पर्यटन प्रवास समाज

अमेरिका क्यानडामा नेपालको प्रचारगर्दे गुड्ने ट्रक

अमेरिका क्यानडामा नेपालको प्रचारगर्दे गुड्ने ट्रक

nepali-truck-660x330

साउन २७ । अमेरिका र क्यानडामा दैनिक २९ लाख ट्रक गुड्छन् । ती २९ लाखमध्ये एउटा ट्रक भने विशेष महत्वको छ, नेपाल र नेपालीका लागि । १८ पांग्रे र ७३ फिट लामो यो ट्रकको एकातिरको बाहिरी भागमा फेवाताल र सगरमाथाको तस्बिर सिँगारिएको छ । सँगै एकसिंगे गैँडा, जीवित देवी कुमारी, बौद्ध स्तूपा र पशुपतिनाथ मन्दिरको पनि तस्बिर छ ।

अहिलेसम्म यो ट्रकले अमेरिकाका ४८ र क्यानडाका १० राज्यको भ्रमण गरिसकेको छ । यो ट्रकलाई चलाउँछन् एनवी टन्डनले । ११ वर्षअघि क्यानडा पुगेका टन्डनले २०१२ को जनवरीदेखि यो ट्रक चलाउँदै आएका हुन् । ‘आफ्नो जन्मभूमिको माया लाग्यो । मेरो आफ्नै व्यक्तिगत खर्चमा नेपाललाई चिनाउन यस्तो काम गरेको हुँ,’ उनी भन्छन् । यो तरिका रोजेकाले धेरैलाई आफूले नेपालबारे जानकारी दिन पाएको उनले बताउँदै आएका छन् । ‘यसरी ट्रकमा चित्र कोरेर मैले नेपाल घुम्न आग्रह गरेको हुँ,’ उनी भन्छन्, ‘अहिले म जहाँ ट्रक रोक्छु, त्यहाँ प्रश्न सोध्नेको भीड लागिहाल्छ । अनि म देशको परिचय दिन्छु– यो बुद्ध जन्मेको र सर्वोच्च शिखर सगरमाथाको देश नेपाल हो ।’ कतिसम्म भने गत वर्ष भूकम्पपीडितका लागि टन्डनले ट्रककै माध्यमबाट राहत तथा पुनर्निर्माणका लागि सघाएका थिए ।

टन्डनकै पहलमा अहिले क्यानडा र अमेरिकामा ड्राइभिङ पेसा अँगालेकाहरूको संगठन बनेको छ । संगठनमा सयभन्दा बढी क्रियाशील सदस्य पुगिसकेका छन् । यो संस्थाले पनि नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सकेको योगदान दिने लक्ष्य लिएको छ । यही संगठनको पहलमा गुल्मीमा गंगा खड्कालाई स्वास्थ्यदूत बनाएर स्वास्थ्य चेतना अभिवृद्धि गर्ने तथा किशोरीहरूका लागि महिनावारी भएको समयमा प्रयोग गर्ने प्याड निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउनुका साथै दुर्गम क्षेत्रका विद्यालयका लागि ‘फस्ट एड किट’ वितरण गर्ने कार्य पनि भइसकेको छ । संगठनले आफ्ना सदस्यबाट उठाएको लेबीबाट स्वास्थ्य र शिक्षा क्षेत्रमा केही गर्न खोजेको टन्डन बताउँछन् । नेपालको विकासका लागि नेपाललाई सहयोग गर्न चाहनेबाट सहयोग लिने र सीधा सम्बन्धित काममा सहयोग गर्ने योजनाअन्तर्गत यो अवधारणा अघि सारेको टन्डनको तर्क छ । त्यसो त अहिले टन्डन क्यानडाका लागि नेपालका पर्यटनदूत पनि हुन् ।

उनको कामको प्रशंसा गर्दै नेपाल सरकारले मे १९, २०१६ देखि टन्डनलाई क्यानडाका लागि मानार्थ पर्यटनदूतमा नियुक्त गरेको हो । सरकारको यो निर्णयले आफू र आफ्नो टिमलाई आगामी दिनमा अगाडि बढ्न थप हौसला मिलेको टन्डन बताउँछन् । क्यानडामा ११ जुनमा आयोजना भएको ‘ब्राम्टन डे’मा टन्डनले पनि विशेष भूमिका निर्वाह गरे । त्यो कार्यक्रममा पहिलोपटक टन्डनकै पहलमा नेपाल पनि सहभागी भयो । यही कायैक्रमपछि टन्डन दाङको तुलसीपुर नगरपालिका र क्यानडाको ब्राम्टन नगरपालिकालाई मित्र नगरपालिका घोषणा गर्ने पहलमा पनि छन् । यो काम अन्तिम चरणमा पुगिसकेको उनले बताएका छन् ।

नयाँ पत्रिकाबाट

akhtiyar durupayog anusandhan ayog Nepali Truck in canada USa

विशेष