देश

कञ्चनपुरका १ सय ५५ विद्यालयको खाता रोक्का

कञ्चनपुरका १ सय ५५ विद्यालयको खाता रोक्का

bank book

साउन - २०  । कञ्चनपुर, शिक्षा कार्यालय कञ्चनपुरले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने १५५ सामुदायिक विद्यालयको रकम रोक्का गरेको छ । शिक्षा कार्यालयको भौतिक शाखाको सिफारिसमा असार मसान्तमा निर्माण नसकिएपछि अन्तिम किस्ता रोक्का गरिएको हो । गत आवमा विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १९२ विद्यालयसँग निर्माण सम्झौता गरिएको थियो । शिक्षा कार्यालयले गत वर्षको असार मसान्तमा सम्पन्न हुने गरी विद्यालयसँग रु ११ करोड १६ लाखको सम्झौता गरेको थियो । सम्झौताअनुसार असार मसान्तमा काम नभएपछि अन्तिम किस्ता रोक्का गरिएको हो । कार्यालयका अनुसार ती सबै विद्यालयको रु एक करोड २७ लाख १७ हजार ५०० रकम रोक्का गरिएको छ । कार्यालयका लेखा अधिकृत दुर्गादत्त पन्तले निर्माण सम्पन्न नभएपछि प्राविधिक फाँटको सिफारिसमा अन्तिम किस्ता रोक्का गरिएको बताए । हालसम्म ३७ विद्यालयले मात्रै सम्झौता अनुसारको भुक्तानी लिएका छन् । तीबाहेकका अन्य विद्यालयको रकम रोक्का गरिएको अधिकृत पन्तले बताए । शिक्षा कार्यालयले भौतिक पूर्वाधारमा सम्झौता गरेपछि ३० प्रतिशत, त्यसपछि प्राविधिक प्रतिवेदनका आधारमा ४० प्रतिशत र काम सम्पन्न भएपछि अन्तिम किस्ता ३० प्रतिशत रकम विद्यालयका खातामा पठाउने गरेको छ । शिक्षा कार्यालयले गत माघ र फागुनमा भौतिक पूर्वाधारको रकम सम्बन्धित विद्यालयको खातामा पठाएको थियो । शिक्षा कार्यालयका लेखा अधिकृत पन्तले पनि विगतदेखि नै काम नभएपछि रकम रोक्का हुँदै आएकाले यस वर्ष पनि रोकिएको बताए ।

कार्यालयले अन्तिम किस्ता रोक्का गरे पनि विद्यालयले त्यस अघिका दुई किस्ताको खाताबाट रकम झिकेर खर्च गरिसकेका छन् ।

बेदकोट नगरपालिकाको धरमपुरस्थित मुक्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक कल्यान ओझा व्यवस्थापन समितिको बेवास्ता, निर्माण समिति गठन, स्थानीयलाई भवन निर्माणसम्बन्धी जानकारी नहुने, समान खरिदमा हुने मोलमलाई र प्राविधिकको कमजोरीले सामुदायिक विद्यालयले सम्झौताअनुसार निर्माण कार्य गर्न नसकेको बताए।

शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले निर्माण सम्पन्न नभएपछि सम्बन्धित विद्यालयको खाता रोक्का गरिएको बताए । रासस

Bank Khata Kanchanpur

विशेष