यस वर्षको ओजस्वी पुरस्कार विमानचालकलाई
साउन २९ । न्यौपाने बन्धु समाजले विमानचालक स्व दिनेश न्यौपानेलाई नारायण–ईश्वरी न्यौपाने समाजसेवा ओजस्वी पुरस्कार प्रदान गरेको छ ।
आफ्नो जीवन उत्सर्ग गरेर पनि जहाजमा सवार यात्रुलाई बचाउने वीरता, चिरस्मरणीय र गौरवशाली कार्य गरेबापत कदरस्वरुप उनलाई समाजले शनिबार आयोजित समारोहमा उक्त सम्मान पुरस्कार प्रदान गरेको हो ।
पुरस्कारको राशि रु ११ हजार १११ नगद र सम्मानपत्र रहेको छ । समारोहमा नेपाली सेनाका पूर्व रथी बालानन्द शर्माले चालक न्यौपानेका पिता मानदत्त, आमा वीरलक्ष्मी र पत्नी रजनीलाई संयुक्तरुपमा उक्त पुरस्कार हस्तान्तरण गरे ।
गत फागुन १४ गते नेपालगञ्ज–जुम्ला उडानमा रहेको काष्ठमण्डप एयरलायन्सको विमानमा अचानक खराबी आएपछि कालिकोटको चित्खायामा आपत्कालीन अवतरण गराउने क्रममा चालक न्यौपानेको निधन भएको थियो ।
समारोहमा मुलुकभरका न्यौपानेका छोराछोरीमध्ये २०७२ सालमा सञ्चालन भएको उच्च माध्यामिक विद्यालयको वार्षिक अन्तिम परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याउने छात्र आभाष न्यौपाने र छात्रा रोशनी न्यौपानेलाई जनही रु ११ हजार १११ नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरियो । रासस
air kasthamandap
dinesh neupane