नुवाकोटमा दुर्घटना भएको फिस्टेलको हेलिकप्टरका पाइलट यस्ता थिए
साउन – २४ । गोरखाको फिलिमबाट बिरामी लिएर काठमाडौंतर्फ उडेको फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टर नुवाकोटमा खसेको छ । नुवाकोटको मदनपुर–९ पाखुरेमा सोमबार दिउँसो दुर्घटना भएको हेलिकप्टर अनुभवी पाइलट रञ्जन लिम्बुले उडाएका थिए । झापा धाइजन–६ पिपलडाँगीका लिम्बु सन् २०११ मा फिस्टेल एयरमा आवद्ध भएका थिए ।
को–पाइलटबाट पाइलट भएका लिम्बुले १६ सय घन्टा जहाज उडाइसकेका थिए । २५ वर्षे लिम्बुका बुबा भक्तबहादुर ब्रिटिस लाहुरे हुन् । दुई दाजुभाइ मध्ये कान्छो छोरा लिम्बुका सबै परिवार बेलायतमै बस्छन् ।
नेपालमै केही गरौं भनेर बेलायतको आवासिय सुविधा छोडेर लिम्बु नेपाल आएका थिए ।हाईअल्टीच्यूटको समेत प्रशिक्षण लिएका लिम्बुले स्विटजरल्याण्डमा स्लीङ्ग अपरेशनकोसमेत प्रशीक्षण लिएका थिए ।
सोमबार गोरखाबाट सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गएका उनी काठमाडौं फर्किँदा दुर्घटनामा परेका थिए ।हेलिकप्टरमा एक बालकसहित ५ यात्रु थिए । नागरिक उड्यनका निमित्त महाप्रबन्धक सुधीरकुमार चौधरीका अनुसार हेलिकोप्टरमा क्याप्टेन लिम्बुसहित छिमी गुरुङ, प्रिति गुरुङ, निशा तामाङ, आछामी गुरुङ, तितमान गुरुङ र एक नवजात शिशू रहेका छन् ।
Fishtail air
Ranjan Limbu