पत्रकारको जय होस !
सन् १९९० दशकको सुरूताका साप्ताहिक पत्रिका एवं अन्ततिर एफएम रेडियोहरूले मिडिया बजार तताएका थिए । आजभोलि अन्तर्जाल पाटीहरू (इन्टर्नेट पोर्टल्स) को बिगबिगी छ । तत्काल पस्किनुपर्ने पत्रकारिताको दबाबले गर्दा अन्तर्जाल पाटीहरूले प्रस्तुत गर्ने विवरणहरूमा प्रामाणिकता, निष्पक्षता, संयत, संयम एवं सन्तुलन जस्ता मर्यादित समाचार संप्रेषणका आधारभूत मान्यतालाई मनलागी बेवास्ता गरिएको हुन्छ । विचार, समाचार एवं प्रचारबीचको लक्ष्मणरेखा हराएर गएको छ । त्यसैले अन्तर्जाल पाटीहरूलाई सामान्यतः पाठकले गम्भीरपूर्वक लिँदैनन् ।
लगानी र खर्चको हिसावले भने प्रवेश एवं बहिर्गमन लागत अपेक्षाकृत न्यून भएकाले अन्तर्जाल पाटीहरूको संख्यात्मक वृद्धिदर भने रोकिने छाँटकाँट देखिँदैन। अन्तर्जाल पत्रकारिता आजभोलि वरिष्ठदेखि कनिष्ठसम्मका धेरै बेरोजगार सम्पादकहरूको आश्रयस्थल बन्न पुगेको छ । अनुभव एवं जोशको समिश्रणले गर्दा त्यस्ता पाटीसँग मानवीय स्रोत उत्कृष्ट रहने गरेको भए तापनि आय–व्ययको स्थिति भने भरपर्दो हुन नसकेको कुरा सम्बन्धित पेशाकर्मी एवं कारोबारीहरू निसंकोच स्वीकार गर्छन् ।
स्थानीय विज्ञापनमा आधारित आय प्रारूप (रेवन्यु माडल) अन्तर्जालका लागि उपयुक्त देखिँदैन । सशुल्क प्रवेश (पे वाल) अवधारणालाई पाठकहरूले विकसित देशतिर पनि पचाउन सकिरहेका छैनन् । समूह निधियन (क्राउड फन्डिङ) विधिलाई बेइमान परिचालकहरूले बदनाम गरिदिएका छन् । गैससहरूले एफएम धानेका छन ्। छाँटकाँट हेर्दा अधिकांश अन्तर्जाल पाटी देरसवेर दलालहरूको कब्जामा पुग्ने पक्का छ । सुन्दा आनन्द लागे पनि परोपकारी पत्रकारिता मूलतः चन्दादातामा आधारित उपक्रम हो । र, दान दिनेहरूले परोक्षरूपमै भए पनि भेटी स्वीकार गर्नेलाई प्रभावित गरिरहेकै हुन्छन् ।
प्रायशः सबैजसो पत्रकार ओलीको प्रचारतन्त्रका लागि विनाबर्दीका सिपाही भए । इतिहासमा सत्तासँग पत्रकारिता एकाकार भएका परिघटना सधैँ अध्ययनयोग्य हुन्छन् ।
भविष्य प्रक्षेपण जेरजस्तो होस, वर्तमानमा भने अन्तर्जाल पाटीहरूले पत्रकारितालाई सनसनीपूर्ण बनाएका छन् । तत्क्षण पत्रकारिताको अभ्यासका केही तुलनात्मक फाइदा पनि छन् । मानवीय आवेगलाई बिनापरख प्रस्तुत गर्ने सुविधा पाइन्छ । अपरिपक्व विवरणको काँचो स्वाद मेहनतले निर्मित प्रस्तुतिभन्दा यथार्थपरक लाग्ने गर्छ । त्यसैले होला, कतिपय प्रतिष्ठित मूलधारका मिडिया पनि अन्तर्जाल पाटीको शैली पछ्याउन थालेका छन् । कालान्तरमा भलै त्यस्तो बाटो फेदतिरको अन्धो दौड ठहरियोस, हाललाई भने सनसनीपूर्ण समाचार शैलीले व्यापक स्वीकार्यता पाउँदै गएको छ ।
सन् १९९० पछि विभिन्न कार्यकारी प्रमुखले मिडिया व्यवस्थापनका आआफ्नै शैली प्रयोग गर्ने गरेका छन् । कृष्णप्रसाद भट्टराईले आफ्नो समयका सबभन्दा क्षमतावान पत्रकारहरूको साथ पाएका थिए । तिनको राय सल्लाहले खासै काम नदिएपछि भट्टराई दिक्क भएर पत्रकारहरूलाई तथानाम भन्ने तहको आत्मघाति प्रवृत्ति अंगाल्न पुग्ने गर्थे । जिपी कोइरालाको प्रभाव उनको सानो प्रशंसक समूहभित्र सीमित रहने गर्थ्यो । महँगा जनसम्पर्क परामर्शदाताहरूको सेवा लिने गरेका भए तापनि शेरबहादुर देउवाको सार्वजनिक छवि कहिल्यै उजिलिन सकेन । पुष्पकमल दाहालले मिडियालाई चमत्कृत गर्न खोजे तर सशस्त्र द्वन्द्वताकाको त्यो रणनीति संसदीय राजनीतिमा भुत्ते ठहरियो ।
कार्यसूचीमा सामेल गराउने बाबुराम भट्टराईको बौद्धिक कौशल पनि मिडिया व्यवस्थापनमा खासै प्रभावकारी देखिएन । सुनिएअनुसार माधवकुमार नेपाल कुनै बेला अत्यधिक सफल ठहरिएको सूर्यबहादुर थापाको लेनदेन कार्यनीति अख्तियार गर्ने गर्थे । त्यस्तो काइदाको असर स्वभावतः अस्थायी हुन्छ र लाभ नपाउनेहरूको शत्रुता बेफ्वाँकमा थपिन्छ। सञ्चारकर्मीबीच मारामार प्रतिस्पर्धा सुरू भइसकेपछि अनुग्रहको कारोवार सार्वजनिक छवि निर्माणका लागि उतिसारो उपयोगी विधि रहँदैन । समसामयिक राजनीतिक परिदृश्यमा मिडियाको उदगर्त सनक (स्कुप अब्सेसन) सावधानीपूर्वक व्यवस्थापन गरेर आफ्नो हित प्रवर्धन गर्ने मामिलामा आफ्ना सबै पूर्ववर्तीहरूको तुलनामा निवर्तमान प्रधान मन्त्री एवं नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओली सम्भवतः सबभन्दा सफल ठहरिएका छन् ।
प्रधान मन्त्री पदमा रहँदा उनको खाजा खर्च (औसतमा महिनाको सात लाखभन्दा बढी) एवं महँगो पत्रपत्रिका पढ़्ने रहर सार्वजनिक जानकारीमा आइसकेको भए तापनि आफ्नो औपचारिक मिडिया सल्लाहकारहरूको टोलीबाहेक उनले अन्य कुनै व्यावसायिक परामर्शदाताको सेवा लिएको कुरा खुलासा भएको छैन । शंकाको लाभ अध्यक्ष ओलीलाई दिने हो भने उनको स्वनिर्मित मिडिया व्यवस्थापन कला एवं कौशलको जति प्रशंसा गरे पनि पुग्दैन । अपेक्षाकृत असहज परिस्थितिमा भारी र भद्दा माले–मण्डले–मसाले गठजोडको सरकारलाई उनले देशको वर्तमानको तारणहार मात्र नभएर भविष्यद्रष्टासमेत भएको मिथ्या धारणा स्थापित गर्न सफल भए । उखानटुक्का, अतिशयोक्ति एवं अन्योक्तिहरूलाई बुद्धिमत्ताको सूचकका रूपमा स्थापित गरे । र, दिवास्वप्नहरूलाई दूरदृष्टि तथा यथार्थपरक महत्वाकांक्षाको आधिकारिकता प्रदान गरे । यो सब कल्पित यथार्थ उनी मूलधार भनिने व्यावसायिक मिडियाको सक्रिय सहयोगबेगर गर्न सक्दैनथे । शायद त्यसैले होला, आफ्नो अन्तिम मन्त्रिमण्डलको बैठकपछि बाहिर निस्कँदै गर्दा उनले तीन पटकसम्म दोर्होयाए अरे– पत्रकारको जय होस !
आलोचकहरूलाई जति नै अप्रिय लागे पनि राजनीतिक व्यवस्थापनका लागि अध्यक्ष ओलीले अख्तियार गरेका मिडिया परिचालनसम्बन्धी छलयोजनाहरू प्राज्ञिकरूपमा गहिरो अध्ययन एवं अनुसन्धान गरिन योग्य छन् । देशलाई मानसिकरूपमा विभाजित गरे, तारिफ भने उनको देशभक्तिको भयो । अर्थतन्त्रलाई ध्वस्त बनाएर गए । चर्चा चीनको तेल, तिब्बतको रेल, हावाबाट बिजुली, महासागरमा पानीजहाज र अन्तरिक्षमा पठाइने उपग्रह वरिपरि घुमिरह्यो । नौ महिनासम्म भूकम्पपीडित पालभित्र रोइरहे, उनको हजारौं घर बनाउने बाँसुरीको धून बजिरह्यो । सञ्चार छलसाधन (मिडिया मनिप्यालेसन) विधिमा विश्वसनीयता भन्दा पनि ग्राह्यताको महत्व बढी हुने गर्छ । र, ग्राह्यता लक्षित समूहको उत्सुकतामा भर पर्ने गर्छ । अध्यक्ष ओलीका कदम योजनाबद्ध कार्यनीतिभन्दा पनि स्वस्फूर्त धूर्तता (नेटिभ कनिङ) अभिप्रेरित देखिएकाले झनै तारिफलायक लाग्छन् ।
उपयोगी सिल्ली
बोल्सेभिकहरूको आक्रामकताबाट रोमाञ्चित पश्मिमा बुद्धिजीवीहरूका लागि लेनिनले उपयोगी सिल्ली (युस्फुल इडिअट) शब्दावली प्रयोगमा ल्याएका थिए । त्यस अवधारणाको असर भने कहिल्यै नघट्ने किसिमको छ । स्तालिनले पश्चिमा सिल्लीहरूको परिचालन लेनिनभन्दा पनि प्रभावकारीतवरले गर े। माओको आभामण्डलभित्र अद्यापि केही ’रोलेक्स रिभल्युसनरिज’ दुनियाँभर नै बाँकी छन् । दार्शनिक मिसेल फुको जस्ता विद्वान्समेत कुनै बेला आयातोल्लाह खुमैनी एवं उनको इस्लामिक ऊग्रसत्ताको बचाउमा उत्रिएका थिए ।
उपयोगी सिल्ली परिचालन अवधारणामा स्वप्नद्रष्टाले विहंगम उद्देश्यको प्रमुखता देखाइदिए पुग्छ । त्यसपछि जिज्ञासु विदेशी एवं उत्सुक स्वदेशी समर्थक स्वचालितरूपमा काम गर्न थाल्छन ्। लेनिन र स्तालिनले साम्यवादको सपना बेचेका थिए। हिटलरको चर्को अह्वान जातीय उच्चता पुनर्स्थापनाको थियो। माओले सर्वहाराको नाउँ बेचेर आफ्नो नियन्त्रणको साम्राज्य खडा गरे। भारतमा मोदीले तीव्र विकासको साइनबोर्ड झुण्ड्याएर हिन्दुत्व उन्मादको पसल चलाउँदैछन । अध्यक्ष ओलीले पनि नयाँ केही गरेनन् । सर्वश्री तुलसी गिरी, कीर्तिनीधि बिष्ट एवं मरीचमानसिंह श्रेष्ठ जस्ता आफ्ना आदर्श पुरूषहरूको सिको गर्दै बृहत्तर नेपाली समाजमा सदैव सुषुप्त रहँदै आएको भारत विरोध एवं मधेसी द्वेषलाई पुनर्जागृत गरिदिए । त्यसपछि बुद्धिजीवीहरू उनका पछाडि प्रचारतन्त्रका सामान्य सिद्धान्तअनुसार स्वस्फूर्तरूपमा परिचालित भए ।
राजनीतिक प्रचारतन्त्रमा समसोच (ग्रुपथिंक) निर्माणलाई सफलताको मापकका रूपमा हेर्ने गरिन्छ । त्यसपछि सामान्यजनमात्र नभएर सचेत समुदायसमेत स्वतन्त्र परख गर्ने क्षमता परित्याग गर्न पुग्छन् । रणनीतिक अज्ञानता (स्ट्रेटेजिक इग्नोरेन्स) फैलिन थाल्छ र आस्था विपरितका सूचना मिथ्या लाग्न थाल्छन्। पुष्टि पूर्वाग्रह (कन्फर्मेसन वायस) मानवीय प्रवृत्ति हो, समझ सामञ्जस्य (विलिफ कन्जोनेन्स) गर्नुपर्ने परिवेशले त्यस्तो चाहनालाई झनै सुदृढ तुल्याउँछ ।प्रधान मन्त्री पदको प्रतिस्पर्धाअगावै अध्यक्ष ओलीले आफ्नो पक्षमा समसोच उत्पादन गर्न भ्याइसकेका थिए । त्यसैले उनको आफ्नै अल्पदृष्टिले गर्दा भत्किँदै गएको राष्ट्रिय एकता जोगाउन चुनावमा हार्ने निश्चित हुँदाहुँदै पनि नैतिक साखका लागि सुशील कोइरालाले दिएको उम्मेदवारीलाई ओलीनिर्मित समसोचले अर्घेल्याइका रूपमा अर्थयायो। अरू त अरू भई नै हाले, सभापति कोइरालालाई सबभन्दा चर्को स्वरमा गाली गर्ने उनको आफ्नै नेपाली कांग्रेस दलका नेतारकार्यकर्ता हुने अवस्था समझ सामञ्जस्यको व्यापकताले गर्दा उत्पन्न भएको थियो । दमनको अपयश शक्ति बस्नेत, तिरस्कृत कार्यसूचीको दोष चित्रबहादुर केसी, घटिया आरोपरप्रत्यारोपको जिम्मेवारी सिपी मैनाली, प्रतिगमनको पाप कमल थापा, दम्भको निन्दा भीम रावल, भ्रष्टाचारको कलंक विजय गच्छदार एवं अक्षमताको आक्षेप सत्ता साझेदार दलका नेता पुष्पकमल दाहालले बोक्ने भएपछि त्यस्ता सबै अपकर्मका मुख्य हर्ताकर्ता ओली ’राजनेता’ जस्ता देखिने नै भए । भनिन्छ, धेरै संयोग एकसाथ देखार्पयो भने योजनाबद्ध तयारीको शंका स्वाभाविक हुन्छ । त्यस्ता सबै यथार्थबाट बेखबर विचार पत्रकारिता गर्नेहरू भने ओलीको पक्षपोषणमा दत्तचित्त भएर लागिरहे, अझै लागिरहेका छन् ।
बुद्धिजीवी जमातबाट ओलीले पाएको स्तरको र त्यति धेरै व्यापक वफादारी महान् राष्ट्रवादी कहलिएका राजा महेन्द्रले समेत पाउन सकेका थिएन । कम्तीमा कोठाभित्र र वनभोजमा राजा महेन्द्रको दमन नीतिका विरूद्ध केही बौद्धिकहरू बरोबर मुख खोल्ने गर्थे । ओलीको ’ओलीगार्की’ चलेका बेला अपवादबाहेक बुद्धिजीवीहरूको कलम र बोली सत्ताको गुणगानमा मात्र चल्न सुरू भएको थियो । र, यस किसिमको आमराय निर्माणमा शायद डर वा लोभको कुनै भूमिका थिएन । फगत समझ सामञ्जस्यको दबाबले गर्दा विचार निर्माताहरूले स्थायी प्रतिपक्षको आफ्नो जिम्मेवारी परित्याग गरेका थिए । सत्तालाई ऐना देखाउनुको साटो ओलीको आरती गर्नु तिनको प्राथमिक कर्म बन्न पुगेको थियो ।
सामान्य अवस्थामा विचार निर्माणको पत्रकारिता गर्नेले आलोचना एवं विकल्प विमर्शमार्फत आमरायलाई समृद्ध तुल्याउने गर्छन् । संकटको घडीमा चेतावनी दिनु पनि विचार पत्रकारिताको जिम्मेवारीभित्रै पर्छ । तर सत्ताको अन्धो समर्थन खुला समाजमा युद्धकालका बेलासमेत ग्राह्य मानिँदैंन । प्रचार व्यवस्थापनको ओलीको यो कीर्तिमान अनुकरणयोग्य नभए पनि निसंदेह गहन अध्ययनयोग्य छ । अभिव्यक्ति स्वतन्त्रताको परिचालन र दक्ष प्रयोगद्वारा सम्भाव्य अधिशासकहरूले प्रियतावादलाई स्वीकार्य बनाइदिन सक्छन् । भ्रमलाई यथार्थ देखाइदिन सक्छन् । उपयोगी सिल्लीहरू पढेलेखेकाहरूको जमातमा झन् बढ़ी हुन्छन् भन्ने कुरा अमेरिकामा डोनाल्ड ट्रम्पका प्रचारकर्ताले पनि देखाई नै रहेका छन् । अध्यक्ष ओली स्वयं भने राजनीतिक इतिहास हुने क्रममा छन् । संसदीय दलको नेताका साथै उनको पार्टी प्रमुखता पनि सुस्तरी शंकाको घेराभित्र पर्न थालेको देखिँदैछ । उनले प्रयोग गरेको ’ओलिओलोजी’ रणनीतिको आकर्षण भने देशरविदेशका उपयोगी सिल्लीहरू माझ घट्नुको साटो बढ़्दै जान सक्छ ।
उन्मादी पंक्ति
झण्डैझण्डै लेनिनकैं कालखण्डतिरका अमेरिकी राष्ट्रपति रूजबेल्टले राजनीतिक आन्दोलनको मतान्ध समूहका लागि उन्मादी पंक्ति (लुनाटिक फ्रिन्ज) अभिव्यक्ति प्रचलनमा ल्याएका थिए। परम्पराहरू सबै त्याज्य नै हुन्छन् भन्ने छैन। परिवार भन्ने संस्थालाई कायम राख्ने हो भने विवाहको आवश्यकता एवं अगम्यागमन (इन्सेस्ट) निषेधको महत्व रहिरहन्छ। समाजमा अत्याधिक असमानता व्याप्त रहेसम्म एकातिर धार्मिक अन्धविश्वास र अर्को्तिर राजनीतिक अतिवादको आकर्षण कम गर्न सकिने छैन। त्यस्तै अग्रगामी भनिने सबै कदम मानवीय नै हुन्छन् भन्ने पनि छैन। सती प्रथाको उन्मूलन उचित, आवश्यक र अनिवार्य थियो। परिस्थितिको बाध्यताले गर्दा यौनदासताका लागि विदेशिने अवस्थालाई मानव सूचकांकको कुनै पनि उपलब्धिले जायज ठहराउन सकिँदैन। निरन्तर सन्तुलनको खोज सबै बौद्धिक कर्मको मूलभूत अभीष्ट हुने भएकाले नै आलोचनात्मक मनोभावलाई असल पत्रकारिताको आधारभूत अवयव मानिएको हुनुपर्छ। कसैले कतै दबाउन खोजेको कुरामात्र समाचार हो, बाँकी सबै विज्ञापन हुन भन्ने उक्तिले प्रचारसामग्रीको महत्वलाई होच्याउदैन। शायद भन्न खोजिएको कुरा केमात्र हो भने सत्ताको तावेदारी नभएर निरन्तर खबरदारी पत्रकारिताको स्वेच्छिक जिम्मेवारी हो।
रूढीवादको उन्मादले भने निरन्तर खबरदारीको जिम्मेवारीबोधलाई ओझेलमा पार्ने रहेछ। त्यसैले पनि होला, प्रायशः सबैजसो एकाधिपति एवं तानाशाहहरूले परम्पराको नाममा सत्ता हत्याउँछन् र प्रगतिको सपना बाँड़ेर शासन गर्ने गर्छन्। ओलीका दुवै कार्यनीतिलाई मूलधारका मिडिया सँगसँगै समाजिक भनिने निर्वैयक्तिक सञ्जालका अभियन्ताहरूले विनाप्रश्न अंगीकार गरे। जोखिममा परेको परम्परालाई जोगाउनु थियो। हिमालमुनि सुरूङ खन्ने सपना बढाउनु थियो। फलतः संवाददाताहरूको अन्तर्नि्हित संशयात्मकता स्थगनमा गयो। र, प्रायशः सबैजसो पत्रकार ओलीको प्रचारतन्त्रका लागि विनाबर्दीका सिपाही भए। इतिहासमा सत्तासँग पत्रकारिता एकाकार भएका परिघटना सधैँ अध्ययनयोग्य हुन्छन्।
विविधता नेपालको अवस्था हो, त्यसलाई सही ढ़ंगले व्यवस्थापन गर्नका लागि संघीयता एवं समानुपातिक समावेशिता जस्ता राजनीति विज्ञानका अत्याधुनिक अवधारणा स्वीकार गरिएका हुन्। नेपालको हावा, पानी र माटो सुहाँउदो राजनीतिक व्यवस्था त पञ्चायत हो भन्ने कुरा राजाद्वारा नै दावी गरिएको थियो। तीन दशकसम्म त्यही यथार्थ कायम पनि रहेकै हो। कोइराला–ओली संविधान स्नातक तहको विद्यार्थीले व्यावहारिक ज्ञान परीक्षाका लागि लेख्ने प्रबन्ध जस्तोमात्र रहेछ भन्ने कुरा दिनानुदिन उदांगिदैछ। संसदीय व्यवस्थामा सरकार बदल्नसमेत बाधा अड्काउ फुकाउने धाराको सहारा लिनुपर्ने आवश्यकताले मूल कानुनको अपरिपक्वता देखाउँछ। तर ओलीले स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको नारा लगाए। र, उनका पछाडि पत्रकारिताका नामुद हस्तीहरू कर्तव्यनिष्ठापूर्वक लामबद्ध भए। बाँकी त जे भयो, सबैका सामु छ।
बेलायती पत्रकारहरूका बारेमा एउटा विदग्धोक्ति (एपग्रैम) प्रख्यात छ– ’आश नगर, रिश्वत दिन वा विकृत तुल्याउन्। धन्यभाग बेलायती पत्रकार। तर घूस नलिई उसले जे गर्न सक्छ त्यो हेरी प्रलोभनको दरकार नै छैन।’ परम्परा जो जोगाउनु छ! ओली पतनोन्मुख भए पनि अझैं सत्तामै छन्। प्रमुख प्रतिपक्ष राजकीय संस्थापनकै अंग हो। सत्ताले पत्रकारको जयरजयकार गर्न थालेपछि समाज भने सतर्क भइहाल्नुपर्छ।
नागरिक दैनिकमा सिकेलालको विचार
Ck Lal