लगातारकाे वर्षापछि पहिरोले एक घर पुरियाे
साउन - २२ । लगातारको वर्षापछि शनिबार बिहान पहिरो जाँदा बैतडीकाे तल्लादेहीमा एक घर पुरिएको छ भने तीन घर भासिएका छन् ।
पहिरोले तल्लादेही–८ डाँडाखालीमा कैले सार्कीको घर पुरिएको स्थानीय बासिन्दा रनबहादुर बोहराले जानकारी दिएका छन् । त्यस्तै घर भएको ठाउँको जमिन भासिएपछि जसे सार्की, मने सार्की र परे सार्कीको घर उच्च जोखिममा रहेकाले उनीहरु विस्थापित छन् । पहिराेबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिओम खड्काले जानकारी दिए । उक्त स्थान सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ ।
यसैबीच गत २४ घन्टामा सतबाँझ, गुरुखोला, श्रीकोट, रौलेश्वर, भूमेश्वर, वसन्तपुर, हटैराज लगायत गाविसमा भारी वर्षा भएको छ । वर्षामापन केन्द्र सतबाँझका अनुसार पछिल्लो २४ घन्टामा ८१.७ मिमी वर्षा भएको छ । बैतडीका सात स्थानमा वर्षामापन केन्द्र छन् । रासस
Pahiro