम लिँदै खनालले तिलाठी घटनाबाट नेपाल र भारतले पाठ सिक्नुपर्ने धारणा राखे । ‘तिलाठीले भारत र नेपाल सरकारलाई पाठ सिकाएको छ । जनता उत्रिए भने कुनै पनि गलत काम स्वीकार्य हुन सक्दैन भन्ने यो गतिलो पाठ हो,’ खनालले भने । विगतका सरकारले सीमा विवाद सुल्झाउन नसके पनि आगामी सरकारले त्यसलाई सुल्झाउनुपर्नेमा खनालले जोड दिए । ‘स्पष्ट सीमाना अंकित गर्न हाम्रो सरकारले सकेको छैन, म पनि प्रधानमन्त्री भएँ तर समय पाइँन,’ खनालले भने, ‘अहिले पनि एमालेकै सरकार छ, यसले पनि सकेन । तर भोलिको सरकारले सीमा अंकित गर्नैपर्छ ।’

Jhalanath Khanal samman karyakram

विशेष