स्वास्थ्य

व्यायम गर्नु यी कारणले फाइदाजनक छ, - कारण जान्नुहोस्

व्यायम गर्नु यी कारणले फाइदाजनक छ, - कारण जान्नुहोस्
yoga साउन २२ । आफूलाई सधैँ स्वस्थ राख्नको लागि जो कोहि मानिस पनि चाहन्छन् । तर, जति कोसिस गरे पनि रोगले छाड्ने होइन । कताबाट रोग आइलाग्छ पत्तै हुँदैन । स्वस्थ्य रहनका लागि मानिस बिहानबिहानै दौडिन्छन, जिम जान्छन, जिउ मर्काइमर्काइ ‘डान्स’ गर्छन् तै पनि भनेजस्तो हुँदैन । एरोबिक, ब्याडमिन्टन, कराँतेजस्ता खेल पनि मान्छेले स्वस्थ्य रहने उपायकै रूपमा लिन्छन् । स्वस्थ्य रहन अपनाइने यस्ता अभ्यासले मानिसलाई सामान्य फाइदा पुर्याए पनि पूर्णता भने दिएको हुँदैन । शारीरिक अभ्यासका रूपमा जबसम्म योगलाई आत्मसात् गरिँदैन अरू कुनै उपायले त्यो सन्तुष्टि दिनै सक्दैन । योग त्यस्तो माध्यम हो जसले शरीर र आत्मालाई एकाकार गर्दछ र मान्छेलाई स्वस्थपनको व्यावहारिक अनुभूति दिलाउँछ । अरू व्यायामभन्दा योग नै किन ? भन्ने जिज्ञासुहरूका लागि निम्न बुँदा उपयोगी साबित हुन्छन् । १) स्वास्थ्य भनेको वैज्ञानिकहरूका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा ‘फ्रि रेडिकल’ बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत (जिम, एरोबिक, दौड आदि) पनि एउटा हो । योगको अभ्यासपछि भने शरीरमा फुर्ति आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन । २) अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्याङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ । ३) शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुन्छन् । सहयोगी, साधन, ठूलो स्थान आदिको आवश्यकता पर्दछ । योग भने खर्चबिना नै गर्न सकिन्छ । न त सहयोगी नै चाहिन्छ न ठूलो ठाउँ न उपकारण नै । योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लैले गर्न कुनै कठिनाइ हुँदैन । ४) अन्य अभ्यासमा मन तथा इन्द्रीयलाई नियन्त्रण गर्ने कुनै प्रक्रिया नै छैन । तर, योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ । ५) योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा श्वासप्रश्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ, जसबाट प्रर्याप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ । ६) योगका लागि धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा ‘हेभी डाइट’को आवश्यकता पर्दछ । ७) योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् । ८) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्काशन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ तर अरू अभ्यासमा त्यो पाइँदैन । ९) जति ‘रिढ’ लचिलो हन्छ त्यति नै शरीर स्वस्थ रहन्छ । यौवन, युवापन र शरीरमा फुर्तीआउँछ । ‘रिढ’को लचकता बढाउने राम्रो अभ्यास योगमा छ । १०) योग अभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ । अरू शारीरिक व्यायाममा यस्तो पाइँदैन । ११) योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य व्यायाममा यो प्रक्रिया हुँदैन् । अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ । १२) अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको छ । योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ । १३) अन्य अभ्यासमा पाचन प्रणाली बिग्रने, लामो समयपछि हाडजोर्नी तथा मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन्, तर योगमा त्यस्ता कुनै ‘साइड इफेक्ट’ हुँदैन । १४) योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ । १५) शरीरमा हार्मोन तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले महत्वपूर्ण भूमिका खेल्छ । १६) शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो, यसको दाँजोमा अन्य कुनै पनि शारीरिक व्यायाम आउनै सक्दैनन् ।  स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको कुरा हो । अतः स्वास्थ्यका लागि सक्षम योगगुरुको आवश्यकतालाई भने भुल्न हुँदैन । सुरुका दिनमा टीभी तथा सीडीका आधारमा योग सिक्नुभन्दा योगगुरुको निगरानीमा सिक्नु राम्रो हुन्छ ।

yoga

विशेष