नेपालमा पहिलोपटक 'पेन प्याकेज'
साउन – २१ । सरकारले नेपालमा पहिलो पटक पेन प्याकेज (प्याकेज अफ एसेन्सियल नन् कम्युनिकेवल डिजिज)सुरु गर्न लागेको छ । यो प्याकेज आउँदो असोज अगावै देशका दुई जिल्लामा सुरु गरिने भएको छ ।
जम्मा ५० लाख रुपैयाँ बजेटमा कैलाली र इलामबाट सुरु गरिन लागेको यस प्याकेजका लागि आगामी १५ दिनभित्रै एक टोली सर्वेक्षणका लागि त्यसतर्फ जाने स्वास्थ्य सेवा विभाग, प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा, नसर्ने रोग तथा सामाजिक सुरक्षा शाखाले जनाएको छ ।
नेपालमा क्यान्सर, मुटु रोग, मिर्गौला सम्बन्धी समस्या लगायतका नसर्ने रोगको समस्या ६० प्रतिशतभन्दा बढी जनतामा देखिएको छ । यति धेरै प्रतिशत जनतामा समस्या देखेपछि सरकारले विश्व स्वास्थ्य संगठनसित मिलेर दुईवटा जिल्लामा पाइलटिङको रुपमा प्याकेज सुरु गरेको हो ।
साथै आगामी बजेटमार्फत कार्यक्रमलाई अघि बढाई अवस्थाअनुसार कार्यक्रमहरु तय गर्दै लगिने नसर्ने रोग तथा सामाजिक सुरक्षा शाखाको योजना छ ।
यो प्याकेज अन्तर्गत हेल्थ पोष्ट लेभलसम्मले उच्च रक्तचाप भएका व्यक्तिको रगत परिक्षण गर्ने तथा मुटु रोगबाट बचाउने कामदेखि लिएर पुरानो किसिमका फोक्सोको रोग, मुटुसित सम्बन्धित, ती सबैको उपचार सेवा, रोगको पहिचान गर्ने सेवाहरु अघि बढाउदै आएको छ ।
यस कार्यक्रमलाई आगामी वर्षहरुमा क्रमशः १०–१५ गर्दै पाँच वर्षमा ४० वटा भन्दा बढी जिल्लाहरुमा लागु गरिने शाखाको योजना छ ।
Pain Package