साउन - २७ । छात्रामा अज्ञात रोग देखिएपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविमा बिहिबारदेखि पठनपाठन बन्द गरिएको छ ।
विद्यालयमा कक्षा ८, ९ र १० अध्ययनरत छात्रा दिनहुँ एकाएका बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समितिको बिहिबार बसेको आकस्मिक बैठकले आगामी सोमबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हाे ।
विद्यालयमा आउने बित्तिकै छात्रा बेहोस हुने र त्यसपछि चिच्याउने गरेको बताइएको छ । मङ्गलबारदेखि लगातार छात्रामा देखिएको समस्याका कारण आजसम्म ३० भन्दा बढी छात्रा बिरामी भएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिंहले बताए ।
विद्यालयमा बिरामी भएका छात्रालाई अभिभावक बोलाएर उनीहरुको जिम्मा लगाइएको छ । यसरी छात्रा अनौठो रोगले बेहोस हुने समस्या देखिए पनि कारण भने पत्ता लाग्न सकेको छैन् । रासस