किन बन्द छन् धेरै विमानस्थल ?
साउन - १९ । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती यथावत् छन् । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन ।
भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न सकेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार मुलुकभर कुल ५६ विमानस्थलमध्ये ३३ वटा सञ्चालनमा छन् भने १७ वटा बन्द रहेका छन् । छ वटा निर्माणधीन छन् ।
सोलुखुम्बुमा सबैभन्दा बढी चारवटा र खोटाङमा तीनवटा विमानस्थल छन् । काठमाडौँसहित २६ वटा विमानस्थल कलोपत्रे ९पक्की० गरिएका (पक्की) छन् । काठमाडौँपछि पोखरा विमानस्थल सुविधा सम्पन्न मानिन्छ । भोजपुर, कांँगेलडाँडालगायत कालोपत्रे गर्ने क्रममा छन् ।
वर्षातमा तीन महिना बन्द
मुलुकभित्र सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमध्ये वर्षातको समयमा पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुन्छन् । क्यानका अनुसार ताप्लेजुङ, लामिडाँडा, कांगेलडाँडा, थामखर्क, दाङ, मनाङ, मेघौलीलगायतका विमानस्थल बर्सेनि वर्षातको समयमा बन्द हुन्छन् भने अन्य केही विमानस्थलमा अवरोध हुने गरेको छ ।
वर्षातको समयमा पहिरो, बाढीका कारण सडकमार्ग अवरुद्ध हुने र गन्तव्यमा पुग्ने यात्रुलाई समस्या पर्ने हुँदा हवाई यातायात छिटो र छरितो मानिन्छ । मौसम प्रतिकुलताका कारण पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुनेगरेको क्यानका आन्तरिक विमानस्थल र सहजीकरण विभागका प्रमुख सुधीरकुमार श्रेष्ठले बताउनुभयो । असार १५ गतेदेखि भदौ १५ गतेसम्म हवाइ सेवा अवरुद्ध हुने गरेको छ ।
दशकौँ अघि उडान सुरु गरेका (हाल बन्द विमानस्थल) एयरलाइन्सले उडान नराखेका कारण बन्द रहेको क्यानको भनाइ छ । यिमध्ये सबैभन्दा लामो सन् १९६० देखि सप्तरीको राजविराज र गोरखाको पालुङटार बन्द छन् । क्यानका प्रवक्ता देवेन्द्र केसीले सम्भव भएसम्म क्रमशः उडानयोग्य सबै विमानस्थल कालोपत्रे गर्ने योजनाअन्तर्गत प्राथमिकतामा काम अघि बढाइएको बताए ।
सरकारको तर्फबाट साझेदारीका साथ लगानी गर्न चालु आवको प्रस्तावित बजेटमा करिब रु १९ अर्ब बजेट विनियोजन भएको र क्यानले पनि बजेट थपेर विमानस्थलको निर्माण, मर्मत र क्षमता विस्तारका काम अघि बढाइने उनको भनाइ छ । निर्माण प्राथमिकतामा राजविराज र डोटी विमानस्थल छन् । कतिपयको स्तरोन्नति गरिनेछ । पहाडी उडान किन प्रभावित भन्ने प्रश्नमा प्रवक्ता केसीले विमानस्थल कालोपत्रे नभएको र उडानयोग्य (मनाङ, दाङ)लगायत विमानस्थलमा साना विमान नभएकाले पनि उडान बन्द हुने गरेको बताए ।
लामो समयदेखि बन्द रहेका विमानस्थल पनि स्थानीयवासीको माग अनुसार सञ्चालनको प्रयास गरिने उनले बताए । हाल नेपाल एयरलाइन्स बाहेक नौवटा निजी एयरलाइन्सले आन्तरिक उडान भर्दै आएका छन् । विशेष गरी विगतको द्वन्द्व र पछिल्लो लोकतान्त्रिक आन्दोलनका कारण कतिपय विमानस्थलमा भौतिक पूर्वाधारमा भएको क्षतिपश्चात् उडान सञ्चालन हुन नसकेको क्यानले जनाएको छ ।
सडक सञ्जालले पहाडी जिल्लालाई जोडेपनि क्रमशः विमानमा यात्रा गर्ने यात्रुमा कमी आउनु, वायुसेवा कम्पनीले उडान नगर्नु तथा वायुसेवा कम्पनीसँग पहाडी जिल्लामा उडान गर्ने जहाजको कमीका कारण समस्या आएको हो । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि हाल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयले जनाएको छ ।
घाटामै आन्तरिक विमानस्थल
आर्थिक हिसावले आन्तरिक विमानस्थल सबैजसो घाटामा रहेको बताइन्छ । विराटनगर, भैरहवा, पोखरा र नेपालगञ्ज मात्र सञ्चालनयोग्य रहेका छन् । पर्यटकीय दृष्टिकोणले करोडौँ खर्चेर बनाइएका विमानस्थल पनि पूर्णरुपमा सञ्चालन नहुँदा थप घाटा पुगेको छ ।
“करोड खर्च गरेर विमानस्थल कालोपत्रे गरियो तर प्रतिफल राम्रो छैन, पर्यटलाई लक्ष्यित गरेर बनाइएका विमानस्थल पनि चलेका छैनन, साना जहाज प्रर्याप्त नहुनुले पनि उडान हुनसकेको छैन,”–प्रवक्ता केसीले भने । अहिले रारा, मुगु, डोल्पा, सिमिकोट आदि विमानस्थल प्रभावकारी रुपमा सञ्चालनमा छैनन् । एउटा विमानस्थल कालोपत्रे गर्न कम्तीमा रु १५ करोड लाग्छ । विमानस्थलमा कतिखर्च हुन्छ भन्ने यकिन छैन, क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । रासस
nepal airport