मदनआश्रितको शब चिरेका हरिहर वस्तीको बयान
मृत्युलाई दुई भागमा बाड्न सकिएला: प्राकृतिक मृत्यु र अप्राकृतिक मृत्यु । कालगतिले ज्यानजाँदा मृत्यु प्राकृतिक र स्वभाविक बन्ने गर्दछ । मानवीय कारणले ज्यान जाँदा मृत्यु अस्वभाविक र अपराधिक बन्ने गर्दछ । कतिपय मृत्यु कसरी भयो भन्ने बारेमा यसै भन्न सकिन्न । त्यस्तो अवस्थामा शबको वैज्ञानिक परीक्षण गरिन्छ । त्यसैलाई अंग्रेजीमा पोष्टमार्टम भनिन्छ ।
अप्राकृतिक मृत्युको खोजी चानचुन विषय होइन । फोरेन्सिक विधाको महत्व झनै बढेको छ । किनकी व्यक्तिको हत्या वा मृत्युका तरिकाहरु बढ्दै गएका छन् । हत्याको संख्या र प्रकृतिको संख्या बढ्दै गएपनि नेपालमा सरकारी निकायबाट पोष्टमार्टम गर्ने विज्ञ भने एकजना मात्र छन् । ति एक्लो वृहस्पती हुन् हरिहर वस्ती ।
यो क्षेत्रमा उनी ख्यालख्यालमै प्रवेश गरे । बर्षौको लगन र त्यागका कारण पोष्टमार्टम ब्राण्ड बन्न सफल भए वस्ती ।
हुनत सबैजसो जिल्ला अस्पतालमा पोष्टपार्टम हुन्छ । जसरी सिएमले रोगको उपचार गरे भन्दैमा डाक्टर भन्न मिल्दैन पोष्टमार्टम गर्यो भन्दैमा फोरेन्सिक विज्ञ भनिदैन । फोरेन्सिक विधालाई राज्यले उचित ध्यान दिन नसक्दा नयाँ र दक्ष जनशक्ति उत्पादन हुन नसकेको वस्तीको वुझाइ छ । २५ बर्षदेखि शवको संगत गर्दै आएका वस्तीले यो बिधाबाट बिल्कुल फरक इतिहास बनाएका छन् । बिल्कुल पृथक अनुभव हाशिल गरेका छन् ।
नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भयो । एमालेले षडयन्त्रपूर्वक आफ्ना नेता मारिएको निष्कर्ष निकाल्यो । आन्दोलन चर्किरहेको थियो । पानीले ढाँडिएको मदन र आश्रितको शब परीक्षण गर्दा वस्तीको मन चसक्क भयो । मृत शरीरमा चोटसमेत देखियो । वस्तीसहितको टोलीले रिपोर्ट दियो, मदनआश्रितको निधन चोटका कारण ले भएको हो । मदनआश्रितको हत्या कि दुर्घटना भन्नेमा एकिन छिनोफानो भइसकेको छैन । निष्कर्ष निकाल्न पोष्टमार्टम रिपोर्ट एउटा माध्यम बन्न सक्छ ।
हालै, फुटबलर बिमल घर्तीमगरकी बहिनीको रहस्यमय मृत्यु भयो । जिल्लामा विवाद बढेपछि नवलपरासीबाट शब काठमाडौं ल्याइयो । हत्या भएको भन्दै समाचार आइरहेका बेला वस्तीले रिपोर्ट दिए, ‘मनिषाले आत्महत्या गरेको देखियो ।’ उनी भन्छन ‘विमलकी वहिनी मनिषाको ह्याङगिकबाट मृत्यु भएको थियो । अर्थात झुण्डिएर वा झुण्डाईएर भएको हो । त्यसलाई हत्या नै भन्न मिल्दैन । तर, हत्या नै भएको भन्ने एकिन रिर्पोट ननिकाल्दा पोष्टमार्टम नै झुट भन्ने प्रचार भएको थियो ।’
सबैले आफुले चाहेजस्तो रिपोर्ट आइदिओस् भन्ने चाहन्छन् । तर परीक्षणले कसैको चाहनाअनुसारको रिपोर्ट दिंदैन । जे हो त्यहीं देखिन्छ । अनि चित्त नबुझ्ने मान्छेले आरोप लगाउंछन्, ‘पुलिस र डाक्टर मिले ।’ पहिले पहिले त झोंक चल्थ्यो त्यस्ता आरोप सुन्दा । अहिले त उनि शान्त छन् । मरिलानु के नै छ र ? भन्ने दिव्यज्ञान जो पाएका छन् ।
मृत्यु सबैको हुन्छ । तर, सबै मृत्यु एकै हुंदैनन् । वस्तीले जीबनमा अनेक प्रकृतिका मृत्युसँग साक्षात्कार गरेका छन् । कहिलेकाहीं बाहिरको चर्चा र व्यक्तिको मृत्युको कारणका बीचमा व्यापक अन्तर हुन्छ । वैज्ञानिक परीक्षणलाई समेत भीडले चुनौति दिइरहेको हुन्छ । वस्तीको अडान कडा हुन्छः एक पटक गरिएको शब परीक्षण फेरि गरिदैन । कुनै गडबडी भएको छैन ।
मोडिएको जीबन
खाशमा उनको दरबन्दी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा होइन । टिचिङ हस्पिटलका होइनन्, तर हो जस्तै भइसके । १६ बर्ष भइसक्यो टिचिङमा आगन्तुकका रुपमा काम गर्न थालेको । उनले टिचिङमा शब परीक्षण गरेको पैसा पनि पाउंदैनन । शब खेलाउनेजस्तो काम उनी निशुल्करुपमा गरिरहेका छन् । उनी खाशमा वीर अस्पतालका हुन् । शिक्षण अस्पतालमा उनी फोरेन्सिक विषयका प्रोफेसर हुन् । सरकारले फोरेन्सिक विज्ञ उत्पादन गर्न ध्यान नदिंदा आफु एक्लो वृहस्पती बन्नु परेको वस्तीको गुनासो छ ।
उनी २०३४ सालमा एच ए पढ्न काठमाडौँ आए । त्यसपछि गाउँको अस्पतालमा कार्यरत रहे । शिक्षा मन्त्रालयमा एमबीबीएस पढ्नेका लागि छात्रवृत्ति विज्ञापन खुल्यो । तेज दिमागका वस्तीले अवसर पाइहाले । पढाइ सकेपछि संखुवासभामा २ वर्ष काम गरे । लोक सेवामा आयोगको जाचँ पास गरेपछि केन्द्रिय कारागार अस्पतालमा नियुक्ति भए । त्यसपछि बीर अस्पतालमा सरुवा भए । त्यहीं काम गर्दागर्दै उनले पहिलोट पटक बीर अस्पतालमा फोरेन्सिक विधाका बारेमा जानकारी पाए ।
‘देशमा हत्याहिंसा वा अन्य कारणले व्यक्तिको ज्यान जाने क्रम बढ्दो छ तर ज्यान कसरी गयो भन्ने पत्ता लगाउने विज्ञ छैन । अपराधी उम्किने यो भन्दा सहज बाटो के होला ?’ उनको मनमा कुरा खुबै खेल्यो । त्यसपछि उनको विशेषज्ञता यसैमा बढ्यो । उनले फोरेन्सिक विधालाई व्यापक बनाउने र विज्ञलाई जिल्लाजिल्लामा पोष्टिङ गर्ने धोको पालेका छन् । निरन्तर लागिरहेका छन् । दूर्भाग्य † सुनिदिने कोही छैन ।
पहिला फेरेन्सीक विधामा काम गर्दा उनलाई पोष्टमर्टमको काम हेपेर लगाइएको थियो । उनी एक जुनियर डाक्टर भएर । त्यतीबेला पोष्टमार्टम गर्ने कामलाई तल्लो स्तरको रुपमा हेरिन्थ्यो । शुरुमा पोष्टमार्टमको काममा लगाउंदा उनलाई हेपिएको महशुश हुन्थ्यो । अहिले त उनलाई गर्व छ । आफुआबद्ध भएको बिधालाई फैंलाउन नसकेकोमा उनलाई चिन्ता लागिरहन्छ ।
२५ वर्षपछि आठौँ तहबाट नौँ तहमा स्तरउन्नती भएको थियो उनको । उनको योगदानले फोरेन्सीक विद्यामा अहिले ४२ विज्ञहरु उत्पादन भएका छन् ।
प्रोफेसर वस्ती भन्छन् ‘जब सरकारले फोरेन्सीक विषयलाई चिनारी नै दिएको छैन, मेरो तह बढेर के भयो ?’ सम्पूर्ण नेपाली जनताले गुणस्तरीय फोरेन्सीक सेवा पाए मात्र खुशी हुन सक्ने उनको प्रष्टिकरण छ । शवको परीक्षण गर्नका लागि एक्स रे मेसिन पनि नभएको उनले खुलाशा गरे । फोरेन्सीकका लागि कुनै महंगो मेसिन नचाहिने उनले बताए । एउटा ल्याबको उचित व्यवस्था गरिरदिए मात्र पनि धेरैै काम हुने उनको भनाई छ । जिल्लामा त हेरेकै भरमा पोष्र्टमाटम रिपोर्ट तयार गरिदै आएको बताउंदै गर्दा उनि भावुक सुनिए ।
शबका साथी वस्तीको भावुकता तोड्दै उनलाई प्रश्न गरियो, ‘कतिवटा सबमा कैंची चलाउनुभयो ?’ ओहो † उनको उत्तर आङ्गै जिरिङ्ग पार्ने खालको थियो । ‘१८ हजार नाघिसक्यो ।’ हजारौंको मृत शरीरका नालीबेली जानेका वस्ती आफैंमा पुस्तकालयजस्ता छन् । शब देख्दै डराउने धेरै हुन्छन् । शब छोएपछि अनेक कुरा बार्नुपर्ने संस्कार छ । वस्ती के गर्छन ? यिनलाई बारेर साध्यै लाग्दैन । उनलाई डरपनि फिटिक्क लाग्दैन । शबसँग खेल्दाखेल्दै उनलाई जीबन यस्तै रहेछ भन्ने लाग्न थालेको छ । मान्छे बाँचुन्जे मर्नुपर्दैन भन्ने सोच्छन् र अनेक कुकर्म गरिरहन्छन् । वस्तीले भने हरेक दिन मरेकाको पत्रपत्र केलाउंछन् । त्यसैले उनलाई दिव्य ज्ञान प्राप्त भएको छ, ‘मर्न एक दिन अवश्य पर्छ । त्यसैले कुकर्मबाट टाढा रहनुपर्छ ।’
फेरेन्सीकमा अलिकति मात्र गोलमाल भए धेरै कुरा बिग्रिन सक्छ, र त्यो भइपनि रहेको छ । आज हत्याराहरु खुलेआम नेपाली समाजमा छाती फुलाएर हिड्ने गरेका छन् । कारागारमा कति निर्दोषहरु दोषीको रुपमा जेलजीवन भोगिरहेका छन् । पोष्टमार्टम रिपोर्ट गलत भएमा दोषी उम्कने वा निर्दोष फस्ने हुन्छ । त्यसैले यो विधाको महत्व धेरै छ । अन्य देशमा पोष्टमार्टम विज्ञको तलब सर्वाधिक हुन्छ । अत्यन्त तीक्ष्ण बुद्धिका विज्ञलाई पोष्टमार्टममा लगाइन्छ । यहां हेपेर जिम्मवारी दिइएका हरिवर वस्तीले फोरेन्सिकको बींडो थामिरहेका छन् । शब परीक्षणका लागि कस्तकस्ता प्रयोगशाला बनिसके अन्यत्र । यहां अधिकांश ठाऊंमा हेरेकै र छामेकै भरमा रिपोर्ट दिनुपर्ने अवश्था छ । उनिसँग उत्तर छैन । केबल अनुत्तरित प्रश्न छ , ‘अपराध छुट्टाउने यस्तो विधालाई किन हेरिदैंन ? कतै शासक नै अपराधिक मनस्थितिमा त छैनन् ?’
प्रस्तुतिः कञ्चन न्यौपाने
harihar wostiko bayan interview of harihar wosti