तीन महिनाको घरभाडा बुझाउँन जाँदा थाहा भयो, हिसिला–बाबुराम भूमिगत भइसकेका रहेछन् (भिडियो सहित)
साउन २८ । ०५१ सालदेखि ०५२ साल माघसम्म गोरखाका रमेश श्रेष्ठ बाबुराम भट्टराईको कोटेश्वरस्थित घरमा भाडामा बसे । उनले मासिक १ हजार भाडा तिर्थे । त्यो अवधीमा उनले तीन पटक घरबेटी भट्टराईसँग भलाकुसारी गरे । घरबेटी भट्टराई र डेरावाल श्रेष्ठको गोरखाली नाता छँंदै थियो, त्यसमाथि राजनीतिक विचारमा पनि समानता थियो ।
२०४० सालमा कक्षा ५ मा पढ्दै गर्दा रमेश विद्यार्थी संगठनमा आबद्ध भइसकेका थिए । काठमाडौं आएपछि ल क्याम्पसमा पढ्दै गर्दा उनको राजनीतिक सक्रियता बढ्दै गयो । बीचमा उनले २ बर्ष होटल व्यवसाय गरे । घरबेटी आफैं नेता थिए । उनको आकर्षण राजनीतिमा बढ्ने नै भयो ।
माओवादीले युद्ध थाल्ने गाईंगुईं चल्न थाल्यो । त्यतीबेलाको समय सम्झिदै भन्छन् ‘मलाई राजनीतिको ह्याङ थियो । त्यहीं बेला कुमार पौडेलले (हाल नयाँ शक्तिका नेता) आएर राजनीतिलाई निरन्तरता दिन कचकच गर्न थाले ।’ मृतप्राय भएका राजनीतिक सपना फेरि व्युंझिन थाले । जनमोर्चाको सचिब भएर कोटेश्वरमा काम गर्न थाले ।
परिवर्तनको लहर चलेको थियो । रमेशले सांस्कृतिक क्षेत्रमा काम गर्न थाले । सांस्कृतिक जागरणका लागि भन्दै थालिएको ‘भल्का अभियान’ मा उनि होलटाइमर भए ।
२०५२ सालमा माओवादीले जनयुद्ध थाल्दै गर्दा उनी २२ बर्षका लक्काजवान युवक थिए । फुर्तीको कुनै सीमा थिएन । दुनियाँ बदल्ने सपना बोकेका रमेशमा उत्साहको बेग छुटेको थियो । माओवादीले युद्ध नथाल्दै उनी होलटाइमर प्रचारक भइसकेका थिए । रातिराति उनि पोस्टर टास्नै व्यस्त रहन्थे । बिहान आफूले टाँसेका पोस्टर हेर्न जान्थे । मान्छेहरुले पोस्टरमा ध्यान दिएमात्रै उनि आफूलाई सफल ठान्थे । धेरैले भन्थे, ‘भन्ने हुन्, गर्ने त त्यस्तै । कोही त छैन यो पार्टीमा ।’ जनयुद्धको पूर्वसन्ध्या अर्थात माघ मसान्तसम्म मानिसहरुका नजरमा जनमोर्चा निम्छरो पार्टी थियो । संसदमा ९ सिट जितेको भए पनि जनमोर्चाले युद्ध गर्ला भन्ने कमैले सोचेका थिए । मानिसहरुले पार्टीको क्षमतामाथि प्रश्न उठाउंँदा उनी प्रतिकार गर्दैनथे । पोस्टर टाँस्ने केटो यही होला भन्ने कसैले भेउ पनि पाउंँदैनथे । मानिसहरुले तिखो टिप्पणी सुन्दा उनको मनमा ज्वाराभाटा चल्थ्यो । मनमनै भन्थे, ‘हामी छौं, हामी गर्छौं ।’
रमेशले तीन महिनाको भाडा हिसिलालाई बुझाउन बाँकी नै थियो । हिसिला बाबुराम दुबै गायब भइसकेका थिए । नभन्दै युद्ध शुरु भयो । उनी आफैं पनि भुमिगत भए । हिसिलाको ३ हजार उनले पचाइदिए । ‘अहिले भेट हुंदा मागेकि छैनन् । भुलिन कि ? मैले त सम्झिराखेको छु ।’ जोडले हास्दै रमेश विगत उर्घाछन् ।
पश्चिम नेपालमा मुख्यतः केन्द्रीत रहेको माओवादी युद्धले एकाध बर्षमै देशव्यापी आकार ग्रहण गर्दै गयो । अन्यत्र आक्रमण गर्ने र काठमाडौंलाई कमजोर बनाउने माओवादी नीति थियो । युद्धको प्रभाव बढ्दै गए पनि काठमाडौं केन्द्रीत राज्यसत्ता खाशै केही नभए जस्तो व्यवहार प्रस्तुत गरिरहेको थियो ।
काठमाडौंमा छिस्स घटना भए अन्तर्राष्ट्रिय जगतको ध्यान आकृष्ट हुन्थ्यो । माओवादीले काठमाडौंमै केही न केही गर्ने नीतिलाई जोड दिइरहेको थियो । सरकारले अन्यत्र जे भएपनि काठमाडौंलाई सुरक्षित राख्ने रणनीति लिइरहेको थियो । काठमाडौं माओवादीका लागि सबैभन्दा जोखिमयुक्त ठाऊँ थियो । कमै माओवादीले काठमाडौंलाई कार्यक्षेत्र बनाउंन चाहन्थे । यस्तो अवस्थामा रामबहादुर थापा बादलसहितको एउटा टिम काठमाडौंमा खटिएको थियो । जसको एउटा खम्बा थिएः रमेश श्रेष्ठ ।
[embed]https://youtu.be/56WkN37EvaI[/embed]रमेशले हात गुमाउंदा
काठमाडौंमा आक्रमण गर्ने योजनासँगै रमेश सैन्य अभ्यासका लागि नवलपरासीतर्फ लागे । ५७ दिनसम्म आक्रमण र सुरक्षाका बारे उनले भूमिगत तालिम लिए । त्यहीं उनले प्रहरी चौकी आक्रमणको अभ्यास पनि गरे । माओवादीले दवादी पुलिस चौकी आक्रमण गर्दा एक इनिस्पेक्टर मारिए । माओवादीतर्फ कुनै क्षति भएन । रमेशको आत्मविश्वास झनै बढ्यो ।
२०५७ सालको पुस महिना । काठमाडौं जाँडोले कठ्याङ्गिन थालेको थियो । भारतीय चत्रचित्रका नायक ऋतिक रोशनका प्रशंसक युवाहरुलाई झट्का लाग्ने खबर सनसनी मच्चियो । ऋतिकले ‘नेपाल र नेपाली मन पर्दैन’ भनि अन्तरवार्ता दिएको भन्दै चितवनमा बिहानी धुम मच्चाइयो । त्यसको असर काठमाडौंमा देखियो । बिहानै कलेज हिडेका विद्यार्थी जुलुश निकाल्न र पुत्ला जलाउन कस्सिए ।
राष्ट्रियताको आगो नराम्रोसँग सल्किएको थियो । माओवादी नेता रामबहादुर थापा काठमाडौंको आकाशमा मडारिएको राजनीतिको कालो बादललाई नजिकबाट नियालिरहेका थिए । काठमाडौं अनाहकमै गल्ने गरी ऋतिक प्रकरण बल्झिएको थियो । यही मौकामा सुरक्षाकर्मीमाथि तारो हान्दा उपयुक्त हँुंने मुडमा थिए थापा ।
भ्याली इनचार्ज थापाले भ्याली कमाण्डर रमेश श्रेष्ठलाई कुनै एक निशाना साँध्न निर्देशन दिए । श्रेष्ठ टोली लिएर सुन्धारातर्फ हानिए । जाडोको मौसम, ६ बज्दानबज्दै काठमाडौंलाई अध्याँरोले घुम्टो हालिसकेको थियो ।
सुन्धरामा रहेका प्रहरीतर्फ रमेशले ग्रिनेट ताके । दाँया हात उठाएकामात्र के थिए, थ्रिनेट हातमै पड्कियो । उनको हात हल न चल भयो । युद्धको बेला सुरक्षा सर्तकता बढी नै थियो । त्यसमाथि ग्रिनेट पड्किएपछि सुन्धरा क्षेत्रलाई टाइट गरियो । घेराबन्दी गरेर खोजपडताल शुरु भयो ।
रमेशको हात रगताम्मे भइसकेको थियो । तर, पीडामा छट्पटिएर बस्ने अवस्था थिएन । उनीसँगै रहेका विष्णु कार्कीले त्रिपुरेश्वर पुर्याए । एक क्लिनिकमा प्रारम्भिक उपचार गरेपछि उनलाई लिन दिनेश श्रेष्ठ आइपुगे । त्यसपछि बि एण्ड बि अस्पताल लगियो । प्रहरीको आँखा झल्दै सहयोद्धा साथीहरुले ज्यानको बाजी थापेर अस्पताल पुर्याएका थिए ।
उनी बि एण्ड बिमा उपचार गराइरहेको प्रहरीले सुँइको पायो । प्रहरीले निगरानी थाल्यो । संकटकाल लागि नसकेकाले उनको उपचारमा दख्खल पुगेन । उनको दाहिने हात काटियो । डिस्चार्ज हुंने दिन अस्पतालमा प्रहरीको संख्या बढाइयो । उनी भने सुटुक्कै भागिसकेका थिए ।
पार्टीकै सल्लाहमा उनले भूमिगतरुपमा ८ महिना आराम गरे । आराम गरेर उठ्दा राजा वीरेन्द्रको वंशनाश भइसकेको थियो । माओवादी र सरकारका बीचमा पहिलो पटक औपचारिक वार्ता शुरु भएको थियो । वार्ता शुरु भएसँगै उनी भ्यालीको विद्यार्थी जिल्ला कमिटी संयोजक भएर काम गर्न थाले ।
माओवादीले विभिन्न ठाऊंमा रहेका सैनिक ब्यारेकमा आक्रमण गर्दै वार्ता भंग ग¥यो । सेना र माओवादी आमनेसामने भए । संकटकाल घोषणासँगै माओवादीमाथिको धरपकड बढ्यो ।
भ्यालीमा कमाण्डरका रुपमा खटिएका रमेशको खोजी तिब्र भयो । रमेशका साथीहरु थुप्रै पक्राउ परिसकेका थिए । उनीपनि पक्राउ परे । उनी ६१ साल माघ २१ गते भोटाहिटीबाट पक्राउ परेका उनलाई ३८ दिनसम्म हनुमान ढोकामा राखियो । केरकार शाखा भनिथ्यो त्यति बेला । केरकारको सीमै भएन । उनलाई २०६१ मा चैतको मसान्तमा नख्खु जेल चलान ग¥यो । त्यसपछि मात्र उनले परिवारहरुसंग भेट गर्न पाए । २०६३ को जनआन्दोलन सकिएपछि उनी लगायत ६० जना साथीहरु जेलमुक्त भए । उनिमाथि गद्धारी गरेको आरोप लाग्यो । सूचना चुहाएको बात लागिसकेको थियो ।
रमेशले सोचेजस्तो राजनीति भएन । राजनीतिले सोचेजस्तो उनी हुन सकेनन् । सम्बन्ध विच्छेदबाहेक अर्को बिकल्प रहेन । उनी स्वतन्त्र माओवादीका रुपमा रहे । रमेशले द्वन्द्वपीडित सरोकार समाज नामक संस्थाको गठन गरे । वास्तवमै शान्ति ल्याउने हो भने द्वन्द्वमा आमनेसामने भएकाहरुले सहकार्य गर्न सक्ने वातावरण तयार हुनुपर्ने भन्दै संस्थामा सबै पक्षका पीडितलाई संगठित गरे ।
हात नहुंदाको पीडा
सेना–प्रहरीले उनको खोजी नै डुंडे माओवादीका रुपमा गरेको थियो । उनि अरुको आँखा छल्नलाई लामो बाहुला भएको कोट लगाउंथे । झट्ट हात नदेखियोस् भन्नेमा उनि सचेत थिए । साथीहरु प्रायः हात मिलाउन दायाँ हात तिर हात लग्छन् । उनि बायाँ हात अघि सार्छन । कार्यक्रममा उनको हात बलिदानीको निशानीका रुपमा देखिन्छ जब उनि ठुटो हातले सलाम गर्छन ।
उनको हात देखेर केटाकेटी तर्सिने गर्दछ । पाँच औंलासहितको हत्केला देखेका ससाना केटाकेटी हत्केला नभएको उनको हात देख्दा हेरेको हेरै गर्छन । कोही आमालाई च्याप्प समात्छन् । कोही रुन थाल्छन् ।
हजारौंले ज्यान गुमाएको युद्धमा उनि आफ्नो हातमात्रै त गुमेको हो भनेर चित्त बुझाउछन् । हिरासतमा दिइएको यातनाले बल्झाइरहेको पीडा बाहिर देखिदैन । हातभन्दा भित्री पीडा भित्र लुकेको छ ।
उनी महशुर छन् । एकै हातले गाडी चलाएर हिडिदिन्छन् । कहिलेकाहीं ट्राफिकको चेकजांचमा पर्दछन् । ट्राफिकको कडा स्वर पनि उनको हात देखेपछि एक्कासी नरम हुन्छ । फरासिला रमेश गफै दिएर अघि बढ्छन ।
१० बर्षपछि पार्टी फर्के
आफ्नो उर्जाशिल उमेर पार्टीमा बिताएकोमा उनलाई पश्चाताप छैन, न त हात गुमाएको मा नै पश्चाताप छ । तर, उनलाई पार्टीले हार मानेर सम्झौता गरेकोमा पश्चाताप छ । उनी भन्छन ‘ संसारको कुनै पनि देशमा कम्युनिष्ट आन्दोलन सम्झौतामा गएर सकिएको छैन । कि त बिद्रोहीले हार्छ, कि त सत्ता पक्षले हार्छ । ’
जनताको लागि लडेको पार्टी अहिले गाउँगाउँमा पुग्न नसकेकोले जनताहरु आक्रोसित भएको उनको कथन छ । उनि भन्छन ‘ माओबादी टुक्रिनु र हार्नुमा प्रमुख कारण नै यही हो । प्रचण्डलाई कुरा लाउनेहरुले बिगारेका छन । नत्र माओबादीको यस्तो दुर्गति हुँदैन थियो । ’
उनका अनुसार जनयुद्ध लडेका धेरै लडाकुहरु माओबादीसँंग आक्रोसित छन । पार्टीमा गुटबन्दी र चाप्लुसीले स्थान पाउदा युद्ध लडेकाहरुमा बितृष्णा जागेको छ । उनी भन्छन ‘पार्टीले हजारौ योद्धाहरुको सपनालाई भर्याङ बनाएर यो ठाउँमा आइपुगेको छ । धेरैलाई सपना देखाएर सपनाको खिल्ली उडाएको छ ।’ प्रचण्ड प्रधानमन्त्री बनेको सन्दर्भलाई संकेत गर्दै रमेश थप्छन ‘हामीले कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउन मात्र युद्ध लडेका थिएनौं । साथीहरुले नेताहरुको जीवनस्तर उकास्न बलिदान दिएका थिएनन । हामीले गरिब जनताको जीवन बदल्ने कसम खाएका थियौं, उनीहरुलाई देश बनाउने सपना देखाएको थियौं । तर, त्यो हामीले केही गर्न सकेनौं ।’
विप्लवले बन्दुक उठाउने कुराले उनलाई दुःखी बनाएको छ । एक पटक उठेको बन्दुकले देश तहशनहश भयो, कैयौंको ज्यान गयो, आफूजस्तै हजारौं घाइते भएको प्रसंग झिक्दै उनले युद्धको वास्तविक समीक्षा हुन नसकेको रमेशको भनाइ छ । हिजो ज्यान दिएको पार्टीसँग उनि असन्तुष्ट छन् तर अर्को विकल्प देख्दैनन् । खराब हुँदाहुँदै पनि माओवादीको विकल्प नभएको उनको दाबी छ । ‘अरु झन् खराब छन् क्यार्नी ?’ ठुटो हात तेर्साउदै उनि प्रश्न गर्छन ।
पहिलेका घरबेटी तथा युद्धकालीन नेता डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति भन्दै गर्दा उनलाई अनौठो लाग्छ । ‘माओवादी पार्टीबाट अलग हुन सकिन्छ तर माओवादबाट कसरी अलग हुन सकिन्छ ?’ उनी प्रश्न गर्छन,‘हात हाम्रो गुमेको छ । शरीर हाम्रो मक्किएको छ । शहीद अरुका छोराछोरी भएका छन् । बाबुराम सरको के भएको छ र ? यसो भन्दैमा हिजोप्रति उदासिन हुन पाइदैन ।’
०७३ साल जेठमा ५ तर्फ फर्केका माओवादीको एकीकरण हुंदै गर्दा उनि पार्टीमा फर्के । अहिले उनी झण्डै २५०० सदस्य मध्यको एक केन्द्रीय सदस्य हुन् । हिजो युद्धको राप र तापमा काठमाडौंमा माओवादीको बिऊ भेट्न मुस्किल थियो । अहिले गल्लीगल्लीमा केन्द्रीय सदस्य भेटिन्छन् । यो प्रगति हो कि दुर्गती ? उनि आफैंमा असमञ्जमा छन् ।
प्रस्तुतिः सागर बुढाथोकी
र योपनि,
hisila baburam bhumigat ramesh shrestha lost his hand while janayuddha teen mainako ghar bhada