करिष्मा चकित परेका घटनाः आफूलाई देखेर मान्छे भागेको देखि रेष्टुरेष्टमा काम गर्ने प्रोफेसर सम्म
नेपालमा कामको अपमान हुन्छ
म अमेरिकामा हुँदाको कुरा हो । एउटा रेस्टुरेन्टमा थिएँ । त्यो रेस्टुरेन्टमा एक अमेरिकी वेटर आए । उनीसँग कुराकानी गर्ने वातावरण पनि मिल्यो । मैले प्रश्न गरेँ, ‘कति समय काम गर्नुहुन्छ रेस्टुरेन्टमा ?’ ‘पार्टटाइम गर्छु,’ उनले जवाफ दिए । यसले ममा जिज्ञासा उब्जायो । अनि मैले फेरि सोधेँ, ‘अन्त पनि काम गर्नुहुन्छ ? के काम गर्नुहुन्छ ?’ उनले जे जवाफ दिए, त्यसले मलाई अचम्ममा पार्यो । म चकित भएँ । मलाई ठूलो आश्चर्यमा धकेल्ने उनको जवाफ थियो– म प्रोफेसर हुँ, युनिभर्सिटीमा पढाउँछु ।
त्यसपछि मेरो मन नेपाल फर्कियो । नेपालका प्रोफेसरबारे सोच्न थालेँ । यसले मलाई झन् जिज्ञासु बनायो । फेरि प्रश्न गरेँ, ‘अनि किन काम गर्दै हुनुहुन्छ त यो रेस्टुरेन्टमा ?’ उनको सहज जवाफ थियो, ‘मलाई अहिले अलिक धेरै पैसा चाहिएको छ । युनिभर्सिटीको तलबले पुगेन । त्यसैले यता काम गर्न थालेँ ।’ उनको यो जवाफले म चुप भएँ, मैले फेरि प्रश्न गर्न जरुरत ठानिनँ । कहिलेकाहीँ कल्पनाले शब्दलाई रोकिदिँदा रहेछन् । त्यतिवेला मैले नेपालका रेस्टुरेन्ट, निजी कम्पनी, सरकारी कार्यालय र विश्वविद्यालयलका प्रोफेसरहरू सम्झिएकी थिएँ ।
यस्तो कामलाई नेपाली प्रोफेसरहरूले के सोच्दा हुन् भन्ने मेरो मनमा खेल्यो । मैले यसबारे मनमा कुनै खाका बनाउन सकिनँ । नेपाली प्रोफेसरको मात्र होइन, हाम्रै अवस्था पनि फरक छैन । मेरै छोरी (कविता)ले पनि सुरुमा अमेरिकामा काम गर्न मानिनँ । झन्डै पाँच वर्षसम्म हामीले उसलाई मासिक रूपमा पैसा पठायौँ । महिनाको हजार डलरसम्म पठाउने गरेका थियौँ । तर, पैसासँगै हामीले उसलाई काम गर भनेर गाली गर्दै पनि आएका थियौँ । पछिल्ला पाँच महिनायता भने उसले काम गर्न थालेकी छे ।
अब उसलाई पहिलेजस्तो पैसा पठाउनुपरेको छैन । तर, मलाई लाग्छ, योसँगै उसमा कामप्रतिको सम्मान पनि बढेको छ । अमेरिकाको मात्र होइन, नेपालमा पनि यस्ता प्रसंग पाइन्छन् । एउटा प्रसंग म सम्झन्छु । मैले चलचित्रमा काम गर्दा एकजना युवक थियो । उसलाई बाउचा भनिन्थ्यो । पछि, चलचित्रमा काम नभएपछि उसलाई मैले तरकारी पसल खोल्ने सुझाब दिएँ । तर, सुरुमा उसले आनाकानी गर्यो । निकै कर गरेपछि ऊ तयार भयो । अहिले ऊ त्यही पसलबाट दैनिक १०–१२ हजारको व्यापार गरिरहेको छ । समस्या के हो भने हामी नेपाली कामलाई सम्मान गर्दैनौँ । हामी कामलाई अपमान गछौँ, सानो–ठूलो भन्छौँ । अनि हामी सानैदेखि बच्चालाई कामको विभाजन गरेर हुर्काउने गर्छौँ । हामीले सानैमा बच्चालाई भन्छौँ– सानो काम गर्नु हुँदैन, उनीहरूलाई ठूला प्रोफेसनबारे मात्र भन्छौँ ।
त्यसैले त अहिलेका स्कुले बच्चाहरू सोझै डाक्टर, पाइलट बन्न चाहन्छन् । यहाँ कोही पनि कार्पेन्टर बन्न चाहँदैन, सपिङमलमा सेल्सम्यान बन्न चाहँदैन । अनि ती कामप्रति रेस्पेक्ट पनि छैन । तर, विदेशमा यही काम गर्नेहरू पनि भेटिन्छन् । अमेरिकामा काम सानो–ठूलो हुँदैन । त्यसैले त त्यहाँ कोही पनि कामविहीन हुनुपरेको छैन । तर, हामी कस्तो पुस्ता सिर्जना गर्दै छौँ ? कस्तो पुस्ता तयार पारेर हामी संसारबाट बिदा हुँदै छौँ ?
हाम्रो मनोविज्ञान दमित छ
यो २०५० सालभन्दा अगाडिको सन्दर्भ हो । त्यतिवेला फिल्म ‘नासो’को सुटिङ भइरहेको थियो । रसुवाको एउटा गाउँमा हामी सुटिङ गर्न गएका थियौँ । त्यो गाउँ सुन्दर थियो, गणेश हिमालनजिकै थियो । हामी त्यहाँको एउटा रिसोर्टमा बसेका थियौँ । सुटिङ हुँदा काममा नै व्यस्त भए पनि म फुर्सदमा गाउँलेसँग कुरा गर्न चाहन्थेँ । तर, मलाई नजिक देखेपछि गाउँलेहरू पर–पर भाग्थे । कतिसम्म भने उनीहरू कान्ला–कान्ला हाम फालेर भाग्थे । एउटा मान्छे अर्को मान्छे देखेर भाग्ने अवस्था त्यतिवेला मेरो कल्पनाबाहिरको कुरा थियो ।
अहिले पनि म यो प्रसंग सम्झँदा अचम्ममा पर्छु । तपार्इं आफौ कल्पना गर्नुहोस् न, मान्छे देखेर मान्छे भाग्दा कस्तो होला ? त्यति मात्र होइन, त्यहाँका मानिस कपडा पनि फेर्दैनन् भन्ने मैले सुनेकी थिएँ । अर्को कपडा नभएर हो या जाडोले, त्यो त मलाई थाहा भएन । तर, यो कुरा सुन्दा मलाई आश्चर्य लागेको थियो । त्यहाँका घरमा फोहोर देख्दा पनि म अचम्ममा परेकी थिएँ । अझ भनौँ, अचम्ममा पर्नुभन्दा पनि म विरक्त भएकी थिएँ । रसुवामा मात्र होइन, मसँग धादिङको पनि यस्तै तीतो अनुभव छ । तर, योचाहिँ केही महिनाअघिको मात्र हो । मलाई लाग्थ्यो, धादिङ काठमाडौंनजिकै भएकाले पनि धेरै विकसित होला । तर, होइन रहेछ ।
म धादिङबेसीमा पुगेकी थिएँ । त्यहाँ तीनजना केटीले मलाई निकै बेर हेरे । उनीहरूलाई यो करिश्मा नै हो भन्ने निधो भएपछि एकजना क्यामेराम्यान लिएर आए । अनि मसँगै उभिएर फोटो खिचे । त्यतिवेला मैले सोधेँ, ‘किन मसँग फोटो खिचेको ?’ ‘तपार्इं नायिका हो नि,’ उनीहरूको जवाफ थियो, ‘हामीले धेरैपटक टिभीमा देखेका छौँ तपार्इंलाई ।’ आफूसँग मोबाइल नभएकाले क्यामेराम्यान ल्याएर फोटो खिचेको उनीहरूको तर्क थियो । १२ घन्टा हिँडेर उनीहरू धादिङबेसी आएका रहेछन्, एसएलसी दिन ।
उनीहरूसँग लामै समय कुरा भयो । त्यसपछि मैले त्यही रसुवाको घटना सम्झिएँ । म आफौलाई दु:ख लाग्यो । अझ म नपुगेका कति दुर्गम ठाउँ होलान् । त्यहाँको अवस्था कस्तो होला ? त्यहाँका मानिस के सोच्दा होलान् ? हाम्रो समाज कता गइरहेको होला ?
नयाँ पत्रिकाबाट
Karimham Manadhar