विचार

दोहोर्याएर कार्यकारी प्रमुखमा दाहाल, सहज छैनन् आगामी दिनहरु

दोहोर्याएर कार्यकारी प्रमुखमा दाहाल, सहज छैनन् आगामी दिनहरु
prachanda-mala साउन - १९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ साउन ३१ गते पहिलोपटक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् राजनीतिक आरोहअवरोह पार गर्दै अध्यक्ष दाहाल मुलुकको कार्यकारी प्रमुखको बागडोर सम्हाल्न अाइपुगेका छन् । राजनीति सम्भावनाको खेल हो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट बाहिरिएपछि संसद्को पहिलो ठूलो दल काँग्रेसलगायतका पार्टीको समर्थनमा संविधान कार्यान्वयन, शान्ति प्रक्रियालाई पूर्णता, भूकम्पपछिको पुनःनिर्माण, संविधान निर्माण प्रक्रियालगायतका विषयमा असन्तुष्टि दर्ज गर्दै आन्दोलनमा रहेका मधेस केन्द्रित दललगायतका विशिष्ठ कार्यभार पूरा गर्ने लक्ष्यसहित अध्यक्ष दाहाल उहाँको राजनीतिक जीवनमा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालको जन्म विसं २०११ मङ्सिर २६ गते कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिएका थिए । विसं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी २०२७–२०२९ सालमा पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरे । २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गर्नु भई एमपीएको समेत अध्ययन गर्नुभएको दाहाल आफूलाई दाहालको नाममा चिनाउन चाहन्छन् । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक एजेन्डालगायत नयाँ संविधानले स्थापित गरेका मूल्य र मान्यतालाई दश वर्षे जनयुद्ध र जनआन्दोलनको माध्यमबाट स्थापित गराउन प्रमुख भूमिका खेल्नुभएका दाहाल मुलुकलाई अगाडि बढाउन जोखिम समेत मोल्नुपर्छ भन्ने आँट गर्ने नेता हुन् । कक्षा १० मा पढ्दा पिताले राखिदिएको छविलाल हुँदै पुष्पकमल, कल्याण, विश्वास, निर्माण र प्रचण्ड नामबाट राजनीतिका खुला मोर्चा हुन् वा भूमिगत काल नै किन नहोस् परिचित छन् । दश वर्षे जनयुद्धलाई शान्ति प्रक्रियाको माध्यमबाट सहजरुपमा अवतरण गराउनु भएका दाहाल कुनै समय स्वदेशी तथा विदेशी एवम् स्वयम् पार्टी कार्यकर्तालाई समेत एउटा मिथक जस्तो नाम थियो । धेरै मान्छेलाई पत्यार नलाग्ने त्यही मान्छे बुधबार दोस्रोपटक मुलुकको कार्यकारी प्रमुख बन्न सफल भएको छ । विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँ सर्नुभएका दाहालको २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उनका तीन छोरी र एक छोरा छन् । नारायणी विद्या मन्दिर मावि शिवनगर, डण्डा मावि नवलपरासी र भीमोदय मावि आरुघाट गोरखामा २०३३ देखि २०३५ सालसम्म अध्यापन गरी २०३२ सालमा युएसएडमा समेत केही समय सेवा गरेका थिए । विसं २०२८ मा नेपाल कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका अध्यक्ष दाहालले रामबहादुर थापा, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए । विसं २०३४ मा तत्कालीन चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालदेखि पूर्णकालीन कार्यकर्ताको रुपमा क्रियाशील भए । २०३६ सालमा चितवन जिल्ला समिति सदस्य, २०३८ सालमा पार्टीको क्षेत्रीय ब्युरो सदस्य एवम् अखिल नेपाल युवक सङ्घको महासचिव भई २०४० सालमा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए । विसं २०४१ मा नेकपा (मसाल)को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई २०४२ मा पोलिटब्युरो सदस्य भएका अध्यक्ष दाहाल सेक्टर काण्डपछि पार्टीको महामन्त्रीमा निर्वाचित भए । तत्कालीन अध्यक्ष मोहन वैद्यको सिफारिसमा अध्यक्ष दाहाल पार्टीको कार्यकारी पदमा निर्वाचित भएका थिए । २०४६ सालपछि पार्टीको सर्वोच्च निकायमा रहेका काम गर्दै आउनुभएका अध्यक्ष दाहाल २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र)को नाम परिवर्तन गरी नेकपा (माओवादी) स्थापना गरी २०५२ फागुन १ बाट सशस्त्र जनयुद्धको नेतृत्व गरे । संयोग पनि कस्तो परेको छ भने २०५२ सालमा माग राख्दै सिंहदरबार पुगेको तत्कालीन जनमोर्चा नेपालका नेता प्रधानमन्त्रीमा र त्यसबेला समेत प्रधानमन्त्री रहनुभएका शेरबहादुर देउवा उनका समर्थक रहेका छन् । इतिहासले यस्ता अवसर नेपाली राजनीतिलाई जुटाइदिएको छ । जुन एउटा नयाँ अवसर पनि हो नेपाली इतिहासका लागि । विसं २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी)का अध्यक्ष बनेका दाहाल, विसं २०५८ मा तत्कालीन माओवादी सेनाको सर्वोच्च कमाण्डर समेत बने। कास्कीको सिकलेसबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हेलिकोप्टरमा राखेर बालुवाटार ल्याएपछि अध्यक्ष दाहाल २०६३ साल असार २ गते खुला राजनीतिक जीवनमा अाए। विसं २०६९ मा हेटौँडामा सम्पन्न महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित, २०७० सालमा विराटनगरमा सम्पन्न एकताका महाधिवेशनबाट पुनः अध्यक्ष र गत जेठमा विभिन्न दशवटा माओवादी घटकबीच भएको एकतापछि पनि उनी नै नेकपा (माओवादी केन्द्र)को अध्यक्षको रुपमा रहँदै अाएका छन्। मुलुकको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीपछि दोस्रो पटक कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने केही भाग्यमानी नेतामध्ये अध्यक्ष दाहाल एक हुन् । झलनाथ खनाल, माधव नेपाल, हाल माओवादी परित्याग गरेका डा बाबुराम भट्टराई र केपी शर्मा ओलीपछि अध्यक्ष दाहाल मात्रै दोस्रोपटक कार्यकारी प्रमुखको रुपमा सिंहदरबारको यात्रामा निस्कनु हुन्। विसं २०६४ को पहिलो संविधानसभामा काठमाडौँ क्षेत्र नं १० र रोल्पा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका अध्यक्ष दाहाल २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा भने सिराहा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए। अध्यक्ष दाहालको नेपाली क्रान्तिका समस्या (भाग १ २ र ३) संस्कृति, कला र सौन्दर्य चिन्तन, दाहालका छानिएका रचना (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनालगायतका पुस्तक प्रकाशित छन् । संविधानसभाको पहिलो निर्वाचनपछि झन्डै बहुमतमा रहेको नेकपा (माओवादी) र त्यसका अध्यक्षको रुमपा प्रधामनन्त्री बनेका दाहाल विवादास्पद प्रधानसेनापति रुक्माङ्गद कटुवाललाई गरिएको कारबाही तत्कालीन राष्ट्रपति डा रामवरण यादवले फिर्ता लिएपछि नैतिकताको आधारमा राजीनामा दिएर कार्यकालको नौ महिनामा नै फिर्ता भएका थिए । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमति र त्यसैको आलोकमा निर्माण भएको वर्तमान गठबन्धनले पालैपालो नौ नौ महिना सरकार चलाउने र मुलुकका सामु रहेका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । तर नवनिर्वाचित प्रधानमन्त्री दाहालका सामु अवसर र चुनौती दुवै छ । अघिल्लो सरकारले सुरु गरेका केही राम्रा कामलाई अगाडि बढाउँदै मुलुकलाई थप गति दिनु उनको पहिलो कर्तव्य हुनेछ । २०७४ माघ अगावै स्थानीय, प्रान्तिय र केन्द्रीय तीन वटा निर्वाचन गर्दै संविधानको सहज कार्यान्वयन गर्नेतर्फ सरकार र त्यसको नेताको हैसियतमा नवनिर्वाचित प्रधानमन्त्री दाहाल लागेकाे खण्डमा नेपाली इतिहासमा उनको नाम स्वर्ण अक्षरमा लेखिनेछ । त्यसका लागि आजैबाट प्रमुख प्रतिपक्षीमा पुगेको नेकपा (एमाले)लगायतका दलसँग सरकारको सम्बन्ध र त्यसले पार्ने प्रभावले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । रासस

Prachanda Puspakamal Dahal

विशेष