सरकारी अस्पतालप्रति बिरामीको आकर्षण
साउन – २२ । चितवनको सरकारी अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनि बढ्दै गएका हुन् ।
भरतपुर अस्पतालबाट गएको एक वर्षमा दुई लाख ३१ हजार ३३९ जना बिरामीले सेवा लिएका छन् ।अस्पतालले दिएको जानकारीअनुसार अघिल्लो आवभन्दा गएको आवमा १६ हजार ४५५ जना बढी बिरामीले अस्पतालबाट उपचार सेवा लिएका हुन् ।
अघिल्लो आव दुई लाख १४ हजार ८८४ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालमा सबैभन्दा बढी बहिरङ्ग विभागबाट एक लाख ५३ हजार ९७६ जना बिरामीले उपचार सेवा लिएको अस्पतालको अभिलेख शाखाका कर्मचारी नारायण रिजालले जानकारी दिए।
बहिरङ्ग विभागमा गत वर्षभन्दा आठ प्रतिशतले बिरामी बढेका छन् । यस्तै अस्पतालको आकस्मिक कक्षबाट गत आव २८ हजार ४५२ जनाले सेवा लिएका छन् ।
यस्तै प्रतिरोधात्मक सेवा चार हजार ५५२ अन्य सेवा पाँच हजार ९९६ जनाले लिएको रिजालले जानकारी दिए। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले सेवा स्तरीय भएकाले यस वर्ष अस्पतालमा अझै बिरामीको चाप बढ्दै गएको बताए ।
अस्पतालको ‘ए’ ब्लक भवन बनेसँगै श्ययाको सङ्ख्या अस्पतालको ४५० बाट बढेर ६०० पुगेको छ । अस्पतालमा सिटीस्क्यान सेवा, आइसियु १० बेडबाट बढेर २८ श्यया, एनआइसियु सेवा थप, छ वटा अत्याधुनिक अप्रेसन थ्रिएटर कक्ष, सुविधा सम्पन्न क्याबिन बनाइएको छ । भरतपुर अस्पतालमा यसै वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टरसमेत स्थापना भएको छ ।
जिल्लामा भरतपुर अस्पतालसँगै दुई वटा मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र अन्य दुई दर्जन जति स्तरीय अस्पताल छन् । रासस
Chitawan