मनोरञ्जन मुख्य समाचार

भिड्न तयार ‘बीर बिक्रम’

भिड्न तयार ‘बीर बिक्रम’

birbikram-nepalaaja

साउन २० । ‘हँसिया’ चलचित्रको सफलताबाट हौसिएका निर्देशक मिलन चाम्स आफ्नो दोस्रो चलचित्र ‘बीर बिक्रम’बाट पनि आशावादी छन् । यसअघि नाम, दाम र बदनाम कमाएको ‘चपली हाइट’ को सिक्वेल ‘चपली हाइट–२’ सँग मिलनको ‘बीर बिक्रम’ भदौ ३ गते मुलुकभर भिड्दैछ । 

चपली हाइट–२ लाई दर्शकहरुले यौन–रोमान्सको पर्यायको रुपमा बुझेर हलसम्म पुग्ने अनुमान लगाउँन गाह्रो छैन । तर मिलन चाम्सले प्रतिस्पर्धा गर्नुपर्नेछ विशुद्ध कलाकारीताबाट । उनको ‘वीर बिक्रम’लाई अतिवादी यौन, हिंसा र विचारको ‘ट्याग’ छैन । चलेका कलाकारहरु दयाहाङ राईको मौलिक अभिनय, अर्पण थापाको कमेडी, हेन्डसम अनुपबिक्रम शाहीको प्रतिभा र नाजिर हुसैनलगायत कलाकारको ‘स्पेसल ट्यालेन्ट’कै भर हो मिलनलाई ।

मार्केटमा विशेष छाप छाड्न सफल यी उम्दा कलाकारहरुको साथमा मिलनले नवनायिका सुन्दरी दिया पुनलाई चलचित्रमा अवसर दिएका छन् ।

‘कथा गाउँमै शुरु हुन्छ । गाउँमै सकिन्छ । यस हिसाबले बीर बिक्रम अर्ग्यानिक नेपाली फिल्म हो । ’ निर्देशक मिलन भन्छन्, ‘कथामा पात्रहरुलाई डुबाउने कोसिस भरपूर छ । बलियो कथा र जीवन्त अभिनयको बलले दर्शकलाई एकपछि अर्को दृश्यले तानिरहने आशा गरेको छु ।’

बनिरहेका आम नेपाली चलचित्रमा भन्दा फूटानी लगाउँनु पर्ने कुनै विशेष कुरा थपेको दाबी निर्देशक चाम्स गर्दैनन् । राम्रो कथामा सशक्त अभिनयले दर्शक तानिरहने विश्वास उनको छ ।

भदौ ३ गते ‘बीर बिक्रम’ रिलिज हुँदैछ । चलचित्रको प्रमोसनका लागि ‘मिलन टिम’ क्रियाशील छ । प्रमोसनका क्रममा एकसाथ भेटिए निर्देशक मिलन, कलाकारद्वय अनुपबिक्रम र नाजिर ।

अनुपबिक्रम र नाजिरलाई दर्शकले यसअघिका चलचित्रमा जस्तो पात्रका रुपमा चिनेका छन्, ‘बीर बिक्रम’मा त्यस्तो छैन । छ चाहिँ कस्तो त ? तीनै जनाले भने– राम्रो गर्ने कोसिस भएको छ । एक पल्ट हल पुगिदिनु होला । झुक्याएको ठहरिँदैन ।’

मिलन चाम्स कलाकारलाई स्वच्छन्द वातावरणमा रमाउने छुट दिने निर्देशकका रुपमा चिनिन्छन् । उनको टिममा काम गर्ने कलाकारहरुको अनुभवले पनि त्यही भन्छ । सुटिङ स्थलमा कहिलेकाहीँ त ‘सट’ ले भन्दा पनि ‘प्रयांक’ले चर्चा बढी पाउँछ ।

[embed]https://youtu.be/uuByWhkftPo[/embed]

फिल्म भित्रको फिल्म

चलचित्र बीर बिक्रमको सुटिङ रामेछापको एक गाउँमा गरियो । सुटिङमा पूरै युनिट खटेर काम गरिरहेको थियो । ‘काम गर्दा गर्दा दैनिकी 'मोनोटोनस' लाग्न थालिसकेको थियो’ – निर्देशक चाम्स सुनाउँछन्, ‘युनिटकै एक जुनिएर आर्टिस्टलाई अनुपबिक्रमले त मन पराउँदो रहेछ भन्ने एक्कासी थाहा पाएँ ।’

अनुप एकतर्फीको अफेयर ती नयाँ कलाकारसँग चलेको खबर फिल्म युनिटमा फैलिन कति समय पनि लागेन । खबर सुन्नेबित्तिकै दयाहाङको प्रतिक्रिया थियो ‘बेलुका बेलुका अनुपले उनकै बारेमा कुरा गरिरहन्छ । कारण यस्तो पो रहेछ ।’

खबर सम्बन्धित कलाकारले थाहा नपाउने कुरै भएन । अनुपले मन पराएको खबरले उनी पनि रोमाञ्चित भइन् । अनुपकै भनाइमा ‘मैले सुन्ने गरी उनले पनि लभ सङ गाउन थालिन् ।’

फिल्मभित्र त मायाप्रेम छँदै थियो । फिल्मबाहिर पनि मायाको एउटा टुसा उम्रन थाल्यो । विषय गम्भीर हुँदै गयो । खाइलाग्दा अनुपबिक्रम र नयाँ जोश बोकेर फिल्म क्षेत्रमा संघर्ष गरिरहेकी नवयौवनाको यो कथा कम्ति चाखलाग्दो छैन ।

फिल्मबाहिरको यो प्रेमकथा वास्तवमा एउटा ‘प्रयांक’ मात्रै थियो । यसमा दुई बाहेक पूरै फिल्म युनिट ‘प्रयांकरिस्ट’ बनेको थियो । यस्तो प्र्यांकलाई मिलन, अनुपबिक्रम र नाजिरले यसरी वर्णन गरेः

[embed]https://youtu.be/E7gbrFB0bu8[/embed] गाइमर्दा रुने मन्त्री थिएनन्

चलचित्र ‘राहदानी’मा गाई मरेको दृश्यले भावुक बनाएको भन्दै क्यामेराअगाडि आएर डाँको छाडेर पूर्वकृषिमन्त्री हरिबोल गजुरेल रोए । त्यो कुनै ‘प्रयांक’ थिएन । फिल्म प्रमोसनको एउटा ‘स्टन्ट’ थियो भन्ने गरिन्छ ।

चलचित्र ‘बीर बिक्रम’ मा भने साच्चै नै एउटा चौरी गाइ मर्‍यो । कथाले मागेपछि फिल्मका हिरोइनहरुले जस्तो पनि दिन्छन् भन्ने गरिन्छ । ‘वीर बिक्रम’मा कथाले २०–२५ वटा याक मागेको थियो । निर्देशकले माग्नु पर्ने थियो याक । भनिदिए ‘२०–२५ वटा चौरीगाई चाहियो ।’

एक दिन हिँडाएर चौरीगाई ल्याइयो । गाइ देखेपछि निर्देशक मिलन हैरान भए । हैरान हुनुको कारण र गाइ मर्दा तिर्नुपरेको क्षतिपूर्ति उनकै शब्दमाः

[embed]https://youtu.be/jCrvx-X64Vg[/embed]

‘बीर बिक्रम’को हङकङ र लन्डनमा प्रिमियर भइसकेको छ । ती दुई सहरहरुमा यस चलचित्र दुई दर्जनभन्दा बढीपटक व्यवसायिक प्रदर्शनमा पनि आएको छ । लन्डन र हङकङको सफलताबाट फिल्म युनिट उत्साहित छ ।

Bir Bikram nepali film

विशेष