देश

पहिरोले १० विद्यालयमा क्षति, विद्यार्थी जोखिम मोलेर अध्ययन गर्न बाध्य

पहिरोले १० विद्यालयमा क्षति, विद्यार्थी जोखिम मोलेर अध्ययन गर्न बाध्य
school साउन - २२ । पहिरोका कारण म्याग्दीका दश वटा सामुदायिक विद्यालयमा क्षति पुगेको छ । भवन भत्किने तथा कक्षा कोठा पहिरोले पुर्ने र खेलमैदान भत्किदा विद्यार्थी जोखिम मोलेर त्रसित वातावरणमा अध्ययन गर्न बाध्य भएका छन् । पठनपाठन सञ्चालन गर्न समस्या भएको विद्यालयले जनाएका छन् । बेनी नगरपालिका–३ को खड्ग भवानी प्रावि, भगवतीको अन्नपूर्ण प्रावि, धौलागिरि प्रावि, देउराली प्रावि, पात्लेखेतको दीपक मावि र दानाको सरस्वती प्राविको कक्षा कोठा भवनमा पहिरोले भत्काएर क्षति पु-याएको छ । यसैगरी लुलाङस्थित लमसुङ मावि, लुलाङ निमावि, बेगको शिव प्रावि र ओखरबोट मावि पहिरोको उच्च जोखिममा परेका छन् । असार तेस्रो साता खड्ग भवानी प्राविको निर्माणाधीन दुई कोठे भवन पछाडि रहेको पाखोबाट खसेको पहिरोले पुरिएको थियो । भवन पुरिँदा रु चार लाख बराबरको क्षति भएको भवन निर्माण समितिका अध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका सदस्य टीकाराम बोहोराले बताए। कक्षा कोठाको अभाव भएपछि बालकक्षा र कक्षा १ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको छ । भगवतीको अन्नपूर्ण प्राविको तीन वटा कक्षा कोठा भवनको करेसातर्फको पर्खाल पहिरोले भत्काएको छ । सो विद्यालयका विद्यार्थीलाई नजिकै रहेको सार्वजनिक भवनमा राखेर पढाउने व्यवस्था मिलाइएको छ । भगवतीकै धौलागिरि प्रावि र देउराली प्राविको पनि एक-एक वटा कोठा भत्किएको छ । कक्षा कोठा भत्किएपछि आमा समूहको भवनमा राखेर बालबालिकालाई पढाउन थालिएको देउराली प्राविका प्रअ नरेन्द्रबहादुर भण्डारीले बताउनुभयो । पात्लेखेतस्थित दीपक माविको दुई कोठे भवनको बरन्डा पहिरोसँगै खसेको छ भने दाना दुई काभ्रेमा रहेको सरस्वती प्राविको एक वटा कोठा भत्किएको छ । बस्ती माथिको पाखोबाट खसेको पहिरोका कारण लमसुङ माविको सबै भवन उच्च जोखिममा परेका छन् । ओखरबोट माविको भवन र खेलमैदान चिराचिरा परेको छ । ओखरबोट गाउँदेखि तलबाट पाँच वर्षदेखि निरन्तर बगिरहेको पहिरो विद्यालय क्षेत्रलाई असर गर्न थालेपछि विद्यार्थी, शिक्षक र अभिभावक त्रसित भएका छन् । पहिरोको त्रासले पठनपाठनमा मनोवैज्ञानिक असर पारेको प्रअ प्रेम घर्तीले बताउनुभयो । उहाँले विद्यालय स्थानान्तरणका लागि जिल्ला शिक्षा कार्यालयमा प्रस्ताव गरिएको बताउनुभयो । बेगको शिव प्रावि नजिकै माथिपट्टिबाट ठूलो ढुङ्गा आएर जोखिम बढाएकाले आमा समूहको भवनबाट पठनपाठन सञ्चालन गरिएको छ । लुलाङ निमाविको खेलमैदान भत्किएको विद्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले पहिरोले क्षति पु-याएका विद्यालयको विवरण सङ्कलन भइरहेको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा छलफल र निर्णय गरी क्षतिको बारेमा जानकारीसहित पुनःनिर्माणका लागि विभागमा पत्राचार गरेको जिशिअ रामप्रसाद अधिकारीले बताए । उनले सबै विद्यालयबाट क्षति र जोखिमको बारेमा विवरण प्राप्त भइनसकेको बताए । शिक्षा कार्यालयमा सात वटा विद्यालयमा पहिरोले पु-याएको क्षति विवरण प्राप्त भएकाले सोको बारेमा विभागमा जानकारी गराएको जिशिअ अधिकारीले जानकारी दिए । रासस

Badhi Pahiro Myagdi Nepali School Pahiro

विशेष