देश

शिलान्यास गरेकाे १६ वर्षपछि पशुपतिमा धर्मशाला निर्माण सुरु

शिलान्यास गरेकाे १६ वर्षपछि पशुपतिमा धर्मशाला निर्माण सुरु
pasupati साउन - १९ । शिलान्यास भएको १६ वर्षसम्म पनि बन्न नसकेको नेपाल–भारत पशुपति मैत्री धर्मशालाको निर्माण कार्य सुरु भएको छ । तीनतारे होटलको सुविधा हुने गरी निर्माण गर्न लागिएको धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला निर्माणपछि नेपाल–भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सकिने कोषका सदस्य सचिव डा गोविन्द टन्डनले राससलाई जानकारी दिए । “तिलगङ्गा आँखा अस्पतालको दक्षिण–पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण हुने धर्मशालामा तीन चोक, तीन तला र ५९ कोठा हुनेछ, चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइने छ, धर्मशालामा ४०० तीर्थयात्री बस्न सक्नेछन्” – उनले भने। धर्मशालाको निर्माणपछि निम्न वर्ग र निम्न मध्यम वर्गका यात्री पनि बस्न सक्ने गरी सहुलियतको व्यवस्था गरिने कोषले जनाएको छ । धर्मशालाको निर्माणपछि नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विसं २०५८ देखि विभिन्न व्यक्तित्वले चार पटक धर्मशालाको शिलान्यास गर्नुभएको थियो जसमा शङ्कराचार्य जयेन्द्र सरस्वती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष बेनीबहादुर कार्की पनि थिए। विसं २०७४ पुसमा निर्माण सम्पन्न हुने धर्मशालाको ठेक्का रमण÷लामा जेभीले पाएको छ । नेपाली शैलीमा निर्माण हुने धर्मशालामा मल्लकालीन रातो इँटा ‘दाचि अपा’ को प्रयोग गरिने कोषले जनाएको छ । यसपटक भने नेपालका लागि भारतीय राजदूत रणजीत रायले पनि निर्माण कार्यमा चासो लिइरहेकाे बताइन्छ । रासस

Dharma Shala Pashupati

विशेष