नेपाली चेलीलाई यौनपिपासुको चुंगलबाट मुक्त गर्न साउदीमा एक नेपालीको प्रेरणादायी कार्य
गएको शुक्रबार, अर्थात ५ अगस्टमा रियादबाट १ हजार किलोमिटर टाढा बस्ने ङिंमा शेर्पाले अलपत्र परेकी एकजना नेपाली चेलीलाई उद्धार गरिदिनुस् भनेर ‘म्यासेज’ गर्नुभएको थियो । उहाँले साथमा पीडित महिलाको नाम र उनको सम्पर्क नम्बर पनि दिनुभएको थियो ।
०६ तारिख अगस्ट, शनिबार बिहान मैले सो नम्बरमा सम्पर्क गरेँ । उनको नाम र ठेगाना सोधेँ । उनी तालामाराङ–०२, सिन्धुपाल्चोककी सुमित्रा थिङ् (नाम परिबर्तन) रहिछन् । उनको समस्या सोधेँ । मालिकद्वारा यौन शोषण, शारीरिक तथा मानसिक यातना आदि बताइन् । फोनमा रुदैं उनले भनिन्, ‘छिट्टो उद्धार गरिदिनुस् दाई ।’
उनी, साउदीको राजधानी रियाद मै रहेको थाहा भयो । तर, यति ठूलो शहरको कुन ठाउँमा छिन् त सुमित्रा ? पत्ता लगाउँन चुनौती थियो । टेलिफोन सम्पर्कका क्रममा सुमित्रालाई वाट्सएपबाट तिमी बसेको घरको ‘लोकेसन म्याप’ पठाऊ भनेर सम्झाएँ । उनलाई सामाजिक सञ्जाल फेसबुक र इमो जस्ता नेटवर्कहरू बारे ज्ञान रहेछ । र, उनी बसेको घरमा वाइफाई चलाउन मिल्ने पनि रहेछ । मैले सुमित्राको मोबाईलमा वाट्सप डाउनलोड गरेर लोकेसन म्याप पठाउन लगाएँ ।
केहि दिन लगाएर वाट्सप डाउनलोड गर्न सफल भइन्, सुमित्रा । उनी बस्ने घरको ‘करेन्ट लोकेसन’ पनि मलाई पठाउन सफल भइन् । उनि बसेको ‘लोकेसन म्याप’ उपलब्ध भए पछि ड्युटी सकेर त्यो ठाउँ सहि हो या होइन पत्ता लगाउँन जाने निर्णय गरेँ । मेरो अफिस पाँच बजे छुट्टी हुन्छ । साढे चारमै सुमित्रा भएको ठाउँमा जान मेरी पत्नी कुमारीलाई पनि तयारी गर भनेँ । पीडित महिलाहरूको उद्धार गर्न जाँदा सधै म उनलाई लिएर जाने गर्छु । त्यसो गर्दा सुरक्षित हुन्छ । ठीक ५ बजेर १० मिनेटमा सो स्थानलाई गूगल रूट गरेँ । मेरो स्थानदेखि त्यहाँ पुग्न २२ किलोमिटर टाढा रहेछ । लोकेसन ट्रयाकिङ् गरेर अगाडी बढें । ठीक आधा घण्टामा सुमित्रा बसेको ठाउँमा पुग्यौं ।
उनी बसेको घर पुरै रेसिडेन्सियल क्षेत्रमा रहेछ । नजिकै विद्यालयको ठुलो बिल्डिङ रहेछ । सोही भवन अगाडि एउटा ‘डम्प’ राखिएको रहेछ । त्यहाँ जानु अगाडि नै त्यो लोकेसन उपलब्ध हुनासाथ त्यो स्थान रियाद शहरको कुन क्षेत्रमा पर्ने रहेछ भनेर गूगलमा हेरेको थिएँ । लोकेसन पत्ता लागेपछि सुमित्रालाई फोन गरेँ । तिमी बस्ने घर अगाडि एउटा विद्यालय भवन रहेछ हैन ? भनेर सोधेको थिएँ । उनले ठूलो विल्डिङ त छ, तर के को हो थाहा भएन भनिन् ।
गूगलको म्यापअनुसारको स्थलमा पुगेपछि सुमित्रालाई फोन गरेँ । ‘हामी तिमी बसेको घर नजिकै आईपुगेका छौं’ भनेँ । तर यो स्थल तिम्रै नजिक हो भन्ने एकिन कसरी गर्ने ? भनेर उनलाई सोधेँ । त्यतिबेला, उनी मालिक्नीसँग बसेकी रहिछन् । उनले फोहोर फाल्ने बहानामा बाहिर निस्कने जानकारी दिइन् । केहीबेर पछि एउटी महिला कालो प्लास्टिकको ठूलो झोलामा फोहोर बोक्दै बाहिर निस्कन् ।
ती महिला सुमित्रा नै थियो । उनले फेरि मिसकल गरिन् । मैले फर्काएँ । उनले फोहोर फाल्ने ‘डम्पिङ’ बाट हामी ७० मिटर दुरीमा थियौं । मैले म चढेको गाडीको विवरण दिएँ । उनलाई अहिले नै हामीसँग जाने हो कि पछि ? भनेर सोधेँ । उनले भनिन्, ‘अलिहे मालिक्निले वाच गरिरहेकी छ । घरमा कोही नभएको वा सुतेको बेला आउनु भन्दै सुमित्रा मोबाइलमा कुरा गर्दै घरभित्र पसिन् ।
मैले गाडी स्टार्ट गरेर हिड्नै लागेका थिएँ । अचानक एकजना मानिसले मेरो गाडीलाई ब्लक गर्यो । मैले ब्याक गरेँ । त्यसले पनि ब्याक गर्यो । सोहि मौकामा मैले गति बढाएर गाडी अगाडि बढाएँ । उसले मेरो पिछा गर्यो । केहि अगाडि ‘टर्निङ’ थियो । सो टर्निङबाट मलाई उसले फेरी ओभरट्याक गर्यो । मैले गाडी बिस्तारै अगाडि बढाएँ । तर, गाडी रोकिनंँ । उसले पनि मेरो गाडी कै गतिमा उसको गाडी अगाडी बढाउँदै थियो ।
उसको गाडीको सिसा कालो भएकोले त्यो मान्छेलाई देख्न सकिएको थिएन। सुमित्रालाई उद्धार गर्न गएको र उनीसँग मोबाईलमा कुराकानी गरेको सुमित्राको मालिकले चाल पाएछ भन्ने लाग्यो, मलाई । त्यो मान्छेले आफ्नो गाडीको सिसा उघारेर उसको मोबाईलबाट हाम्रो फोटो खिच्यो र त्यो मान्छे आफ्नो बाटो लाग्यो । त्यसपछि मेरो मनमा चिसो पस्यो । म गाडी मोडेर मेरो गन्तब्यतिर हुइँकिएँ ।
मलाई अतिनै डर लागिरहेको थियो । अब, सिधै नेपाली दूताबासतिर जाने निर्णय गरेँ । त्यस स्थानबाट नेपाली दूताबाससम्म पुग्न झन्डै २०–२५ मिनेटको बाटो रहेछ । दूताबासतिर लाग्दै गर्दा कार्यवाहक राजदूतलाई कल गरेँ । हजुरसँग जरुरी कुरा गर्नुछ भनेर उहाँको निवासतिर हुइकिएँं ।
बीच बाटोमा आइपुग्दा एउटा प्रहरीको गाडी मेरो ठ्याक्कै पछाडी आइरहेको मेरो गाडीको सिसाबाट देखेँ । मलाई झन् डर लाग्यो । साउदी पुलिसले मलाई आज नछोड्ने भए भन्ने लाग्यो । तैपनि, म सिमित गति मै आफ्नो गन्तब्यतिर हुइँकिदैछु । केहीबेर पछि त्यो पुलिसले अर्को बाटो समात्यो । त्यस पछि मैले ठूलो राहतको सास फेरेँ ।
केहीबेरमै कार्यवाहक राजदूतको निवास पुगेँ । उहाँलाई भएको घटना बारे सबै बताएँ । सुमित्रा बसेको घर पत्ता लागेको जानकारी दिएँ । सुमित्राले अनुकुल समयमा बाहिरिने बताएको राजदूतलाई बताएँ ।
त्यस दिन मलाई रातभर निद्रा लागेन । फोटो खिच्ने मानिस को थियो ? भन्ने शंकाले घेर्यो । साउदीमा गाडीको नम्बरकै आधरमा म, मैले काम गर्ने कम्पनी आदिको विवरण सजिलै निस्कन्छ । घटनाबारे मैले आफ्नो कम्पनीमा जानकारी दिइसकेको थिएँ । म माथि कुनै सोधपुछ भएमा कसरी प्रस्तुत हुने भन्ने मैले पहिले नै तयारी गरिरहेको थिएँ ।
सुमित्राको घर नजिकै पुगेको चार दिनपछि सुमित्राको उद्धार भयो । बिहान घरका सबै सुतिरहेको बेला सुमित्रा घरबाहिर निस्किन् । त्यही बेला उनलाई नेपाली राजदूतावासको सेल्टरसम्म ल्यायो । कुवेत हुँदै साउदी आएका कारण सुमित्राको स्वदेश फिर्ती केही लम्बिन सक्ने बताइएको छ ।
के गर्थे मालिकले सुमित्रासँग ? सुमित्रा साउदी आईपुगेपछि उनको जीवन नर्कमा परिणत भयो । उनलाई आफ्नै मालिकद्वारा शारिरिक तथा मानसिक रूपमा यातना दिन थालियो । उनि साउदीको तीन महिनाको बसाई अत्यन्तै कष्टपूर्ण रहयो । कैयौं पटक उनि आफ्नै मालिकबाट यौन शिकार हुन पुगिन् । उनको मालिकले पटक पटक बलात्कार गरेका कारण यौनीमै घाउ भएको उनले बताइन् ।
सुमित्राले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘त्यो राक्षस आफ्नो स्वास्नीलाई छलेर म सुत्ने कोठामा जबर्जस्ती छिथ्र्यो । उसले मलाई हप्तामा एकपटक जबर्जस्ती यौन शोषण गथ्र्यो । अश्ण्वीकार गरे मारिदिने धम्कि दिन्थ्यो । मैले यौन शोषण गरेको कुरा मालिक्नीलाई भनिस् भने उसैले तलाई मार्छे भन्थ्यो । बाँच्न कै लागि भए पनि त्यो पशुले जबर्जस्ती गर्दा पनि प्रतिकार गर्न सक्दिनँ थिएँ ।
दिनमा १७–१८ घण्टासम्म घरको काममा खटाउथ्यो । उनीहरूले भनेको जस्तो नभएमा कुटपिट पनि गर्ने गथ्र्यो । कहिल्यै पनि राम्रोसँग सुत्न पाइदैनथ्यो । न त पेट भरि खान पाउथ्यो ।
घरेलु कामदारका रुपमा साउदी आएका केहि महिलाहरूले राम्रो कमाउने र इज्जतका साथ बस्न पाउने भए पनि अधिकांश महिला कामदारहरू आफ्नै स्पोन्सरबाट यौन शोषणमा पर्ने, मानसिक र शारीरिक दुब्र्यवहारको शिकार हुने गरेका छन् । सुमित्रा जस्ता साउदीमा नर्कको जीवन जिउने हजारौं नेपाली चेलीहरू छन् । तिनीहरूले कहाँ सम्पर्क गर्ने र कसले उद्धार गर्न सक्छ केहि जानकारी छैन ।
हजारौं सुमित्राहरू बलात्कृत हुन वाध्य छन, साउदीमा । पछिल्लो समयमा काठमाडौंदेखि नै प्रहरी, विमानस्थलका कर्मचारी र मानवतस्करहरूको मिलेमतो (सेटिङ) मा कुवेत हुँदै हजारौं नेपाली महिलाहरूलाई साउदी ल्याई पुरयाएको हुनु पर्छ । त्यसको ज्वलन्त उदाहरण र प्रमाण सुमित्रा थिङ् हुन् । यस्तो चरम मानव तस्करी रोक्न नेपाल सरकारले अविलम्ब संयन्त्र तयार पारोस् र कुवेत हुँदै साउदीका लागि महिलाहरू तस्कर गर्ने मानव तस्करहरूलाई गिरफ्तार गरेर कडा भन्दा कडा सजाए दिईयोस् । ( हुम सुनारी मगर हाल साउदीमा कार्यरत छन् । सुमित्रा उद्धारमा महत्वपूर्ण भूमिका खेलेका हुम स्वतन्त्र लेखक पनि हुन् ।)