मुख्य समाचार

काठमाडौंका डा. जेभी र साइप्रसकी कुसुमको अदभुत प्रेम सायदै कसैले विर्सनेछ

काठमाडौंका डा. जेभी र साइप्रसकी कुसुमको अदभुत  प्रेम सायदै कसैले विर्सनेछ
dr-jv-and-kusom-nepalaaja डाक्टर जेभीको जीबनमा के थिएन ? सब थियो । अमेरिकन ग्रिनकार्ड होल्र्डर जेभीकी आमा क्यानाडामा डाक्टर थिइन् । बेलाबेला फेसबुकमा झुल्किने डाक्टर जेभीको प्रोफाइल र स्टाटस लोभलाग्दो हुन्थ्यो । उनको ‘फ्रेन्ड रिक्वेस्ट’ आँउदा शुरुमा त पत्यारै लाग्ने थिएन । ‘हाइ प्रोफाइल’ जोभीले ‘लो प्रोफाइल’लाई समेत साथी बनाउँंन खोज्दा जेभीप्रतिको सम्मान झन् बढ्ने गर्दथ्यो । साइप्रसमा काम गर्दै गरेकी नेपाली युवती कुसुमको मन जेभीले यसरी नै जिते । कुसुमसँगको प्रेम कुसुम हत्तपत्त कसैको ‘फ्रेन्ड रिक्वेष्ट’ एक्सेप्ट गर्दिनन् । डाक्टर जेभीले फेसबुकमा रिक्वेष्ट पठाएपछि उनले प्रोफाइल गहनरुपमा अध्ययन गरिन् । डाक्टरी पेशामा लागेको भलाद्मी जेभीको जाबो फ्रेन्ड रिक्वेस्ट नकार्नु पर्ने कारण केही देखिनन् । यसरी मित्रता शुरु भयो । जेभीले हाइ भन्दै संवाद शुरु गरे । विस्तारै बोलचाल बढ्दै गयो । तारन्तारको गफसँगै भावनात्मक संवाद शुरु भयो । जेभीले एकदिन फ्याट्टै भनिदिए, ‘कुसुम म तपाईलाई माया गर्छु । ममीसँग कुरा गरेको छु तिम्रो बारेमा । ममी पनि ‘एक्साइटेड’ होइसिन्छ तपाईसँग कुरा गर्न ।’ जेभीले कुसुमको दिलमा तीर हानिसकेका थिए । ममी एक्साइटेड थिइन् थिइनन् अर्को कुरा, कुसुम भने एक्साइटेड भइहालिन् । प्रेमको ढुंगा बेस्करी चल्न थाल्यो । जेभी र कुसुम घण्टौं संवादमा व्यस्त रहे । एक अर्काका बारेमा सोधिपुछनी भइरहन्थ्यो । जे सोध्दा पनि जेभी सहजै उत्तर दिन्थे । कुसुम मख्ख पर्थिन, ‘कस्तो फ्रयाङ्क र ओपन । अमेरिकाको बसाइले पनि होला । खान्दानिया परिवारको भएर पनि होला ।’ कुसुम यस्तै सोचेर गम खान्थिन् । जेभीले केही समयपछि कुसुमसँग प्रस्ताव राखे, ‘अब तिमी नेपाल आऊ । साइप्रस बस्न पर्दैन । बिहे गरेर क्यानाडा जाऔं । ममीले उतै बोलाउनुभएको छ । कागजपत्र मिलाउन पर्छ । चाँंडो गर ।’ साइप्रसमा कुसुमको बेग्लै संसार बन्दै थियो । चानचुन मासिक ६० हजार रुपैयाँ बचत हुन्थ्यो । कामको अनुभव बढ्दै जाँदा कमाइपनि बढ्नेवाला थियो । तर, जेभीको प्रस्ताव जीबनसँग जोडिएको थियो । आखिर साइप्रसको ठाऊँमा क्यानाडा जाने कुरा हो । पैसाकै लागि जेभीको जीबनसाथी भइसके पछि मरिहत्ते गर्नुपर्ने नै के छ र ? यस्तै सोचेर उनी २०७२ साल पुस १५ गते नेपाल फर्किइन् । काठमाडौं चिसोले कठ्याङ्गिएको थियो । तर, कुसुमलाई भने पसिना छुटेजस्ता भइरहेको थियो । प्रेमीसँगको पहिलो भेट उनका लागि रोमान्चक बनिरहेको थियो । त्रिभुवन विमानस्थलको बाहिरपट्टि जेभी कुसुमको प्रतीक्षामा थिए । भेट हुन नपाउंदै दुबै एकाकार भए । भूकम्प र नाकाबन्दीका कारण काठमाडौं असहज थियो । तर, त्यहीं असहजताका बीचमा एउटा प्रेम नाटकीय शैलीमा फक्रिएको थियो । काठमाडौंमा लिभिङ टुगेदर साइप्रसबाट आएपछि कुसुम केही दिन घरमै बसिन् । एकाएक साइप्रसबाट फर्केकी उनले परिवारलाई अर्को योजना सुनाइन्–क्यानडा यात्रा । हुने बेलामा गोरु प्नि ब्याउंछ भनेजस्तै भएको थियो कुसुमलाई । परिवार र आफन्तले कुसुमको चम्केको भाग्यप्रति गर्व गरे । क्यानडाका तयारीमा रहेकी कुसुमलाई परिवारले करकापमा राख्ने कुरा भएन । कुसुम जेभीसँग लिभिङ टुगेदरमा थिइन् । जेभी दिनभर फाइल मिलाउन बाहिरफेर व्यस्त रहन्थे । एक रात उनले सुस्केरा हाल्दै भने, ‘कहिले पैसा राख्ने ठाऊंँ हुँदैन, कहिले पकेटमा पैसा हुँदैन । साला ।’ सधैं हंसमुख रहने जेभीमा छटपटि देखिन्थ्यो । कुसुम आत्तिइन्, ‘के भो जेभी । के भो ?’ जेभीलाई भन्न गाह्रो भइरहेको प्रष्टै बुझिन्थ्यो । कुसुमले करबल गरेपछि जेभीले भने, ‘ममीले उता कारोबार बढाउनुभएछ । मसँगपनि कस्तो अनिकाल परेको बेला भयो । क्यानडाको भीसा र डकुमेन्टका लागि १८ लाख चाहिने । मसँग ८/९ लाख भन्दा भएन ।’ कुसुमले जेभीलाई ढाडस दिइन् । साइप्रसमा कमाएको पैसा उनीसँग थियो । जेभीले शुरुमा त ‘तिम्रो दुःखको कमाइ कसरी लिनु ?’ भन्दै कतै खोजेर काम चलाउने कुरा गरे । कुसुमले ‘त्यस्तो कुरा नि हुन्छ’ भन्दै रिसाएपछि जेभीले अन्कनाउंदै ९ लाख लिए । जब सपना तुहियो पैसा लिएपछि जेभीको आनीबानी फरक देखियो । संवाद बिस्तारै कम हुंदै गयो । जेभी केही असमञ्जमा परेजस्तो देखिन्थे । कुसुमले कारण जान्न चाहिन् । जेभी भरे भन्छु भन्दै टक्टकिन्थे । केही दिनपछि जेभी अचानक गायब भए । कुसुमले हर तरहले सम्पर्क गर्ने प्रयास गरिन् । तर पार लागेन । कुसुमको मनमा अनेक तरका कुरा खेल्न थाले । ‘कतै जेभीलाई केही भयो की ?’ अर्को मनल भन्थ्यो ‘कतै म लुटिए की ?’ यही दोधारका बीचमा उनी प्रहरी गुहार्न पुगिन् । डाक्टरको रहस्य पर्दाफास  कुसुम नियमित प्रहरी कार्यालय धाइरहन्थिन् । जेभी हराउंँदा उनका धेरै सपना एकसाथ हराइरहेका थिए । श्रीमान, वैवाहिक जीबन, क्यानडाको सानदार भविश्य र सँगै, उनको नौ लाख हराउंँदा कुसुम विस्तारै टुट्दै गएकी थिइन् । प्रहरीले हप्तौको खोजीपछि डाक्टर जेभीलाई पक्राउ गर्यो । साउन ४ गते जेभी पक्राउ परेको खबरसँगै कुसुम हुत्तिदै टेकुस्थित अपराध अनुसन्धान महाशाखामा पुगिन् । डाक्टर जेभी त एसएलसी पासमात्र रहेछ । सिन्धुपाल्चोकको लुताबहादुर तामाङ धन्दावाल ठग रहेछ । उसको ममी कहाँ पाएर क्यानडामा हुनु ! सब नाटक रहेछ । कुसुम पहरोमा ठोक्किएर खसेजस्तो भइन् । रन्थनिएकी कुसुमको आँखाबाट बरबर्ती आँशु झर्यो । उनको सबै लुटिएको थियो । सृजना दोंगको सास्ती उस्तै बेदैशिक रोजगारीमा लेवनान पुगेकी सिर्जना दाेंगलाई एक युवकले अमेरिका लगिदिन्छु भनेर फेसबुकमा हत्ते हाले । अमेरिकाको पीआर होल्डरले मरिहत्ते गरेपछि उनी नेपाल फर्किइन । अविश्वास गर्नुपर्ने कारण केही थिएन । उनले ति युवकलाई ९ लाख दिइन् । कागजपत्र मिलाउंदै गर्दा उनले ति फेसबुके फ्रेण्डलाई अझ विश्वास गर्न थालिन् । फूर्तिफार्तीका ती युवकको क्यानडामा पनि राम्रै सम्पर्क रहेछ । उनले क्यानडा जाने कोही भए आफूले सहयोग गर्ने जनाए । भाइ सञ्जय दोंग र मिम लामाले बिदेश जाने सोच बनाएकै थिए । उनले भाइ र साथीसँग सबै कुरा बताइन् । उनीहरुपनि ति युवकलाई १३ लाख बुझाए । रकम बुझेको केही समयपछि युवक फरार भयो । फरार युवक अरु कोही थिएन, उही तुलाबहादुर तामाङ थियो । प्रहरीको भनाइ टेकु प्रहरी महाशाखाको प्रहरी निरीक्षक गोविन्द पन्थीका अनुसार फेसबुकबाट साथी बनाउने र ठग्ने ठगहरुको बिगबिगी छ । एकै व्यक्तिले अनेक आइडी बनाएर अनेक शैलीमा निर्दोषलाई हरतरहले ठग्ने प्रवृत्ति बढेसँगै प्रहरीले सामाजिक संजालमा निगरानी पनि बढाएको छ । तुलबहादुर तामाङ सामाजिक संजालबाट हुने ठगीको एउटा उदाहरणमात्र भएको निरीक्षक पन्थीको भनाइ छ । तुलबहादुरले कतिजनालाई ठगेको छ भन्नेबारेमा अनुसन्धान भइरहेको छ । (तुलबहादुरजस्तै ठगको फेला जोकोहीपनि पर्न सक्छ । यस्तै ठग र ठगीको तथ्याङ्कसहितको सामाग्री अर्को दिन प्रकाशित गर्नेछौं । पीडित युवतीको नाम परिवर्तित हो ।–सम्पादक) पस्तुतिः सागर बुढाथोकी

doctor jv ra saipras kusom lama ra tul bahaur ko thagi teku police aparadh mahasakha tul bahadur tamang

विशेष