विचार

प्रचण्डले आफ्नै छोरालाई सचिवालयमा राख्नु गलत हो

प्रचण्डले आफ्नै छोरालाई सचिवालयमा राख्नु गलत हो

matrika-yadav-nepalaajaनयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयमा पुत्र प्रकाशलाई राखेका छन् । विगतमा बनेको आचारसंहिताबारे मलाई खासै थाहा छैन । तर आफन्तलाई नराख्ने विगतमा आचारसंहिता बनेको हो भने त्यो अध्यक्षले पनि पालना गर्नुपर्छ । अरुले गर्ने तर अध्यक्षले नै आचारसंहिता पालना नगर्ने भन्ने हुँदैन ।

प्रधानमन्त्री प्रचण्डका अगाडि धेरै किशिमका चुनौतीहरु छन् । ती मध्ये नयाँ संविधानलाई सबैले स्वीकार गर्न सक्ने बनाउनु प्रमुख हो । नयाँ संविधानमा गणतन्त्र, संघीयता, समावेसी समानुपातिक व्यवस्था, धर्मनिरपेक्षतालगायत विषयहरु समावेश भएका छन् । तर पनि यो संविधानलाई मधेसी, आदिवासी, जनजाति, मुस्लीम अल्पसंख्यकले स्वीकार गर्न सकेका छनैन् । सबैले स्वीकार गर्ने संविधान बनाउनकालागि संविधान संशोधन आवश्यक हुन्छ । प्रचण्डका लागि यो चुनौतीपूर्ण छ ।

त्यसै गरी शान्तिप्रक्रियाका अधुरा कामहरु पूरा गर्न पनि बाँकी नै छ । यो पनि वर्तमान सरकारकालागि चुनौतीपूर्ण कार्य हो । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्र्रेस हो । शान्ति सम्झौतामा कांग्रेसबाटै प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए । र संविधानमा चित्त नबुझाएर नाकाबन्दी गर्ने मधेसी मोर्चाले समेत अहिलेको सरकारलाई समर्थन गरेको छ । यसकारण शान्ति सम्झौताको बाँकी काम र मधेसी मोर्चाको चित्त बुझाउने काम हुन सक्छ भन्ने मलाई विश्वास छ ।

प्रचण्ड सरकारलाई पनि असहयोग गर्नेमा पराम्परागत ढर्राको कर्मचारीतन्त्र बाधक बन्न सक्छ । कर्मचारीतन्त्र अब पनि बाधक बन्यो भने जनता प्रतिरोधमा उत्रनु पर्छ ।

प्रचण्ड सरकारको अर्को चुनौती भनेको भूकम्पपीडितलाई राहत, पुनस्र्थापना, पूरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण आदि हुन् ।

ओलीलाई राष्ट्रवादी भन्नु मूर्खता अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रवादी भएको भ्रम जनतामा छरे । वास्तवमा ओली राष्ट्रवादी होइनन् । यदि उनी राष्ट्रवादी भएको भए सबैको साझा नेता बनिहाल्थे नी । उनी मधेसी, जनजाति, आदिवासीको नेता बन्न सकेनन् । पहाडीय खसवादीहरुका मात्रै नेता बन्न सके । केपी ओली कुनै बेला भारतसँग लम्पसार पर्थे । उनको लम्पसार पर्ने बानीकै कारण एमाले विगतमा फुटेको हो । भारतको दलाली गर्ने एक नम्बर नेता नै ओली हुन् ।

नाकाबन्दी भारतले गरेको होइन खस पहाडी चिन्तन, महेन्द्रवादी चिन्तन भएकाहरुले नाकाबन्दी भारतले गरेको ठान्छन् । खासमा भारतले नाकाबन्दी गरेको होइन । नाकाबन्दी त हामीले गरेका हौं । त्यो बेला हामी आन्दोलनमा थियौं । नाकाबन्दीको निर्णय हामीले नै गरेका थियौं । नाकाबन्दी भारतले गरेको भए त्यति धेरै सामान कसरी भारतबाट आयो ? के सबै चीनबाट आएको हो र ?  (नेता यादवसँग भएको कुराकानीमा आधारित)

विशेष