भूकम्पपीडितको नाममा मस्ती, एक फ्ल्याटलाई मासिक १ लाख ५० हजार तिरेर पैसा उडाउँछन्
साउन २९ । भूकम्पपछि राहत तथा उद्धारको बहानामा गोरखा आएको क्याथोलिक रिलिफ सर्भिस सिआरएस नामको आइएनजीओले होटल, हलभाडा, र सवारीसाधनमा अत्यधिक रकम खर्च गर्ने गरेको छ । सिआरएसले कर्मचारी तलबमा धेरै बजेट सक्ने गरेको छ । यसले होटल, हल र गाडीमा पनि उल्लेख्य परिमाणमा बजेट सक्ने गरेको छ ।
जिल्लामा आएका १० ठूला आइएनजिओमध्ये सिआरएस विलासितामा सबैभन्दा धेरै बजेट खर्च गर्ने आइएनजिओका रुपमा परिचित छ । उक्त संस्थाले गोरखा उद्योग वाणिज्य संघलाई चलनचल्तीको भन्दा तेब्बरभन्दा बढी भाडा दिएर संघको सचिवालमा कार्यालय सञ्चालन गरेको छ । ‘प्रतिष्ठित उद्योगी, व्यापारीको मन जित्न संघमा लगानी गरेको हो, –एक स्थानीयले भने, ‘ठूला व्यापारी, ठूला नेता, ठूला कर्मचारीलाई खुसी बनाएर चैन गर्ने यस्ता संस्थाको पोलिसी हुन्छ ।’
सिआरएसले संघको सचिवालयलाई मासिक १ लाख ५० हजार रुपैयाँ भाडा तिरेको संघका अध्यक्ष श्रवण जोशी बताउँछन् । सचिवालयमा चार कोठा र एक हल छ । अर्को एक होटललाई मासिक १ लाख तिरेर भाडामा लिएको छ । अन्नपूर्ण पोस्टबाट