कम्मरभन्दा मुनिको हर चल्दैन, तर पनि केही छैन !
रुपन्देही सालझन्डीका हिमाल अर्याल पेशाले सैनिक हुन् । चिटिक्क मिलेको कसिलो जिऊंडालका कारण उनलाई सानैदेखि सबैले भर्ती हुंन लायकको भन्थे । त्यसैले पनि भर्तीप्रति उनको भिन्दै छाप परेको थियो । उमेर बढ्दै जाँदा उनको आर्कषण सेनामा बढ्दै गयो । हरेक हिसावले फिट उनलाई सेनाले नलिने कुरै भएन ।
माओवादी युद्धको राप र ताप राजधानी वरपरका क्षेत्रमा केन्द्रीत हुंदै थियो । ढाडमा टेकेर टाउकामा हान्ने रणनीति माओवादीले सार्वजनिक गरेको थियो । काठमाडौं वरपरका जिल्लामा भीषण कारवाही गर्ने र काठमाडौंलाई अत्याउने माओवादीको योजना थियो । त्यसैले सेनाको रेकी आसपासका जिल्लामा तीब्र बनेको थियो ।
हिमालको अफयर्स उत्कर्समा पुगेको थियो । साँझ विहान उनी इन्दिरा तामाङसँग प्रेम संवाद गर्थे । अघिपछि युद्ध मोर्चामा खटिन्थे । युद्ध र प्रेमका बीचमा हिमालको सैनिक यात्रा उकालो लाग्दै थियो । २०६० साल कात्तिक २९ गते उनीसहितको सैनिक टोली मकवानपुरको पान्राङमा खटिएको थियो । जुनसुकै बेला जे सुकै हुंने परिश्थिति थियो त्यो । उनी चढेको ट्रक माओवादीले थापेको विद्युतिय धराप अर्थात एम्बुसमा पर्यो । सक्त घाइते हिमाललाई सैनिक हेलिकप्टरबाट काठमाडौं छाउनीस्थित सैनिक अस्पताल ल्याइयो । एम्बुसमा परेका उनको ढांड भाचिएको थियो । उनको अप्रेशन सफल हुन सकेन । कम्मर मुनिको भाग सदाका लागि हल न चल भयो ।
शोकको त्यो घडी र प्रेमको त्यो घडा
हिमाल मृत्यु रोजेरै राइफल भिर्ने पेशामा लागेका थिए । त्यसैले उनका लागि माओवादी आक्रमण अप्रत्यासित थिएन । तर, जीबनमा त्यस्तो नियतिपनि भोगिएला भन्ने रत्तिभर थिएन । कम्मर मुनिको हर नचल्ने भएपछि उनी हिडडुल गर्न नसक्ने भए । उनि बाँचेरपनि मरेतुल्य अवश्थामा पुगेका थिए । उनलाई भेट्न आउनेहरुका आँखा रसाउंथे । पहिलाको त्यो जिऊडाल भन्दै चुक्चुकाउने गर्दथे । यस्तो तुलनाले उनलाई झनै दुःखी बनाउंथ्यो । अस्पतालको शैष्यामा उनले घरपरिवारबाहेक इन्दिरा तामाङलाई खुबै याद गरे । उत्कर्षमा पुगेको प्रेमले वैवाहिक रुप धारण नगर्दै उनको हर नचल्ने भयो । उनका हजार सपना टुटेका थिए । उनी बेलाबेला गहभरी आशु पार्थे । उनको आँशु पुछ्ने गरी इन्दिरा उदाइन् । उनले प्रेमभन्दा ठूलो आफ्ना लागि केही नभएको अड्डी लिइन् । इन्दिरा र हिमालको लगन कसियो । एउटा व्यक्तिको मायाले कति फरक पार्दोरहेछ भनेर नारायणगोपालले त्यसै गाएका रहेनछन् । हिमालको जीबनमा पनि आमूल परिवर्तन आयो । संकटलाई सृजनामा बदल्ने अठोट हिमालको मनमा ज्वाराभाटा जस्तै मडारिन थाल्यो ।
नयाँ अध्याय
कम्मर मुनिको भागमा छोएको पनि हिमालले थाहा पाउँदैनन् । दिशा पिशाबका लागि समेत उनलाई समस्या हुंने गर्दछ । पिशाबका लागि उनको शरीरमा यूरिन व्याग जोडिएकै हुन्छ । १३ बर्षदेखि ह्विल चेयरमा जिन्दगी बिताइरहेका हिमाललाई हरतरहले सहयोग गरेकी छिन् पत्नी इन्दिराले । सेनाका जमदार रहेकका उनका लागि नेपाली सेना वृहत्त परिवारजस्तो बनेको छ । सेनाले उनका लागि एक सहयोगीपनि खटाएको छ । शारीरिकरुपमा असक्त भएपछि उनलाई जीबन आफैंमा बोझपूर्ण लाग्न थालिसकेको थियो । युद्धमा घाइते हुनुभन्दा भ्याट्ट मर्नु भाग्यको कुरा रहेछ, उनको मनमा यस्तै कुरा खेलिरहन्थ्यो । यस्तैमा उनलाई नयाँ सोच आउन थाल्यो । उनले केही नयाँ गर्ने निधो गरे । शरीर स्वश्थ्य राख्नका लागि भएपनि खेलकुद गतिविधिमा लाग्ने अठोट लिए । हिमालले जीबनमा रंग भर्न स्वर र गितारको कक्षा थिए । संगीतमा घोत्लिन थाले । अनेक रागमा मस्त रहदा उनले जीबनको अर्थ बुझे । सकसलाई सृजनामा बदल्न सक्ने उर्जा उनले संगीतमार्फत प्राप्त गरे । उनले सम्भावनाको फराकिलो क्षितिज देख्दै गए । जीबन सग्लो रहंदा जे गरेको भएपनि सामान्य हुथ्यो, अब गर्न सके पो अर्थ रहन्छ भन्ने भाव उनमा पैदा भयो । उनले केही फरक गर्ने अठोट लिए । नेपाली सेनाले विभिन्न कारणले अङ्गभङ्ग भएकाहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाउने गर्दथ्यो । उनको रुची बास्केटबलमा थियो । लक्काजवान उनी पहिले उफ्रिउफ्रि कार्टमा बल छिराउंथे । यसपटक उनि उफ्रन सक्दैनथे । ह्विलचेयर खेलाडीका रुपमा उनि मैदानमा हाजिर थिए ।
शुरुमा त ख्यालख्यालजस्तो लागेको थियो । दुबो चट्टानमा पनि मौलाउन सक्छ भनेझैं उनको प्रतिभा सार्वजनिक हुंदै गयो । उनका लागि पहिचानाको पाटो नै यही बनिदियो । ५ बर्ष यता उनको टिम लगातार राष्ट्रिय च्याम्पियन छ । आर्मीको टिम क्याप्टेन रहेका उनी ह्विलचेयर बास्केटबलका बादशाह दरिएका छन् । उनको कोठाका पर्खाल अहिले पदक र प्रमाणपत्रले सजिएका छन् । शरीर हारेपनि उनले जिन्दगी जितेका छन् । सपाङ्ग हुँदाभन्दा अहिले उनि बढी चिनिएका छन्, गनिएका छन् । गर्व छ उनलाई आफ्नो अपाङ्गता प्रति । बङगलादेश , मलेसिया, इन्डिया र कोरियालगायतका देशमा पुगेर उनले विश्व च्याम्पियनसिपमा सहभागी भइसकेका छन् । इन्डियालाई ह्वीलचेयर बास्केटबलमा ०–७७ को फराकिलो स्कोरले पराजित गराउँदाको क्षण उनको आँखामा झल्झली आइरहन्छ । बास्केटबलमा इतिहास बनाएका हिमाललाई यत्तिले चित्त बुझेको छैन । ह्विलचेयर ताइक्वान्डोको तयारीमा जुटेका हिमाललाई सो खेलमा पनि केही रेकर्ड राख्ने धाको छ ।
हिमालको आग्रह
हिमाल घाइते भएको केही समयपछि माओवादी शान्ति प्रक्रियामा आयो । माओवादीका सुप्रिम कमाण्डर प्रचण्ड दोहोराएर प्रधानमन्त्री भएका छन् । हिमालजस्तै युद्धमा घाइते भएका दुबै पक्षका कैयौं मानिसको बेहाल छ । अचानोको चोट खुकुरीलाई थाहा नभएजस्तो राजनीतिक नेतृत्व युद्ध पीडितप्रति संवेदनशील उन नसकेको उनको बुझाइ छ । अपाङ्गता भएका व्यक्तिलाई दिइने भत्तामा समेत विभेद हुंदा उनको मन कुडिएको छ । हिमाल भन्छन्, ‘भत्ता वितरण र बर्गीकरणमा मनलाग्दी भएको छ । यसको समीक्षा र सुधार आवश्यक छ ।’ हिमालको बिचारमा युद्ध पीडितहरुलाई घरमै खुम्चाएर राख्दा पीडा झनै बल्झिने गर्दछ । उनीहरुका प्रतिभा प्रष्फुटनका लागि अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने उनको सुझाव छ । अतिरिक्त क्रियाकलापले शारीरिक स्फुर्ती बढाउनुका साथै शारीरिकरुपमा असक्तहरुलाई सृजनशील बनाउने उनको विश्वास छ । उनी आफैंपनि यसको उदाहरण हुन् । संगीतबाट शुरु भएको उनको फरक जीबन जिउंने शैली झन्झन् चौडा बन्दै गएको छ । युद्धमा आमनेसामने हुंदा अपाङ्ग भएकाहरुलाई खेलमार्फत जोड्न सकिने हिमालको निश्चल विश्वास छ । युद्ध पीडितको मन नजोडिएसम्म बास्तविक शान्तिको व्यवहारिक रुपमा पुष्टि हुन नसक्ने उनि बताउंछन् । युद्धको रागबाट राजनीतिको उचाईमा पुगेका प्रधानमन्त्री प्रचण्डले हिमालको मर्मस्पर्शी सन्देश सुन्लान् ? अंहम सवाल बनेको छ । प्रस्तुति: कन्चन न्यौपाने तस्विर: गगन थापा
himal aryal ko katha kammar muniko har chaldaena